- विराटनगरको एभरेष्ट स्कुल ५ स्वर्ण पदकसहित सिनियरतर्फ तथा ७ स्वर्णसहित सिद्धार्थ स्कुल जुनियतरतर्फ पहिलो भए।
- फुटबलतर्फ पथरीशनिश्चरेको बाल्मिकी स्कुलले मोडर्न एरा स्कुललाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो।
- कुल २३५ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थीले १९ देखि २१ मंसिरसम्म खेलकुद मेलामा भाग लिए।
मोरङ – विराटनगरमा सम्पन्न १५ औं संस्करणको प्याब्सन खेलकुद मेलामा विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैंचाको सिद्धार्थ स्कुल पहिलो भएका छन्।
सोमबार सम्पन्न खेलकुद मेला ५ स्वर्ण पदकसहित सिनियरतर्फ एभरेष्ट स्कुल विराटनगर पहिलो भएको हो। त्यसैगरि, जुनियतरतर्फ ७ स्वर्णसहित सिद्धार्थ स्कुल पहिलो भएको हो। सिनियर प्लस टु तर्फ १ स्वर्ण र ३ कास्य पदकसहित सुन्दरहरैंचाको ब्राइट फ्युचर स्कुल द्धितीय भएको छ।
त्यस्तै, जुनियरतर्फ ५ स्वर्णसहित सुन्दरहरैंचाको पूर्वाञ्चल एकेडेमी द्वितीय, २ स्वर्ण र २ कास्य पदकसहित ग्रामथानको शारदा सेकेण्डरी स्कुल तृतीय तथा २ स्वर्ण र १ कास्यसहित रतुवामाईको मुनाल आदर्श स्कुल चौथो भएकाछन्। एथलेटिक्सतर्फ विराटनगरको स्टार स्कुलकी प्रीति मुखिया ‘बेस्ट प्लेयर’ घोषित भइन्। खेलकुद मेलाको फुटबलतर्फ पथरीशनिश्चरेको बाल्मिकी स्कुलले उपाधि हात पारेको छ। सोमबार दिवारात्रिकालिन फाइनल खेलमा बल्मिकीले विराटनगरको मोडर्न एरा स्कुललाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। बाल्मिकीको जितमा असिम बुढाथोकी र सयल फेकले समान एक गोल गरेका थिए।
मोडर्न एराका तर्फबाट प्रेम शेर्पाले सान्त्वना गोल फर्काएका थिए। त्यसैगरि, भलिबलतर्फ चार फरक विद्यालयले उपाधि जितेकाछन्। जुनियर छात्रमा रंगेलीको सनरे स्कुल र जुनियर छात्रामा उर्लाबारीको शिशु शिक्षा स्कुल प्रथम भएकाछन्। त्यसैगरि, सिनियर छात्रमा रतुवामाईको राष्ट्रिय निर्माण स्कुल र छात्रामा सुन्दरहरैंचाको ब्राइट फ्युचर स्कुलले उपाधि जिते। बास्केटबलतर्फ जुनियर छात्रतर्फ विराटनगरको सगरमाथा स्कुल प्रथम भएको छ।
प्लस टु सिनियर छात्रतर्फ पनि सगरमाथा स्कुल नै प्रथम भएको छ। त्यसैगरि, प्लस टु छात्रातर्फ विराटनगरको एभरेष्ट स्कुल पहिलो भएको छ। मंसिर १९ देखि २१ गतेसम्म भएको प्रतियोगितामा जिल्लाभरका २३५ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी खेलाडीहरूले सहभागिता जनाएको प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले जानकारी दिए।