काठमाडौँ- उद्योगी तथा व्यवसायी शेखर गोल्छा नेपालको पहिलो व्यापारिक घरानाको तेस्रो पुस्ताका सदस्य हुन्। उनका हजुरबुवा रामलाल गोल्छाले नेपालमा पहिलो व्यापारिक घरानाको स्थापना गरेका हुन्। भारतबाट व्यापार गर्न नेपाल पसेका आफ्ना हजुरबुवालाई शेखर गोल्छा प्रेमपूर्वक सम्झन्छन्। भन्छन्- उहाँ टावरिङ व्यक्तित्वको हुनुहुन्थ्यो।
रामलाल गोल्छा सुरुमा नेपाल आउँदा बनाएको सानो झुपडीमा शेखर गोल्छासहित नातिहरूलाई सधैँ लैजान्थे ताकि आफ्नो हजुरबुवाको संघर्ष उनीहरूले अनुभूत गर्न सकून्। यसपटकको देशसञ्चार चौतारीमा हामीले उनै शेखर गोल्छालाई बोलाएका छौँ।
उनका हजुरबुवा रामलाल गोल्छाले नै नेपालमा पहिलो उद्योगका रूपमा जुट मिल स्थापना गरेका थिए, तत्कालीन राणा सरकारको सहयोगमा।
शेखर गोल्छाका बुवा हुलासचन्द्र गोल्छाको व्यवसायीभन्दा परोपकारी व्यक्तित्व ठूलो थियो। उनले नेपाल उद्योग वाणिज्य महासंघको स्थापनामा सहयोग गरेका थिए। यद्यपि अचानक हृदयाघात हुँदा २०५० सालमा उद्योग वाणिज्य महासंघको अध्यक्षको दौडबाट हुलासचन्द्र गोल्छा बाहिरिएका थिए। धेरै पछि शेखर गोल्छाले त्यो खालिपना पूरा गरे, आफैँ अध्यक्ष बनेर।
नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको धेरै ठूलो योगदान रहेको उल्लेख गर्दै गोल्छाले अहिले पनि सुरक्षाको वातावरण हुने हो भने लगानीको वातावरण फेरि बन्ने बताए, देशसञ्चार चौतारीसँग अन्तर्वार्ताका क्रममा।
संक्रमणकाल व्यापारिक समुदायले दिने समय भएको उल्लेख गर्दै गोल्छाले भने, ‘अहिले हामीले लिने समय होइन।’
नेपालमा अहिले जेनजी, व्यापारिक समुदाय र सर्वसाधारणले पनि चाहेको सुशासन नै रहेको उल्लेख गर्दै गोल्छाले यो कसरी आउँछ भन्नेबारे भने पर्याप्त छलफल नभएको बताए। भदौ २४ गते आफ्नो घरमा पनि तोडफोड र लुटपाट भएको र प्रमाणहरूसहित जाहेरी दिन जाँदा राज्यका निकायले जाहेरी नलिएको गोल्छाले बताए। ‘मलाई भएको नोक्सानी भौतिकभन्दा पनि मानसिक हो,’ उनले भने।
पछिल्लो समयमा गोल्छासहितको टिमले बनाएको नेपाली सिनेमा ‘परान’ निकै हिट भयो। आगामी दिनमा पनि ‘परान’ जस्ता विशुद्ध नेपाली सिनेमा बनाउन चाहेको उनले बताए। उनी कतिपय नेपाली संस्कृति भारतीय संस्कृतिबाट प्रभावित भएकामा असन्तुष्ट पनि देखिए। ‘हामीले मनाउने तिहार, होलीलगायतका चाडबाड भारतीय संस्कृतिबाट प्रभावित भएको छ,’ उनले भने।
उनी देशका युवा विदेशिनुमा राज्यसँगै निजी क्षेत्रको पनि दोष देख्छन्। यही भएर नेपाली युवा विदेशिँदा पर्ने अप्ठ्यारोमाथि नै उनले पहिलो सिनेमा बनाए पनि। यो सिनेमाले नेपाली फिल्मले माया पाउँदैन भन्ने न्यारेटिभलाई भत्काइदियो।
उनी भन्छन्, ‘नेपाली सिनेमाको स्टोरी टेलिङमा डिग्निटी लिएर आएनौँ भने यसले दर्शक तान्दैन। हाम्रो समाजले डिग्निफाइड स्टोरी खोजिरहेको छ।’
परानले नेपाली सिनेमामा एउटा सम्मानजनक उपस्थिति दिएको उनी बताउँछन्। ‘परान’ सिनेमा बनाउँदा बैँकबाट ऋण लिएको प्रसंग उक्काउँदै गोल्छाले भने, ‘एउटा ट्रेन्ड बनाउन मैले बैँकको लगानी लिएको हुँ।’
उनीसँग गरिएको देशसञ्चार चौतारीको पूरा अंश: