देशसञ्चार चौतारीमा भाग-१२२

‘म सत्य बोल्न रूचाउँछु तर छुच्चो भइँदोरहेछ’

+
-

कला, साहित्य, संगीतबाट राष्ट्रलाई योगदान दिने थुप्रै स्रष्टा जन्मायो धरानले। ४० र ५० को दशकमै अंग्रेजी भाषामा पकड, विश्व साहित्यको अध्ययन र गीत–संगीतमा धरान–धनकुटा अग्रणी रह्यो। यही माटोले जन्माएको सिर्जनशिल छवि भएका लेखक, अनुवादक बसन्त थापाले देशसञ्चार चौतारीमा धरानदेखि काठमाडौँसम्म आएर गरेको संघर्ष–गाथा सुनाए।

‘धरान नभएको भए बसन्त थापा हुँदैनथ्यो भन्ने मलाई लाग्छ। आज तपाईंहरूसँग यसरी नजिकिएर वार्ता गर्न पनि पाउँदिनथिएँ। किनकि धरान त्यो बेला नै आधुनिक चेत बोकेको ठाउँ थियो,’ उनले भने।

तीसकाे दशकमा धरान लाहुरे भर्ती केन्द्रको ‘जंक्सन’ जस्तै थियो। गल्लावालहरू लाहुरे खोज्दै पुग्थे धरान। भारत जान होस् या लाहुरे हुन होस्, पहाडबाट तन्नेरीहरू धरान नै झर्थे। ब्रिटिश लाहुरे हुने सपना बोकेर धरान पुगेका थुप्रै–थुप्रै युवाहरू मध्ये बसन्तलाई पनि ‘लाहुरे जा’ भन्नेहरू थिए। उनका कयौँ साथी लाहुरे हुने नै सपना देख्थे। लाहुरे हुन तयार भएकाहरूको ठाँटबाँठ देखेर बसन्त आश्चर्य पर्थे। तर वसन्तले लाहुरे हुने रहर गरेनन्। ‘मलाई लाहुरे मोह खासै रहेन। फेरि म त्यो बेला साह्रै कमजोर थिएँ। मलाई त तान्यो अंग्रेजी फिल्म, अंग्रेजी गीत र साहित्यले,’ बसन्तले भने।

भाषा /साहित्यका कुरा

बसन्त धनकुटामा जन्मिए तर धरानको घामपानी र माटोमा हुर्किए। १० वर्षकै उमेरमा उनी धरानको लक्ष्मीचोकमा हुने कविता कार्यक्रममा पुग्थे। पुस्तकालयमा बसेर नेपाली, हिन्दी उपन्यास र कमिक्स पढ्थे। भन्छन्, ‘त्यो बेलाको धरान निकै आधुनिक थियो। राम्रा स्कुल–कलेज थिए। लाइब्रेरी थियाे। हिन्दी फिल्म भन्दा अंग्रेजी फिल्मको माहोल थियो। ब्रिटिशहरूसँग संगत थियो। त्यसैले साहित्य संगीतमा धरान निकै फष्टाएको थियो।’

बसन्तले पुस्ताकलयको रजिष्टरमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले गरेको हस्ताक्षर अझै बिर्सिएका छैनन्। उनी भन्छन्, ‘पढ्दै जाने क्रममा नेपाली हिन्दी र अंग्रेजी साहित्य पढियाे। अंग्रेजी साहित्य र फिल्मको स्वाद लिएर हुर्किएँ। धरानमा लण्डनबाट रंगिन पत्रिकाहरू आउँथे। बुझे पनि नबुझे पनि घन्टौँसम्म पढिरहेका हुन्थ्यौँ।’

धरानमा बसेर हिन्दी, अंग्रेजी साहित्य पढ्न पाउँदैनथिए भने आजको दिनमा उम्दा अनुवादक र भाषाका जानकार हुँदैनथे उनी। कुनै बेला हिमाल बुक्समा रहेर पत्रिकाको सम्पादककाे जिम्मेवारी समाले र थुप्रै अंग्रेजी पुस्तकलाई अनुवाद गरे। भूगर्वविद् टोनी हेगन लिखित पुस्तकहरू पनि अनुवाद गरेका छन् उनले।

नेपाली साहित्यको अनुवाद पर्याप्त संख्यामा हुन नसकेको बताउँछन् उनी। एकाध पुस्तक अनुवाद गर्दैमा नेपाली साहित्य विश्वस्तरमा पुगिहाल्छ भन्ने भ्रमबाट मुक्त हुन आवश्यक ठान्छन् उनी। पछिल्लो समय अनुवादको नाममा भाषामा ल्याएको तोडमोडले नेपाली भाषा थप जोखिममा परेको बताउँछन्। उनी भन्छन्, ‘राम्रो अनुवादक जन्माउनका लागि तालिम र लगानी नै चाहिन्छ। तर निजी क्षेत्रले त्यो गर्दैन, सरकारलाई चासो छैन।’

अनुवादक समाजको पूर्व अध्यक्षसमेत रहेका बसन्त लेखनभन्दा अनुवादलाई निकै जटिल कर्म मान्छन्। अनुवाद गर्दा भाषान्तरमात्र नभई भाव र विचारको पनि अनुवाद गरिनुपर्नेमा जोड दिनुपर्ने बताउँछन्।

पूर्व पत्रकारसमेत रहेका बसन्त भाषा विगार्ने काममा मिडियाको पनि हात रहेको गुनासो गर्छन्। ‘भाषामा भएको भताभुङ्गको जिम्मावार लिनु पर्नेमा मिडिया पनि हो। मिडियाले आत्मआलोचना गर्ने समय आइसक्यो,’ उनले भने, ‘आगलागी र आगजनीमा के अन्तर हुन्छ मिडियालाई थाहा छैन। कुनै ठाउँमा दुर्घटना हुन्छ, मान्छे मर्छ अनि मिडियाले के लेख्छ ‘त्यो मृतकको परिचय खुलेन।’ अरे भइया ! सनाखत भन्ने शब्द छ ऊसँग। सनाखत हुन सकेन लेख्ने होला नि।’

धनकुटा जन्मिएर धरानमा स्कुल र कलेजका दिनमा पुस्तकमा घोरिँदैन थिए भने नेपाली भाषामाथि बहस गर्न सक्दिनथे भन्ने बसन्त पछिल्लो समय सम्पादनको क्रममा पनि धेरै तोडमोड गरिएको बताउँछन्।

जीवनको टर्निङ पोइन्ट कलेजका दिनहरू सम्झिने बसन्त पुर्व सम्पादक पनि हुन्। पुस्तकको संगतमा नपरेको भए भाषाप्रति यति प्रेम हुँदैनथ्यो भन्ने बसन्त भाषामा गम्भीर छन्। भाषामा बहस गर्न रूचाउँछन्। भाषाविद्हरूसँग छलफल गर्न रूचाउँछन्।

भाषा बचाउन खोजेका ठूला—ठूला आयोग र प्रतिष्ठान नै भाषालाई बिगार्ने मेसोमा देख्छन् उनी। भन्छन्, ‘भाषाले हामीलाई जोडिरहन्छ। भाषा हुँदैन भने नेपाल रहँदैन। हाम्रो सामुहिक पहिचान केही छ भने त्यो भाषा हो नेपालीका रूपमा यही भाषाले हामीलाई जिवित बनाउँछ।’

फिल्मका कुरा

बसन्त फिल्म हेर्थे। खुब हेर्थे। हलिउड बलिउड फिल्म हेर्थे। अंग्रेजी राम्रो भएकै हलिउड फिल्म हेर्ने गरेकाले अहिले पनि भन्छन्। फिल्मकै लतमा नपरेका भए ‘काठमाडौँ अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिबल’ जन्मिन्थेन। साथीहरूको लहडमा खुलेको ‘किम्फ’ अहिले सिनेमा विद्यार्थीका लागि अवसर बनेको छ। नेपाल र नेपाली कथा चिनाउने प्लेटफर्मका रुपमा स्थापित किम्फबाट बसन्तले काठमाडौँलाई फिल्मको सहर बनाए। काठमाडौँलाई फिल्म सिटी बनाउने कोसिस उनको अहिले पनि जारी छ। भन्छन्, ‘सिनेमाको सहर एक्लैको चाहनाले हुने कुरा होइन। तर सम्भव पनि छ।’

सन् २००० बाट किम्फ सुरु भएको थियो। यो २५ वर्ष यात्रामा किम्फले सिनेमा मार्फत नेपाललाई विश्वमा चिनायो भन्दा फरक नपर्ला। भन्छन्, ‘आर्थिक रूपमा केही गर्न नसके पनि हामीले युवा दर्शक र फिल्ममेकर भेट्यौँ। हलमा देखाउन नसकिने फिल्महरू हामी किम्फमा हेर्न पाउँछौँ।’

थापाका अनुसार, जसरी लेखनले समाजमा प्रभाव पार्छ त्यसरी नै फिल्मले पनि प्रभाव पारेको हुन्छ। उनको विचारमा फिल्म पनि समाज परिर्वतनको लागि प्रभावकारी र सशक्त माध्यम हो।

विद्यार्थी राजनीतिका कुरा

आजको राजनीतिलाई लिएर दिक्दारिने को छैन्? तर बसन्तलाई राजनीति कुरा गर्नु छैन। सकेसम्म राजनीतिका बारेमा कुरा गर्न नपरे हुन्थ्याे जस्ताे गर्छन्। तर उनले विद्यार्थीकालमा राजनीति गरे।

उनका पिताजी सरकारी कर्मचारी भए पनि कम्युनिष्ट पार्टीका कार्यकर्ता थिए। स्वभाविक रूपमा उनी पनि कम्युनिष्ट पार्टीमा आकर्षित भए। अनेरास्ववियुमा आबद्ध भए। त्यतिबेला अनेरास्ववियुले प्रजातान्त्रिक निकट विद्यार्थी समूहलाई बुद्धि नभएको भनेर जिस्क्याउँदै ‘गोबर’ भनेको उनले आज पनि विर्सिएका छैनन्।

युनियनका कारण दुई विद्यार्थी समूहबीच सधैँ झैँझगडा भइरहने अनुभव पनि उनले सुनाए, ‘एक दिन त झगडा यति चर्कियो कि धरान बन्द नै गर्नुपर्‍यो। प्रशासनले नेविसंघलाई सहयोग गरेको र आफूहरूलाई हेला गरेको आरोपमा धरान बन्द भयो। झगडाले उग्र रूप लिँदा धरान नै बन्द भयो। यसको अगुवाई गर्ने मध्ये म पनि थिएँ। पक्राउ परेँ।’

राजनीतिकै कारण जेल गए। जेलमा लगाएको सत्यनारायण पूजा पनि देखे। भन्छन्, ‘जेल गज्जबको थियो। दिनभरि घुमेर साँझ जेलघर आए पुग्थ्यो।’

‘हुन त म कम्युनिस्ट विचारधारामा हुर्किएको हुँ। जसले भाग्य मान्दैन तर म भन्छु, भाग्यकै कारण म यहाँ छु,’उनले भने, ‘तर अहिलेको राजनीतिप्रति मलाई खासै चासो छैन। र पनि तपाईं हामीलाई राजनीतिले छोड्दो रहेनछ।’

गणितमा कमजोर हुँ भन्ने वसन्तले कुरा गर्न कहिल्यै कमजोर भएनन्। साहित्य, सिनेमा र गीतमा कहिल्यै कमजोर भएनन्। ३० सालतिरै गायक दीप श्रेष्ठले उनका गीत गाए। गायक पनि हुन खोजे तर निरन्तरता दिएनन्। डोरबहादुर विष्टमाथि बनेको डकुमेन्ट्रीमा अभिनय गरे। तर फिल्मलाई पनि निरन्तरता दिएननन्। किम्फमार्फत विश्वलाई जाेड्ने काेसिस गरे। काठमाडौँमा स्थापित हुन अनेक दुःख गरे । होटल खोले, ट्रभल कम्पनी । जीवनमा उनले धरानदेखि काठमाडौँमा आई गरेको ५० वर्षे संघर्ष–गाथामा भाषा, साहित्य र अनुवाद छुटाएनन्।

उमेरले सात दशक कटे उनी। अझै अध्ययन तथा अनुवाद कर्ममा सक्रिय छन्। कसैले लेखक अनुवादकको रूपमा चिनिदिएकोमा अर्थपूर्ण रहने बताउँछन्।

आत्मविश्वासका साथ आफ्नो तर्क राख्न रूचाउने बसन्त मानवीय संवेदनालाई आफ्नो कुराकानीमा जोडेर बोल्छन्। स्पष्ट र नढाँटी बोल्न रूचाउँछन्। देशसञ्चार चौतारीमा कुराकानी सुरु गर्नु अघि उनले भनेका थिए, ‘म सत्य बोल्ने मान्छे हुँ। त्यसैले धेरै छुच्चो पनि भन्लान्। मलाई म सुहाउँदो कुरा गरिदिनु होला।’

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?