- जब केपी ओली संकटमा परेका छन्, धेरैजसो पुराना समर्थकहरुले उनलाई छोडेका छन् र नयाँ प्रतिस्पर्धीहरू उभिएका छन्।
- पार्टीको ११औं महाधिवेशनले ओलीको नेतृत्वलाई चुनौती दिनेछ, किनकि कई नेताहरू ओलीविरुद्ध समूहमा उत्रिन थालेका छन्।
- राजनीतिक विश्लेषकहरूले ओलीलाई व्यक्तिवाद तिर लागेका पाएका छन्, जसकारण उनको पार्टीमा अब स्थिरता गाह्रो हुने देखिन्छ।
काठमाडौँ- ‘केपी ओली इज द केपी ओली। फुटबलको पेलेजस्तै हो’, कृष्णगोपाल श्रेष्ठले १७ फागुन २०७७ मा शिक्षामन्त्रीका रुपमा भनेको भनाइ हो यो।
जतिबेला केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा सत्ता संकट बेहोरिरहेका थिए। पार्टी (नेकपा)भित्र नेतृत्वको लडाइलाई लिएर ५ पुस ०७७ मा उनले पहिलोपटक संसद विघटन गरे।
तर सर्वोच्च अदालतले दुई महिनापछि ११ फागुनमा विघटनलाई बदर गर्दै संसद बैठक बोलाउन परमादेश दियो। अदालतको परमादेशपछि नेकपाभित्रबाट प्रचण्ड-माधव समूहले राजीनामा माग गरिरहेका थिए।
त्यही विषयलाई लिएर श्रेष्ठले ओलीको बचाउमा भनेका थिए- ‘केपी ओली इज द केपी ओली। फुटबलको पेलेजस्तै हो। जसरी बुझ्न मन लाग्छ, बुझ्नूस्। यथार्थ सत्य यही हो। के राजीनामा दे भन्दैमा खुरुक्क राजीनामा दिन्छ? राजीनामा दे भन्नेहरूले बनाएको प्राइममिनिस्टर (प्रधानमन्त्री) हो?’
सत्ता संकट बेहोरिएको समयमा ओलीलाई तत्कालीन एमालेकै धेरै नेताहरूले साथ नदिएको समय थियो त्यो। तर श्रेष्ठजस्तै केही नेताहरू गैरसंवैधानिक ओली निर्णयको भारी बोकेका थिए।
पाँच वर्षपछि अहिले ओली सत्ता संकट त बेहोरिसकेका छन्। अझ अस्तित्वको संकटमा छन्, उनी। सत्ताबाट च्यूत भएका उनी जेनजी विद्रोहमा भएको बल प्रयोगको छानबिनको दायरामा छन्।
तर उनलाई हिजो ‘केपी ओली इज द केपी ओली’ भन्ने श्रेष्ठहरूजस्ता आज धेरै साथमा छैनन्। जेनजी विद्रोहका कारण समयअगावै ११औँ महाधिवेशन गर्नुपर्ने बाध्यमा पुगेको एमालेमा श्रेष्ठलगायत नेताहरूले ओलीको साथ छाडेका छन्।
जेनजी विद्रोहले नयाँ पार्टी रुपान्तरणको माग गरिरहेको समयमा ओली फेरि विधाननै संशोधन गरेर भए पनि तेस्रो कार्यकालय आफू नै अध्यक्ष बन्ने अडानमा रहेपछि धेरै नेताहरूले विद्रोह गरेका छन्।

ओलीसँग अध्यक्षमा नै प्रतिष्पर्धी बनेका ईश्वर पोखरेल लामो समयदेखि ओली समूहकै रुपमा चिनिँदै आए। उनी ओलीले संसद विघटन गर्दा पनि ओलीलाई काँध हाली हिँडेका नेता हुन्।
तर आज ११औँ महाधिवेशनमा ओलीसँग नै उनी प्रतिष्पर्धीका रुपमा उभिएका छन्। संस्थापनबाट उनी संस्थापनइतर समूहको नेतृत्वमा पुगेका छन्।
एमालेमा ईश्वर र ओली समूह हुँदा पनि ओलीपक्षका रुपमा चिनिएका नेताहरूले महाधिवेशनमा ओलीको साथ छाड्नुपर्ने बाध्यतामा पुगेका छन्। ओलीलाई फुटबलर पेलेसँग दाज्ने श्रेष्ठलेनै ओली समूह छाडेर पोखेरेल समूहबाट सचिवमा उम्मेदवारी दिएका छन्।
आफूलाई मन परे जे पनि गर्ने र मन नपर्दा योग्य र सक्षम कार्यकर्तालाई लतार्ने, घिसार्ने प्रवृत्ति ओलीमा रहेको भन्दै त्यस प्रवृत्तिकाविरुद्धमा आफू उभिएको सार्वजनिकरुपमै बताएका छन्।
श्रेष्ठजस्तै ११औँ महाधिवशेनमा ओली साथ छाड्नेमा अग्नी खरेल छन्। उनले पोखरेल समूहबाट सचिव पदमा उम्मेदवारी दिएका छन्। खरेल ओली प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता थिए।
यस्तै आनन्द पोखरेलले ओली समूह छाडेर पोखरेल समूहबाट उपमहासचिवमा उम्मेदवारी दिएका छन्। बैजानाथ चौधरीले पनि ओली समूह छाडेर पोखरेल समूहबाट उपमहासचिवमै उम्मेदवारी दिएका छन्।
ओली समूहबाट उम्मेदवार बन्न नपाएपछि बिद्रोह गर्दै रघुजी पन्तले स्वतन्त्ररुपमा उपाध्यक्षमा उम्मेदवारी दिएका थिए। उनी अहिले दुवै समूहको साझा उम्मेदवार भएका छन्।
ओली समूहकै रुपमा चिनिएका राजेन्द्रप्रसाद गौतमले स्वतन्त्र रुपमै उपमहासचिवमा उम्मेदवारी दिएका थिए। तर पछि उनले उम्मेदवारी फिर्ता गरे। प्रदीप ज्ञावलीले महासचिवमा उम्मेदवारी दिन नपाएपछि रुष्ट हुँदै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन्। तर ओली समूह भने छाडेका छैनन्। यद्यपि, ओलीसँग रुष्ट हुँदै उपाध्यक्षमा उम्मेदवारी नदिएर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका उनी ओली समूहमै छन्। कुनै समय गोकुल बास्कोटा ओली समूहमै थिए। उनले पछिल्लो समय ओलीको साथ छाडिसकेका थिए।
एमालेबाट माधव नेपाल बाहिरिएपछि ओलीको विरोधीका रुपमा उत्रन सक्ने हिम्मत कसैले पनि गरेका थिएनन्। तर ओली आफैले दुई वर्षे कार्यकालको अवधि र ७० वर्षे उमेरहदलाई लत्याउँदै विधाननै संशोधन गरेर फेरि नेतृत्वमा बस्ने मनसाय बनाएपछि प्यानलनै बनाए ओलीसँग भिड्ने मुडमा नेताहरू पुगेको छन्।
ओली संकट कस्तो?
जेनजी आन्दोलनपछि दुईतिहाइ नजिकको सरकारबाट एमाले अध्यक्ष ओली बहिर्गमन हुनुपर्यो। यो २०७७ र ७८ मा दुई पटक संसद विघटन गरेर संकटमा परेपछिको अर्को ठूलो संकट थियो।
त्यसमा एकैदिन १९ युवाको गोलीले ज्यान लिएपछि सरकारको नेतृत्वको रुपमा जिम्मेवारी नलिन ओली अहिले पनि अनेक चाल गर्दैछन्। जसको पार्टीभित्रबाटै विरोध हुँदै आएको छ।
जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगमासमेत बयान नदिने र धम्काइ हिड्ने नीतिमा उनी देखिन्छन्। त्यसको विरोधमा पार्टीभित्रकै उच्च तहका नेताहरू छन्। अध्यक्षका प्रत्यासी पोखरेलले ओलीले बयान दिनुपर्ने बताइसकेका छन्।
एकपछि अर्को संकटमा पर्दै गइरहेको समयमा ओलीलाई महाधिवेशनमै नेताहरूले साथ छाडेपछि उनी थप संकटतर्फ धकेलिएका छन्। महाधिवेशनले ओली पार्टीभित्रै थप संकटमा पर्ने देखिएको राजनीतिक विश्लेषक हरि रोका बताउँछन्।
‘ओली आफै व्यक्तिवादमा गएपछि स्वभाविक रुपमा कार्यकर्ताले साथ छोड्छन्। अहिले त्यही भएको देखिएको छ’, उनले भने ‘अब ओलीको पार्टीभित्र संकट सुरु हुनेछ। वा जितिहाले पनि उनलाई टिक्न गाह्रो हुनेछ।’
ओलीलाई पार्टीभित्र मात्र होइन बाहिर पनि संकट रहेको बुझाइ रोकाको छ। ओलीसँग अब देशको समस्या समाधान गर्ने कुनै कार्यक्रम नै नरहेको र उनले भन्ने कुराको अर्थ समाजिक रुपमा स्वीकार नहुने राजनीतिक विश्लेषक रोका बताउँछन्।
उनी ओली व्यक्तिवादी भएकाले अहिले पनि उनको साथमा व्यक्तिवादी सोच भएका व्यक्तिहरूले नै समर्थन गर्ने तर राजनीतिक चेत भएका व्यक्तिहरूले ओलीसँग अब अपक्षा नगर्ने बताउँछन्।
‘उनीसँग कठित कार्यकर्ता छन्। जो पद-पावरका लागि लागिपरे। ती कार्यकर्तालाई सामाजिक ज्ञान छैन। समाजप्रति उत्तरदायित्व पनि छैन’, उनले भने ‘अलिअलि पनि राजनीतिक ज्ञान भएको मान्छेले ओलीलाई पछ्याउँदैनन्।’