देशसञ्चार चौतारीमा भाग-१२३

गायक दीप श्रेष्ठसँग ‘बितेका कुरा’

+
-

‘उनी झट्ट खुल्दैनन्,’ गायक दीप श्रेष्ठलाई चिन्ने एकाधले भन्ने गर्छन्। देशसञ्चार चौतारीको यो श्रृंखलामा भने गायक श्रेष्ठ उमेरको सात दशकको अनुभव खुलेरै सुनाए।

उमेरले बुढ्यौली लाग्यो। तर दिनहरु गाएरै बितेका छन्। कम्पोज गरेरै बितेका छन्। जीवनमा थुप्रै गीत विरहका गाए। दुःखका गाए। आँसुका गाए। उनले गाएको प्रेमिल गीत पनि उनको गलाबाट गम्भीर सुनिन्छ। दुःख उनको सधैं नजिक भयो। दुःख हुँदैनथ्यो भने गायक बन्थे सायदै। भन्छन्, ‘मेरो भागमा दुःखका गीत परे। सायद दुःख मेरो छातीमा थियो। जो गलाबाट सधैं सधैं निस्कियो। मेरो गलालाई दुःखका गीत सुहाएर त होला।’

जीवनमा खासै मलामी गएनन् दीप। लास देखेर मन थाम्न सक्दैनन्। भन्छन्, ‘म नारायणगोपाल दाइको मलामी जाँदा पनि बाहिर बसेको थिएँ। मन थाम्न सक्दिनँ। दुःख देख्न सक्दिनँ।’ हुँ यात्री…, एउटै बाटो, जस्ता कालजयी गीतका स्रष्टा दीप दुःखलाई मैले साह्रै नजिकबाट संगीत गरेको बताउँछन् उनी।

२००७ साल धनकुटामा जन्मिएका दीप धरानमा हुर्किए। धरानले उनलाई गायक बनायो। गायक सपना बोकेर उनी काठमाडौँ आउजाउ गर्थे। संयोग रह्यो— नाटक ‘शिलान्यास’ मञ्चनको। काठमाडौँको राष्ट्रिय नाचघरमा नाटकमा गीत गाउने कलाकारका रुपमा आएका दीपले गाएको गीत सुनेर राजा महेन्द्र नै प्रभावित भएका थिए। उनैले गीत गाउन लगाए।  ‘त्यो बेला प्रमुख अतिथि नै तत्कालीन राजा महेन्द्र हुनुहुन्थ्यो। उहाँले नै रेडियो नेपालमा गीत गाउने मौका दिनुभयो,’ उनले ती दिन सम्झिए।

२०२५ सालमा गीतकार विजय श्रेष्ठले लेखेका गीत गाएर उनी फर्किए धरान। आफ्नै दुनियामा रमाए। एकदिन छिमेकी मारवडी समुदायका मित्रले उनको गीत सुनेर रेडियो नै लिएर सुनाउन पुगेका रहेछन्। ‘रेडियो नेपालमा जब त्यो गीत बज्यो अनि मलाई ती मारवडी साथीले बोलाउनुभयो। तर मसम्म आइपुग्दा गीतको अन्तिम टुक्का सुन्न पाएँ अनि थाहा पाएँ मेरो स्वर रेडियो नेपालबाट आएको। मेरो गीत मन पराइदिनु भएछ,’ उनले भने।

गीत थियो— म पत्थरकोे देवता!

चल्तीका गीतकारसँग उनले काम गरेका छन्। गायकले गर्दा गीतकार बाँचेका सन्दर्भ पनि कोट्याए, ‘गीतकार चलेको नै गायकले गर्दा हो।

तर सांगीतिक क्षेत्रमा लागेका गीतकारहरु गायकसँग गुनासो गर्छन्—गायकले गीतकारको नामसम्म भन्न कन्जुस्याइँ गर्छन्।

नेपाली सांगीतिक क्षेत्रमा निजामती कर्मचारीहरु गायक तथा गीतकार बन्न दौडिएका प्रति उनी भन्छन्, ‘आफ्नै पेशामा रमाएको राम्रो हुन्थ्यो।’

गीतकार शिवशंकर थापा, सञ्जय थापा, बसन्त थापा, किरण खरेल, रत्नशम्शेर, विप्लब प्रतीक, राजु सिंहजस्ता गीतकार तथा सगीतकारसँग काम गरेरका दीपलाई चालिसको दशकमा त स्वरसम्राट नारायण गोपाल जस्ता गायकका प्रतिष्प्रर्धीका रुपमा हेरिन्थ्यो। तर दीप भन्छन्, ‘म चलेको नै नारायण गोपाल दाइहरु नभएकाले हो। उहाँहरुको अगाडि म केही होइन।’

किशोर उमेरमा उनको स्वर मसिनो थियो। धेरैले केटीको जस्तो गाउँछ भनेर जिस्काउँथे। अनि उनी स्वर बनाउन खोज्थे। सोध्थे। कतिले सुपारी खा भनेर सुझाव दिन्थे। उनी खान्थे पनि। ‘स्वर बनाउन होइन स्वर विगार्न लागेको रहेछु । सबैको सल्लाह सुनेर जे पनि खाइयो। तर उमेर बढेसँगै मेरो स्वर मोटो हुँदै आयो। म नै हतारिएको रहेछु,’ उनले भने।

आफ्ना गीतलाई फरक डिजाइन गर्न रुचाउने दीपलाई धेरैले बलिउडमा हिरो हुन गएको थियो पनि भन्छन्। तर, उनी यो कुरा मान्दैनन् । भन्छन्, ‘म घुम्न गएको थिएँ। लता दिदीहरुलाई भेट्ने रहर चाहिँ थियो। तर भेट्न पाइनँ । हिरो हुन गएको कुरा भ्रम फैलाइएको हो।’

नयाँ गीत लेखे भने आफ्नै जीवनसाथी गायिका सोफिया गुरुङलाई डेडिकेट गर्छन् दीप। तर एकदिन विवाह नहुँदै लेखेको गीत पनि तिमीलाई सम्झेर लेखेको भनिदिएर पक्रिएको अनुभव पनि सुनाए, ‘विवाह नहुँदै लेखेका बनाएका गीत पनि तिम्रा लागि भनेपछि पक्रिएँ नि।’

धरानबासीका लागि काठमाडौँ आउनु र दार्जिलिङ जानु उस्तै उस्तै हो। त्यो समय दार्जिलिङ खुबै जान्थे दीप । बाल्यकालमा पनि पढ्न गएका थिए । गीत गाउन पनि उनी गइरहे । कालेबुङमा एकल सांगीतिक यात्रा प्रस्तुत गर्न गएका थिए। तीन जना गायिका कोरसमा गाउन पुगे। ती तीनैजना दीपा गहतराज, संगीता सुब्बा र अनुपमा प्रधान हुन् र तारादेवी, दावा ग्याल्बो, सोफिया गुरुङ गायिकाहले गीत पनि गाए। भन्छन्, ‘मेरो गीत दार्जिलिङमा पनि हिट रहेछ। मेरो फ्यान रहेछन्। यस्तैमा सोफियाले पनि मन पराउनु हुँदोरहेछ। अनि उनीहरु यता काठमाडौँ आए। मैले नै सहयोग गरेँ। गीत सँगसँगै गाइयो। पछि विवाह पनि गरियो।’

श्रेष्ठले युवा पुस्ताका चर्चित सङ्गीतकार प्रविन बराइलीले सङ्गीत गरेको ‘कसैको हुन नसक्ने म तिम्रो कहाँ हुन सकौला’ भन्ने गीत पनि गाएका छन्।

जीवनमा बाँच्नका लागि संघर्ष गरेका थिए दीपले। नारायण गोपालले गीत नगाउँदाका संघर्ष मात्रै होइन, क्षयरोग उपचार गर्दाका दिनहरुमा पनि लामै संघर्ष उनले। उनले भने, नियमित औषधी नखाएको भए म उहिले मर्थेँ। मेरा आँखा अगाडि थुप्रै मानिस मरेका थिए।

‘हर रात सपनी’मा बोलका गीत पनि सम्झिए, ‘यो गीत विप्लब प्रतीकको हो। यो गीत जति म तान्छु, त्यति लुकाउनु हुन्थ्यो। अधुरो छ भनेर लुकाउनु हुन्थ्यो। पछि त्यही गीत तानेँ। कम्पोज गर्दा म खुब रोएँ।’

दीप त्यस्ता साधकमा पर्छन् जो उमेरको बन्देजलाई पछाडि पार्दै गाइरहेका छन् । सङ्गीतमा गम्भीर छन् उनी। अलङ्कारहरु सङ्गीत प्रयोजनका लागि उपयोगी हुन्छन्  त्यसरी नै नारायण गोपाल, दीप श्रेष्ठका गीतहरू बारम्बार गाउँदा सङ्गीत अभ्यासका मूल तत्वहरु ल्याउँछन्। गायकीमा डुब्छन्। आफ्नो गायकीलाई बजारमुखी बनाएका छैनन् । उनका गीतमा शास्त्रीय सङ्गीतको मौलिकता पाइन्छ।

भ्वाइस अफ नेपाल रियालिटी ‘शो’मा दीप श्रेष्ठको भूमिका निर्णायक थियो। उनी अहिलेका पुस्ताले गीतमा गहिरो चासो देखाए पनि मेहनत कम गर्ने गरेको बताउँछन्। उनी भन्छन्, ‘गायनलाई बजारमुखी बनाउन थालियो भने गायकी रहन्न। अहिले त एआइले बजार खान थाल्यो। स्टुडियोमा गीत गाउन त सकिएला तर मेला महोत्सवमा भने गाह्रो छ।’

दीपले मृत्युलाई पटक-पटक जितेका छन्। किशोर उमेरमा क्षयरोगलाई जिते। कोराना लागेर लामो समय अस्पताल बसे । कहिले घुँडा दुखेर हिड्न सक्दैनन्। र पनि कर्म निरन्तर गरेका छन्। गाउन छोडेका छैनन्। देश विदेशमा आयोजना हुने कार्यक्रममा पुग्न छोडेका छैनन्।

‘अब कुनै बिमारीले च्याप्यो भने त उठ्नै पो सक्दिन होला। उमेर पनि उठेर तङ्ग्रिएर हिँड्ने बेलाको होइन,’बोल्दाबोल्दै उनी मन्द मुस्कुराए।

पूरा भिडियो:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?