- राष्ट्रप्रतिको कर्तव्यको भाव, पार्टीको आन्तरिक लोकतन्त्र र राष्ट्रिय सहयोगलाई ध्यानमा राख्दै ओलीको नेतृत्वलाई पुनःनिर्माण गर्न आग्रह गरिएको छ।
- समयक्रमसँगै नेतृत्वमा अहंकार र निकटवर्तिहरूसँगको सीमितता देखिएको भन्दै, ओलीको नेतृत्वलाई बृहत् राष्ट्रिय एकता र मेलमिलापको सूत्रपात गर्न प्रोत्साहन गरिएको छ।
- पार्टीलाई पुनर्वास गर्न र राष्ट्रिय स्थायित्वलाई बढावा दिन आग्रह गरिएको छ, विद्या भण्डारीको भूमिकालाई पुनर्स्थापनाको सुझावसहित।
श्रद्धेय केपी शर्मा ओली ज्यू,
अविवादन, नमस्कार, जय नेपाल!
एमालेको महाधिवेशनको पूर्वसन्ध्यामा, राष्ट्रप्रतिको कर्तव्य सम्झँदै र तपाईंको शुभचिन्तकको नाताले, म यो विनम्र पत्र लेख्दै छु।
तपाईंको शिष्य महेश बस्नेतको ईश्वर पोखरेल लक्षित एउटा फेसबुक स्टाटस “यदि योगदान गर्न सकिन्छ भने निःशर्त एकता, यदि सकिँदैन भने सहर्ष विदाई” ले मेरो मन निकै गहिरोसम्म छुन पुग्यो।यो केवल व्यक्तिगत टिप्पणी होइन, यो वर्तमान राजनीतिक प्रवृत्तिको संकेत हो। असहमतिप्रति असहिष्णुता, भिन्न मत राख्नेहरूलाई शत्रु सम्झिने प्रवृत्ति र पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाउने प्रवृत्ति प्रस्ट देखिन्छ। यसले केवल एमालेको वर्तमान अवस्था मात्र होइन, देशको राजनीतिक संस्कृतिलाई उजागर गरेकोछ।
म न त एमालेको कार्यकर्ता हुँ, न त मतदाता। तर म इतिहास बोकेको पार्टीको महत्व बुझ्छु, त्यो पार्टी जसले जनताको संघर्ष, बलिदान र सपना समेटेको छ। लाखौं कार्यकर्ताको पसीना, देशभक्तिपूर्ण आन्दोलन, राष्ट्रिय हितका लागि लडेका वीरहरूको स्मृतिले भरिएको यो संगठन धरासायी हुनु देशका लागि हितकर होइन। मेरो दृढ विश्वास छ: एमाले बलियो रहनु देशको स्थिरता, राष्ट्रिय सुरक्षा र समन्वयका लागि आवश्यक छ।
त्यो बलियो नेतृत्वको केन्द्रबिन्दु अहिलेसम्म तपाईं हुनुहुन्छ। तपाईंको निर्णय, साहस र दृढता सधैं स्पष्ट र निर्णायक रहेको छ। मैले सार्वजनिक रूपमा तपाईंको प्रशंसा गर्दा कतिपयले मलाई एमाले प्रवेश गरेको आरोप समेत लगाए। तर सत्य यही हो, म पार्टीभन्दा माथि उठेर राष्ट्रिय हितमा अडान लिन सक्ने व्यक्तित्वलाई सम्मान गर्छु। मेरो दृष्टिमा त्यो व्यक्तित्व तपाईं हुनुहुन्छ भन्ने सोचेर मैले तपाईँको प्रशंसामा धेरै शब्द खर्चेको थिएँ।
इतिहासले तपाईंलाई दिएको अवसर:
जनताले दिएको प्रचण्ड बहुमत, देशकै सबैभन्दा ठूलो पार्टीको नेतृत्व, पटक पटक प्रधानमन्त्रीको जिम्मेवारी यी सबै अवसर इतिहासमा थोरै व्यक्तिलाई मात्र मिल्छ। यद्यपि यो प्राप्ति सहजै भएका होइनन्। १४ वर्षको जेल जीवन, यातना सबैले तपाईंको संघर्षको कथा बयान गर्दछ। यो संघर्ष पनि सामान्य व्यक्तिले गर्न सक्ने हुँदै होइन।
यो देशले तपाईंलाई नायकका रूपमा हेर्ने आधार धेरै छन्।
नाकाबन्दीको कठोर घडीमा तपाईंको दृढता, चीनसँग गरिएको ऐतिहासिक पारवहन सम्झौता, नेपालको भूमि: कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा प्रकाशन, यी सबै कामहरू स्वर्णिम अक्षरले इतिहासमा लेखिने कार्य हुन्। यो श्रेय कसैले चोर्न सक्दैन। तपाईंको नेतृत्वले कम्युनिस्टहरूलाई पहिलोपटक दुई तिहाइ बहुमत दिलायो। साधारण व्यक्तिले हासिल गर्न सक्ने सामान्य उपलब्धि पनि होइनन यी।
तपाईंको जीवन दुई पटक किड्नी प्रत्यारोपणपछि वास्तवमै पुनर्जन्म हो। तपाईंले “मेरो यो अतिरिक्त जीवन राष्ट्र र जनताको निम्ति हो” भनेर भनेको सुन्दा
मेरा आँखा रसाएका थिए। त्यो क्षणमा मैले विश्वास गरें
तपाईं व्यक्तिगत महत्वाकांक्षा भन्दा ठूलो लक्ष्य बोकेको मानिस हो। तपाईंका सन्तान छैनन्, व्यक्तिगत सम्पत्ति थुपार्ने लोभ पनि छैन। यी सबै कारणले तपाईंको प्राथमिकता देशकै हित हो भन्ने मेरो विश्वास दृढ थियो।
तर समयक्रमसँगै तपाईंमा मैले विश्वास गरेको केही गुण खिइँदै गएको अनुभूति भयो।
जहाँ गम्भीर, उदार र संयमी नेतृत्व आशा गरिन्थ्यो,
त्यहाँ अहंकार, कुण्ठा र कटुता प्रकट हुन थाल्यो।
देशभक्तिपूर्ण सम्पूर्ण जनताको ‘बा’ बन्न सक्ने तपाईं
केवल केही चाटुकारहरूको वरिपरि सीमित हुन लाग्नु भयो। मिठासयुक्त चुट्किला र व्यंग्यले जनतालाई मोहित पार्ने तपाईं असावधानीपूर्ण र क्षुद्र वचनले विभाजन बढाउने बाटोमा लाग्नुभयो। यही प्रवृत्तिले अन्ततः भदौ २३–२४ जस्ता दुःखद घटना जन्माए।
यद्यपि Zen Z विद्रोह केवल तपाईंको हठ र दम्भको कारणले मात्र सृजित परिणाम थिएन। यसका पछाडि विभिन्न परिप्रेक्ष्य, बाह्य शक्तिहरू र योजनाहरू पनि थिए।
तर त्यति हुँदा हुँदै पनि त्यो बेलामा तपाईं नै मुलुकको प्रमुख कार्यकारी हुनुहुन्थ्यो। त्यसैले अन्तिम जिम्मेवारी तपाईंमै आउँछ।
आज परिस्थिति बदलिएको छ। तपाईं अब विजेता होइन, पराजित हुनु भएकोछ। यसलाई स्वीकार्नु कमजोरी होइन; नेतृत्वको वास्तविक उदारता हो। Zen Z विद्रोह, जनधनको क्षति, असन्तोष यी सबै घटनामा तपाईंले नैतिक जिम्मेवारी लिने हिम्मत देखाउन सक्नुभयो भए तपाईंको नेतृत्व अझै विराट देखिन्थ्यो।
नेतृत्वको मूल्य शक्तिमा हुँदा मात्र होइन, शक्तिबाट बाहिरिएपछि कसरी आफूलाई प्रस्तुत गर्छ भन्नेमा निर्भर गर्छ। तर आज तपाईंले पराजयलाई सहजै स्वीकार्न नसकेको देखिन्छ। यही कारणले पार्टीभित्र समेत असहिष्णुता बढेको छ, फरक मत बोकेका साथीहरू शत्रु झैँ देखिन थालेका छन्। महेश बस्नेतको स्टाटस त्यही प्रवृत्तिको प्रत्यक्ष संकेत हो।
एमाले भित्र आन्तरिक लोकतन्त्र गर्व गर्न लायक कुरा थियो। दुई कार्यकालको सीमा, ७० वर्षको उमेर हद, यी सबै तपाईंकै एजेन्डा थिए। तर आज ती नियम तपाईंमा लागु हुन थालेपछि तपाईंले तिनको संशोधन गरेर व्यक्तिगत हितलाई प्राथमिकता दिनुभयो। यसले तपाईंको नैतिक उचाइ घटाएको छ। कम्युनिस्ट भएर पनि लोकतन्त्रको पक्षमा उभिएको तपाईं आज निरंकुशताको उदाहरण झैँ देखिनु विडम्बनापूर्ण छ।
विद्या भण्डारीको दुई कार्यकालको राष्ट्रपतिपछि पार्टी राजनीतिमा प्रवेश उचित थिएन। त्यो प्रवेश तपाईं कै सहमतिमा भएको आम बुझाइ छ। तर जव तपाईंले महसुस गर्नुभयो कि विद्याको कारणले आफ्नो सत्ता–सन्तुलनमा असर पार्नेछ, तपाईंले रोक्नुभयो। यसले न त विद्या भण्डारीको गरिमा जोगायो, न पार्टी भित्र सन्तुलन कायम रह्यो। उल्टै विग्रह गहिरिँदै गयो। यो जिम्मेवारी तपाईंको हो। नेतृत्व तपाईंको हो।
अहिले तपाईंबाट देशलाई उदारता, साहस र ठूलो कदम चाहिएकोछ। आज नेपाल राजनीतिक र कूटनीतिक द्वन्द्वको भुमरीमा छ। नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रयोगशाला जस्तो देखिएको छ। यस्तो बेला देशका आंतरिक शक्तिहरू एकजुट हुनु पर्ने छ जसको निम्ति राष्ट्रिय मेलमिलाप आवश्यक छ। अहंकार होइन, आत्ममन्थन! प्रतिशोध होइन, मेलमिलाप! सत्ता होइन, देशलाई प्राथमिकता! यही समयको माग हो।
यो मेलमिलाप कसले सम्भव बनाउँछ? हिम्मत, हैसियत र इतिहास बोकेको नेतृत्वले मात्र गर्न सक्छ। हिम्मत, हैसियत र इतिहास सबै तपाईं सँग छन्।
तपाईं गणतन्त्रवादी हुनुहुन्छ। कम्युनिस्टहरूको मूल सिद्दान्त नै गणतन्त्र हो। तर तपाईं राष्ट्रियता र सार्वभौमसत्तालाई माथि राख्ने नेता पनि हुनुहुन्छ। मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) मा राजा सहितको प्रजातान्त्रिक प्रणालीलाई स्वीकार्ने लचकता समावेश छ। आज यो कुरा धेरैले भुलिसकेका छन्। तर तपाईं भुल्नु भएको छैन भन्ने मलाई विश्वास छ।
Zen Z आन्दोलन–विद्रोहको दिन सम्झनुहोस्। यदि त्यतिबेला राष्ट्रप्रमुखको रूपमा राजनीतिक–तटस्थ राजसंस्था अस्तित्वमा हुन्थ्यो भने प्रधानमन्त्रीलाई हेलिकोप्टर चढेर भाग्नुपर्ने अवस्था आउने थिएन। राजसंस्था सुरक्षा–सन्तुलनको अन्तिम आधारभूत स्तम्भ हो। आज पनि राष्ट्रियताको ठूलो प्रहार भित्र देश फसिरहेको छ। त्यस्तो बेला स्थायित्वको स्तम्भ आवश्यक छ। त्यसैले अब देशलाई विभाजन होइन, बृहत् राष्ट्रिय एकता चाहिन्छ। त्यो एकताको सूत्रपात तपाईंबाट हुन सक्छ।
पहिलो कदम: पार्टी भित्रको एकता
तपाईको पहिलो जिम्मेवारी पार्टी भित्रको एकता हो। पार्टीको विधान नै संशोधन गरेर कार्यकाल र उमेरको सीमा हटाई सकेपछि अब तपाईं नै अध्यक्ष बन्नुहोस्। तर अध्यक्ष हुनु उद्देश्य होइन। उद्देश्य हो: पार्टीलाई फेरि शक्तिशाली र मजबुत बनाउनु।
तपाईंले निम्न कदमहरू चाल्न सक्नुहुन्छ:
* विद्या भण्डारीलाई स्वागत गर्दै महाधिवेशन प्रतिनिधिमा मनोनयन गर्ने र वरिष्ठ उपाध्यक्ष पद पुन: स्थापना गरी विद्यालाई सम्मानपूर्वक स्थापित गर्नु।
* अध्यक्ष निर्वाचित भए पछि कार्यवाहक वरिष्ठ उपाध्यक्षलाई जिम्मा दिएर आफू मार्गदर्शक अभिभावकको भूमिकामा रहनु।
यस उदार निर्णयले:
* एमाले बलियो बनाउनेछ।
* तपाईं प्रति उत्पन्न असन्तुष्टि शान्त हुनेछ।
* एमाले छोडेर गएका धेरै नेता कार्यकर्ता पुनः एमालेमा समाहित हुनेछन्।
* आगामी चुनावमा एमाले पुनः ठूलो शक्तिका रूपमा उदाउनेछ।
* तपाईंलाई बृहत् राष्ट्रिय एकता र मेलमिलापको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ।
दोश्रो कदम: राष्ट्रिय मेलमिलाप
आज राजसंस्थाबारे पुनः बहस भइरहेको छ। देशको अस्थिरता, कमजोर कूटनीति, बिग्रँदो राष्ट्रियता, विदेशी प्रभाव यी सबै कारणले राज्यमा स्थायित्वको आवश्यकता झनै बढाएको छ। राजा सहितको प्रजातान्त्रिक प्रणाली, संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातन्त्र, नयाँ विचार होइन। जबजको मूलभूत तत्त्वहरूमध्ये एक हो। त्यही जवजलाई कार्यावन्यन गर्न अग्रसर हुनुहोस्। यदि तपाईं खुलेर अघि बढ्नुभयो भने आलोचनाको केन्द्रबाट इतिहासक महान् राष्ट्रिय नेता बन्न सक्नुहुन्छ।
अन्तिम अनुरोध:
तपाईंको एउटा कदमले देशको दिशा बदल्न सक्छ। आज तपाईं माथि आरोप छन्, निरंकुशता, दम्भ, असहिष्णुता। तर तपाईंले यी सबै आरोपलाई एकै झट्कामा अवसरमा बदल्न सक्नुहुन्छ। उदारता, स्वीकार्यता, आत्ममन्थन र एकताको राजनीति अँगाल्नुभयो भने इतिहास तपाईंको पक्षमा हुनेछ।
नेता बन्न सजिलो हुन्छ, नेतृत्व बन्न कठिन, इतिहास बन्न अझ कठिन। तपाईं इतिहास बन्नै बाँकी छ। अवसर अहिले नै छ।
गणतन्त्रवादी कम्युनिस्टको सीमित घेराभन्दा माथि उठेर राष्ट्रवादी, समन्वयकारी, स्थायित्व दिने नेतृत्वको बाटो रोज्नुभयो भने आजको आलोचना भोलिको जयजयकारमा बदलिन्छ। आजको असन्तुष्टि भोलि श्रद्धामा परिणत हुन्छ। आजको तिक्तता भोलि गौरवमा रूपान्तरित हुन्छ।
सानो र विभाजित दलको अध्यक्ष वा अस्थायी गठबन्धनको शक्तिहीन प्रधानमन्त्री होइन राष्ट्रको दिशानिर्धारण गर्ने स्टेट्सम्यान बन्नुस्, ओलीज्यू। देश आज पनि तपाईंको एउटा गम्भीर र उदार कदमको प्रतीक्षा गरिरहेको छ। यदि तपाईंले चाहनु भयो भने यो सम्भव छ, ओलीज्यू।
आगे तपाईंको मर्जी।
तपाईंको शुभचिन्तक
– आत्माराम कोइराला