- बृहदारण्यकोपनिषद् मा ऋषि याज्ञवल्क्य र गार्गीबीचको संवादले ब्रह्मतत्त्वको मौलिकताको गहन चर्चा गरेको देखिन्छ।
- विदेहराज जनकको यज्ञमा याज्ञवल्क्यले उत्कृष्ट वेदज्ञ हुनुको प्रमाण दिएर अन्य विद्वान्हरूलाई प्रभावित पारेका थिए।
- याज्ञवल्क्यलाई प्रश्न गर्न नचाहने विदग्ध शाकल्यको पराजयलाई उपनिषद्लाई अन्तिम सत्यको रूपमा प्रतिपादन गर्ने प्रयास गरिएको हो।
विषय प्रवेश
शुक्लयजुर्वेदको शतपथब्राह्मणअन्तर्गत पर्ने बृहदारण्यकोपनिषद् मा ऋषि याज्ञवल्क्यसँगको विस्तृत दार्शनिक चर्चा देखाइएको छ। प्राचीनकालमा शुक्लयजुर्वेदका बैजवाप, कात्यायन, जाबाल, गालव इत्यादि १५ शाखा भएपनि वर्तमान कालमा माध्यन्दिनीय र काण्व दुई शाखाका ग्रन्थ मात्र मुख्यतया पाइन्छन्। अतः काण्वशतपथब्राह्मण र माध्यन्दिनीयशतपथब्राह्मण दुई ब्राह्मणग्रन्थ पनि सुलभ छन्। शतपथब्राह्मणमा याज्ञवल्क्यको नाम अनेक स्थानमा आएको छ। वेदमा आएका व्यक्तिका नामले ऐतिहासिक पुरुषलाई नजनाएर शाश्वत तत्त्वलाई नै बुझाएको हुन्छ भन्ने वैदिक सिद्धान्त छ तापनि लोकलाई बुझाउन पुराणहरूले कथाका र घटनाका शैलीमा विषयवस्तुको वर्णन गरेझैँ उपनिषद् मा पनि ठाउँठाउँमा यस्तो शैली अपनाइएको देखिन्छ। उपनिषद् संसारभरिकै उत्कृष्टतम दार्शनिक ग्रन्थ हुन् भन्ने कुरा सर्वमान्य छ। बृहदारण्यकोपनिषद् शुक्लयजुर्वेदको माध्यन्दिनीय र काण्व दुवै शाखामा अलगअलग रूपमा उपलब्ध छन्। तथापि यिनमा सारै थोरै मात्र भिन्नता पाइन्छ।
बृहदारण्यकोपनिषद् मा आएका याज्ञवल्क्यका विभिन्न प्रसङ्ग र संवादबाट वैदिक दर्शनका विविध विषयवस्तु स्पष्ट पारिएका छन्। त्यहाँ ऋषि याज्ञवल्क्यको राजर्षि जनकसित, आफ्नै पत्नी ब्रह्मवादिनी मैत्रेयीसित र वचक्नुकी पुत्री गार्गी प्रभृति अन्य विद्वान् तथा विदुषीहरूसित भएका संवादहरूसमेत आएका छन्। तीमध्ये यस लेखमा मुख्यतया गार्गीसित भएको संवादको चर्चा गर्न खोजिएको छ।
जनकका यज्ञमा याज्ञवल्क्यको उपस्थिति
एक पटक विदेहराज जनकले धेरै दक्षिणा दिइने (बहुदक्षिण) यज्ञ गरेका थिए। त्यस वेला त्यहाँ कुरुदेश र पञ्चालदेशका विद्वान् ब्राह्मणहरू जम्मा भएका थिए। यिनीहरूका अगाडि राजा जनकले दुवै सिङमा दश-दश पाद (पलचतुर्थभाग/निष्क) सुन बाँधिएका १००० वटा गाई ल्याएर तपाईँहरूमध्ये जसले आफूलाई अनूचानतम (श्रेष्ठतम वेदज्ञ) ठान्नुहुन्छ, उहाँले यी गाईहरू लैजानुहोस् भनी घोषणा गरेछन्। तथापि अरू ब्राह्मण कसैले पनि आफूलाई श्रेष्ठतम वेदज्ञ भनेर दाबीसम्म पनि गर्न सकेनछन्। याज्ञवल्क्यले चाहिँ जनकको घोषणा सुनेपछि आफ्ना सामश्रवा नामका शिष्यलाई ती गाईहरू घर लैजान आदेश दिएछन्। यो देखेर अरू ब्राह्मणहरू क्रुद्ध भएछन्। त्यसपछि जनकका ऋत्विक् होता अश्वलले याज्ञवल्क्यलाई “यहाँ उपस्थित यतिका ब्राह्मणहरूमध्ये तपाईँ आफूलाई उत्कृष्ट वेदज्ञ कसरी सम्झनुहुन्छ?” भनी प्रश्न गरेछन्। यसको उत्तरमा याज्ञवल्क्यले “हामी वेदज्ञ ब्राह्मणलाई नमस्कार गर्छौँ, अहिले हामीलाई गाईको इच्छा मात्र छ” भनेछन्। यो प्रसङ्ग बृहदारण्यकोपनिषद्मा यसरी सुरु भएको छ–
जनको ह वैदेहो बहुदक्षिणेन यज्ञेनेजे तत्र ह कुरुपञ्चालानां ब्राह्मणा अभिसमेता बभूवुस्तस्य ह जनकस्य वैदेहस्य विजिज्ञासा बभूव कः स्विदेषां ब्राह्मणानामनूचानतम इति स ह गवां सहस्रमवरुरोध दशदश पादा एकैकस्याः शृङ्गयोराबद्धा बभूवुः।। तान् होवाच ब्राह्मणा भगवन्तो यो वो ब्रह्मिष्ठः स एता गा उदजतामिति। ते ह ब्राह्मणा न दधृषुरथ ह याज्ञवल्क्यः स्वमेव ब्रह्मचारिणमुवाचैताः सोम्योदज सामश्रवा३ इति ता होदाचकार ते ह ब्राह्मणाश्चुक्रुधुः कथं नो ब्रह्मिष्ठो ब्रुवीतेत्यथ ह जनकस्य वैदेहस्य होताऽश्वलो बभूव स हैनं पप्रच्छ त्वं नु खलु नो याज्ञवल्क्य ब्रह्मिष्ठोऽसी३ इति स होवाच नमो वयं ब्रह्मिष्ठाय कुर्मो गोकामा एव वयं स्म इति तं ह तत एव प्रष्टुं दध्रे होताऽश्वलः।। (काण्व बृहदारण्यकोपनिषद् ३।१।१–२, माध्यन्दिनीय शतपथब्राह्मण १४।६।१।१–४)
अनि प्रश्नोत्तर सुरु भयो। याज्ञवल्क्यलाई अश्वल, जरत्कारुगोत्रीय आर्तभाग, लह्यका नाति भुज्यु लाह्यायनि, चक्रका छोरा उषस्त चाक्रायण, कुषीतकका छोरा कहोल(ड) कौषीतकेय, वचक्नुकी छोरी गार्गी वाचक्नवी, अरुणका छोरा उद्दालक आरुणि इत्यादि विद्वान् तथा विदुषीले दार्शनिक प्रश्नहरू गरे।
याज्ञवल्क्य र गार्गीको संवाद
प्रश्नोत्तरका क्रममा विषय सूक्ष्मतर र गहनतर हुँदै गयो। गार्गीले अमुक वस्तु केमा ओतप्रोत (फैलिएको / अनुस्यूत) छ? भन्ने प्रश्नहरू गर्दै जाँदा सबैको कारणभूत ब्रह्मलोक केमा ओतप्रोत छ? भनेर पनि प्रश्न गरिन्। उनको यो प्रश्न सुनेर याज्ञवल्क्यले “जुन परदेवताका विषयमा प्रश्न गर्नै मिल्दैन त्यसका विषयमा प्रश्न गरेर तिमीले सीमा नाघ्यौ, तिम्रो शिर खस्ला, अब प्रश्न नगर” भने। यो कुरा बृहदारण्यकोपनिषद् मा यसरी भनिएको छ–
कस्मिन्नु खलु ब्रह्मलोका ओताश्च प्रोताश्चेति स होवाच गार्गि माऽतिप्राक्षीर्मा ते मूर्धा व्यपप्तदनतिप्रश्न्यां वै देवतामतिपृच्छसि गार्गि माऽतिप्राक्षीरिति ततो ह गार्गी वाचक्नव्युपरराम।। (का.बृ.उ. ३।६।१, मा.श.ब्रा. १४।६।५।१)
नेपालको मिथिलाक्षेत्रसित पनि नाम जोडिएका याज्ञवल्क्य वैदिक वाङ्मयमा शुक्लयजुर्वेदका उपदेष्टा ऋषि, ब्रह्मज्ञानी दार्शनिक तथा याज्ञवल्क्यस्मृतिका उपदेशकका रूपमा देखा परेका छन्। आधुनिक कतिपय लेखकले उनको समय विक्रम संवत् प्रारम्भ हुनुभन्दा २५०० देखि ३००० वर्ष पूर्वको मानेका छन्। किन्तु वैदिक वाङ् मय अनादि भएकाले यसको कालनिर्धारण गर्न खोज्नु सान्दर्भिक देखिँदैन।
ब्रह्म अनुमानको विषय नभएको र यी प्रश्नोत्तर अनुमानका आधारमा चलेका हुनाले याज्ञवल्क्यले उक्त प्रकारले निषेध गरेको देखिन्छ। त्यसपछि (गार्गी रोकिएपछि) अर्का प्रश्नकर्ता उद्दालकको जिज्ञासा याज्ञवल्क्यले शान्त गरे। अनि त्यसपछि पुनः गार्गीले नै याज्ञवल्क्यसित थप दुई प्रश्न सोधिन् र तिनको उत्तरबाट उनी सन्तुष्ट भइन् भन्ने प्रसङ्ग पनि त्यहाँ उल्लिखित छ। ती प्रश्नका उत्तरमा याज्ञवल्क्यले निरुपाधिक सर्वान्तर्यामी ब्रह्मको श्रुतिका आधारमा निषेधात्मक रूपमा (न ठुलो छ, न सानो छ, न लामो छ, न छोटो छ, न वायु हो, न आकाश हो, न असङ्ग छ, न रस हो, न गन्ध हो, न कान छ, न वाणी छ, न मन छ, न भित्र छ, न बाहिर छ इत्यादि भन्दै) र श्रुत्यनुकूल अनुमानका आधारमा (यही अक्षर ब्रह्मका प्रशासनमा सूर्य, चन्द्रमा, द्युलोक, पृथिवी, नदी, पर्वत इत्यादि विधृत छन्, ब्रह्मको प्रशासन नभए यिनले ठिक प्रकारले काम गर्न सक्ने थिएनन् इत्यादि भन्दै) ब्रह्मको अस्तित्व प्रतिपादन गरे, ब्रह्मको ज्ञान र अज्ञानको फल बताए, पुनः ब्रह्मको स्वरूप एवं लक्षण पनि प्रतिपादन गरे। अन्त्यमा गार्गीले त्यहाँ उपस्थित विद्वान् ब्राह्मणहरूलाई “तपाईँहरूमध्ये कसैले पनि वेदका ज्ञानमा याज्ञवल्क्यलाई जित्न सक्नुहुन्न” भन्ने निष्कर्ष सुनाइन् भन्ने कुरा त्यहाँ उल्लिखित छ–
अथ ह वाचक्नव्युवाच ब्राह्मणा भगवन्तो हन्ताहमिमं द्वौ प्रश्नौ प्रक्ष्यामि तौ चेन्मे वक्ष्यति न जातु युष्माकमिमं कश्चिद् ब्रह्मोद्यं जेतेति पृच्छ गार्गीति।। …. सा होवाच ब्राह्मणा भगवन्तस्तदेव बहु मन्येध्वं यदस्मान्नमस्कारेण मुच्येध्वं न वै जातु युष्माकमिमं कश्चिद् ब्रह्मोद्यं जेतेति ततो ह वाचक्नव्युपरराम।। (का.बृ.उ. ३।८।१–१२, मा.श.ब्रा. १४।६।८।१–१२)
आधुनिक आलोचकहरूको भ्रमात्मक ज्ञान र लेखन
यस्तो तथ्य नबुझेका वा बुझ्न नसकेका वैदिक धर्मका कतिपय आलोचकचाहिँ विवेक गुमाएर यस प्रसङ्गलाई पुरुष याज्ञवल्क्यले महिला गार्गीलाई दबाएको भन्नसमेत पुगेको देखिन्छ। यस प्रसङ्गमा मोदनाथ प्रश्रितजीले “नारीलाई हेप्ने, हप्काउने, बौद्धिकस्तरमा पुरुषसमान हुन नदिने प्रवृत्ति सुरु भएको देखिन्छ”, “याज्ञवल्क्यले जङ्गिएर गार्गीलाई हकार्दै भने” इत्यादि कुरा पनि लेखेको देखिन्छ (कुमारी मासिक, २०६० पुस, अङ्क १०)। तर बृहदारण्यकोपनिषद्को सम्बद्ध प्रकरणबाट (३।६।१८) त्यस्तो निष्कर्ष निस्किँदैन। गार्गीले अमुक वस्तु केमा ओतप्रोत छ? भन्ने प्रश्नहरू गर्दै जाँदा सबैको कारणभूत ब्रह्मलोक केमा ओतप्रोत छ? भन्ने प्रश्न गरेपछि जुन परदेवताका विषयमा अनुमानका आधारमा प्रश्न गर्न मिल्दैन त्यसका विषयमा प्रश्न गरेर तिमीले सीमा नाघ्यौ, अब प्रश्न नगर भनी याज्ञवल्क्यले भनेका हुन्। यहाँ न नारीलाई हेपेर पुरुषलाई ठुलो देखाइएको छ, न नारीको बौद्धिक स्तरलाई पुरुषसमान हुन नदिइएको छ, हकारिएको त छँदैछैन।
त्यसको कारण के हो? त्यसको कारण के हो? भनी प्रश्न गर्दै जाने हो भने अन्त्यमा ब्रह्ममा पुगेपछि टुङ्गिन्छ, जुन अनुमानका आधारमा जान्न सकिने विषय हैन, श्रुतिपरम्पराबाट जानिने र त्यसपछि मात्र अनुमानले पुष्टि हुने विषय हो। यो तथ्य त्यसपछि गार्गीले सोधेका प्रश्नको याज्ञवल्क्यले दिएका उत्तरबाट बुझिन्छ। पुरुष प्रश्नकर्ताले उक्त प्रश्न सोधेका भए पनि याज्ञवल्क्यको उत्तर यस्तै नै हुन्थ्यो, फरक हुन्थेन। याज्ञवल्क्यले चुप लाग भनेपछि पनि एक अर्का प्रश्नकर्तापछि फेरि याज्ञवल्क्यसित अरू दुई प्रश्न सोधेर त्यसको उत्तरबाट गार्गी सन्तुष्ट भएको र याज्ञवल्क्यको प्रशंसा गरेको निष्कर्षात्मक प्रसङ्ग पनि त्यहीँ (३।८।१–१२) उल्लिखित छ। तर यस कुराको अध्ययनै नगरी अथवा आकलनै गर्न नसकी वेदवाक्यप्रति असहिष्णु भएर आधुनिक हावामा बहकिएर प्रश्रितजीले जथाभावी लेखेका हुन् भन्ने कुरा अरूलाई स्पष्ट नभए पनि वेदवेदाङ्गादि शास्त्रको तलस्पर्शी अध्ययन गर्ने विद्वान् लाई चाहिँ छर्लङ्गै हुन्छ। प्रश्रितजीले अविवाहिता गार्गीलाई याज्ञवल्क्यकी पत्नी भनेर पनि ठाउँठाउँमा लेखेका छन् (कुमारी मासिक, पूर्ववत्)। यस्तो भद्दा त्रुटि गर्ने व्यक्तिले गरेको विवेचना पनि कहीँ यथार्थ हुन सक्छ र? अनि उनैलाई गुरु मान्ने र उनले लेखेका कुरालाई ब्रह्मवाक्य ठान्ने नेपाली कतिपय प्रा.डा. तथा लेखकहरूले समेत गार्गीलाई याज्ञवल्क्यकी पत्नी भन्न र लेख्न थालेको देखिन्छ। अनि मूढ समाजले त्यसैलाई सत्य ठानेको पनि देखिन्छ। यतिबिधि अन्धकार छ सत्य-तथ्य र ज्ञानका क्षेत्रमा!
मोदनाथ प्रश्रितजीले अन्यत्र पनि धेरै विषयमा वैदिक शास्त्रको र धर्म-संस्कृतिको मर्म नबुझीकन जथाभावी आलोचना गरेर लेखेको देखिन्छ। तर उनलाई सामान्य संस्कृत वाक्यको पनि अर्थ नलाग्ने रहेछ भन्ने उनले लेखेका कतिपय लेखबाट स्पष्ट बुझिएको छ। उनले शास्त्रीय ग्रन्थको र धर्मसंस्कृतिको जसरी भए पनि आलोचना गर्नुपर्छ भन्ने पूर्वाग्रह राखेर ऋग्वेद, मनुस्मृति इत्यादि शास्त्रीय ग्रन्थको र महनीय शास्त्रीय सिद्धान्तको आलोचना गरेको देखिन्छ। प्रसङ्ग पर्दा तिनको हामीले पहिला पनि प्रत्यालोचना गरिएको थियो (ऋग्वेदमा नारी जातिकै निन्दा गरिएको छ त? गोर्खापत्र, २०४७।१२।९, शनिवासरीय, नारीका विषयमा वैदिक वस्तुस्थिति, उन्नयन मासिक, २०६२ वैशाख, अङ्क ५५, इत्यादि)। त्यसैले उनले गरेका यस्ता आलोचना अज्ञान, अल्पज्ञान, भ्रमात्मक ज्ञान र पूर्वाग्रहका उपज मात्र हुन् भनेर सिद्ध भएपछि अब नारी बन्धन र मुक्तिजस्ता पुस्तक छाप्दा यथार्थ स्रोत लिएर वैदिक धर्म, संस्कृति र दर्शनको उच्चता देखिने गरी सच्च्याएर छाप्ने उदारता वा हिम्मत देखाउन उचित हुन्छ। यस्तैप्रकारका व्यक्तिहरूलाई नै ठुला लेखक वा विद्वान् ठान्ने, अनेक पुरस्कार दिएर ठुलो देखाउने र तिनैका भ्रमात्मक ज्ञानको चर्चा-परिचर्चा तथा समालोचना गर्ने नेपाली बौद्धिक समाज पनि अविवेकी र दयनीयसमेत हो भन्ने स्पष्ट हुन्छ। यस स्थितिमा सुधार भई अप्रामाणिक कुराको व्यापक आलोचना वा निन्दा गरेर लेखकहरूलाई असत्य कुरा सच्च्याउन बाध्य पार्ने समाज पो गतिलो र बौद्धिक ठहर्छ त। यस्ता अल्पज्ञान र पूर्वाग्रहसमेतका आधारमा आधुनिक नेपाली तथा भारतीय व्यक्तिहरूले गरेका वेद-वेदाङ्गादि शास्त्रका आलोचनाको शास्त्र र युक्तिका आधारमा विस्तृत प्रत्यालोचना हाम्रा पिताजीले लामो समय लगाएर आफूले गरेका वेदवेदाङ्गादि शास्त्रको तलस्पर्शी अध्ययन तथा आधुनिक ग्रन्थहरूको विवेचनात्मक अध्ययनका आधारमा पनि “वैदिक धर्म मूल रूपमा” भन्ने बृहद् ग्रन्थमा राम्ररी गर्नुभएको छ (शिवराज आचार्य कौण्डिन्न्यायन, स्वाद्ध्यायशाला, तृतीय संस्करण, २०८०, पृ. ७१–१२८) । यो ग्रन्थ आस्तिक सज्जनहरूले पढेर आधुनिक नास्तिक व्यक्तिहरूले धर्मसंस्कृतिका विरुद्धमा उठाउने गरेका अनेक तर्क र प्रश्नहरूको उत्तर दिन सक्ने बन्न आवश्यक र उचित हुन्छ।
याज्ञवल्क्य सर्वश्रेष्ठ वेदज्ञ र दार्शनिक
माथि भनिएका कुरामा चित्त नबुझाएर याज्ञवल्क्यलाई प्रश्न गर्दै जाने शकलका छोरा विदग्ध शाकल्यको चाहिँ अन्त्यमा पराजय र विनाश पनि भएको कुरा पनि तर बृहदारण्यकोपनिषद् मा देखाइएको छ–
अथ हैनं विदग्धः शाकल्यः पप्रच्छ. कति देवा याज्ञवल्क्येति……।।…..तं त्वौपनिषदं पुरुषं पृच्छामि तं चेन्मे न विवक्ष्यसि मूर्धा ते विपतिष्यतीति। तं ह न मेने शाकल्यस्तस्य ह मूर्धा विपपात…….।। (का.बृ.उ. ३।९।१–२६, मा.श.ब्रा. १४।६।९।१–२८)
त्यसपछि उपस्थित विद्वान् ब्राह्मणहरूलाई याज्ञवल्क्यले सोधे– “मसित अझै कसैले कुनै प्रश्न सोध्न चाहन्छ? अथवा आफूलाई याज्ञवल्क्यले कुनै प्रश्न सोधिदिए हुन्थ्यो भनी ठान्दछ?” किन्तु त्यसपछि याज्ञवल्क्यलाई उत्तर दिन कसैले पनि साहस गरेन। यो विषय बृहदारण्यकोपनिषद् मा यसरी उल्लेख गरिएको छ–
अथ होवाच ब्राह्मणा भगवन्तो यो वः कामयते स मा पृच्छतु सर्वे वा मा पृच्छत यो वः कामयते तं वः पृच्छामि सर्वान् वा वः पृच्छामीति ते ह ब्राह्मणा न दधृषुः ।। (का.बृ.उ. ३।९।२७, मा.श.ब्रा. १४।६।९।२९)
यसरी वैदिक ब्रह्माद्वैतसिद्धान्त उपनिषद् मा प्रतिपादित गरिएको छ। यो पूरै चर्चाको वा संवादको तात्पर्य परब्रह्म नै अन्तिम सत्य हो भन्ने हो। त्यसैले यहाँ केवल संवाद वा विद्वत्ताको कुरा मात्र नभएर परम तत्त्व बताउन खोजिएको पनि हो भनेर बुझ्नुपर्दछ। साथै वेदज्ञ नै दार्शनिक हुने र वेद नबुझेको व्यक्ति दार्शनिक हुन नसक्ने कुरासमेत यस प्रसङ्गबाट स्पष्ट बुझ्न सकिन्छ। वेद कर्मकाण्ड र ज्ञानकाण्डमा विभक्त छ र यी दुवैको विरोध नभएर समन्वय छ भन्ने कुरा पनि यहाँ विशेषतया स्मरणीय छ। कतिपय आधुनिक युरोपियन र भारतीय विचारकले भनेजस्तो कर्मकाण्डको विरोध गरेर ज्ञानको महत्त्व स्पष्ट पार्न उपनिषद् लागेका हैनन्। यस विषयको भ्रमात्मक ज्ञानको खण्डन पनि माथि उल्लिखित “वैदिक धर्म मूल रूपमा” भन्ने बृहद् ग्रन्थमा गरिएको छ।
उपसंहार
नेपालको मिथिलाक्षेत्रसित पनि नाम जोडिएका याज्ञवल्क्य वैदिक वाङ्मयमा शुक्लयजुर्वेदका उपदेष्टा ऋषि, ब्रह्मज्ञानी दार्शनिक तथा याज्ञवल्क्यस्मृतिका उपदेशकका रूपमा देखा परेका छन्। आधुनिक कतिपय लेखकले उनको समय विक्रम संवत् प्रारम्भ हुनुभन्दा २५०० देखि ३००० वर्ष पूर्वको मानेका छन्। किन्तु वैदिक वाङ् मय अनादि भएकाले यसको कालनिर्धारण गर्न खोज्नु सान्दर्भिक देखिँदैन। जैमिनीय धर्ममीमांसाको सिद्धान्तअनुसार त वेदमा उल्लिखित व्यक्तिहरू लौकिक इतिहासका व्यक्ति नै हैनन् र आख्यायिका पनि प्रतिपाद्य विषय सुबोध बनाउने शैलीविशेष मात्र हुन्, तिनले इतिहासको प्रतिपादन गर्दैनन् भन्ने मानिन्छ।