अ
+
अ
अ
-
देशसञ्चार AI सारांश
- उपन्यास ‘देवयानी’को विषयवस्तु प्रेम र त्रिकोणात्मक सम्बन्धमा केन्द्रीत भएपनि यसले सामाजिक र कानूनी मूल्यलाई पनि उजागर गरेको छ।
- प्रमुख पात्र आदित्य, उनकी पत्नी माधवी र आर्किटेक देवयानीबीचको जटिल सम्बन्ध र भावना उपन्यासको मुख्य द्वन्द्व हो।
- उपन्यासमा सशक्त महिला पात्रहरूको चित्रण, समकालीन विषयवस्तु र सुन्दर संवादहरूले पाठकलाई आकर्षित राख्छ।
चर्चित कवि तथा उपन्यासकार बसन्त चौधरीको पहिलो आख्यानात्मक कृतिको रूपमा ‘देवयानी’ उपन्यास सार्वजनिक भएको छ। प्रेम कविताका माहिर कारिन्दा चौधरीको उपन्यासको केन्द्रमा पनि प्रेम नै छ। र, छ प्रेमको अद्भूत परिभाषा। तर उपन्यासमा सशक्त, उदात्त र ‘स्व’को चेतना भएकी महिलाहरूको बेजोड कथा पनि छ।
छोटा कथाहरू लेखिरहने चौधरीको उपन्यासको आयाम र ओज भने फराकिलो छ। यसमा सहायक पात्रहरूका पनि सशक्त र रोमाञ्चक कथाहरू समाविष्ट छन् जसले उपन्यासकारको कल्पनाको विस्तारलाई आकार दिएको छ।
बसन्त चौधरीका निबन्ध, गीत, कविता र दर्शन गरी करिब दुई दर्जन कृति प्रकाशित छन् । त्रिकोणात्मक अथवा विवाहेत्तर सम्बन्धमा आधारित ‘देवयानी’ साहित्यकार चौधरीको पहिलो उपन्यास हो।
उपन्यास ‘देवयानी’ मुख्य रूपमा तीन पात्रको सेरोफेरोमा घुमेको छ। प्रमुख पात्र हुन् आदित्य, यो उनकै कथा हो। रियल स्टेटका ठूला कारोबारी आदित्यको टाउन प्लानिङको सिलसिलामा देशकै चर्चित युवा आर्किटेक देवयानीसँग भेट हुन्छ । देवयानीको काम गराइ र उनको व्यक्तित्वबाट प्रभावित आदित्य उनीप्रति आकर्षित हुन्छन्। उनको आकर्षण कतिबेला स्वतः प्रेममा परिणत हुन्छ उनले पनि थाहा पाउँदैनन्।
आदित्यले फरक ढंगले गर्ने कामको कारण निकै ख्याति कमाएको हुन्छ । ठूला भवनहरू र टाउन प्लानिङको कलात्मक डिजाइन, जग्गा–जमीन तथा हावा–पानीलाई क्षति नपुग्ने गरी गरिने कामको कारण उनको अग्लो छवि बनेको हुन्छ। थुप्रैका रोलमोडल हुन्छन् उनी । देवयानी पहिलेदेखि नै आदित्यसँग प्रभावित हुन्छिन् भने आदित्यसँग एउटै प्रोजेक्टमा महिनौँ काम गर्दा दुबैले एकअर्कालाई मन पराउन थाल्छन्। यद्यपि यी दुबैको उमेरमा र विचारमा अन्तर छ।
उपन्यासमा प्रेमको एउटा सुन्दर रूप प्रस्तुत गरिएको छ, जसमा तीन पात्रको आ–आफ्नै प्रेम गराइ, भोगाइ र प्रेमको परिभाषा छ। प्रेम शास्वत हो र यो नियोजित रूपमा गरिन्न, प्रेम त स्वतः हुनजान्छ। यसमा कसैको वस हुँदैन। यही कुरालाई पात्रानुसार उपयुक्त चित्रण गरिएको छ। यद्यपि उपन्यासले ‘एक्ट्रा मेरिटल अफेयर’ अर्थात विवाहेत्तर सम्बन्धलाई कतैबाट पनि प्रोत्साहित गर्दैन तर पनि यसमा मुख्य द्वन्द्व नै विवाहेत्तर सम्बन्ध रहेको छ। तर त्यसमा समाजिक, मानवीय तथा कानूनी मूल्यको समेत वकालत गर्छ। उपन्यासमा दर्शनको पनि उत्तिकै भूमिका छ।
उपन्यासमा आजको समाजको चित्रण छैन। यसले आजभन्दा झण्डै चालीस दशक अगाडिको समाज र समयको कथा भन्छ। तत्कालीन समाजको कथामा पनि उपन्यासकारले महिलाहरूलाई अति आधुनिक र आफ्नो खुट्टामा उभिएको एक स्वाबलम्बी पात्रको रूपमा उभ्याउनु भएको छ। उपन्यासका पुरुषभन्दा पनि महिला पात्रहरूको सबल चरित्र चित्रण गरिएको छ। फरक दृष्टिकोण र धारणा राख्ने महिलाहरूको सफल चरित्र चित्रण यस उपन्यासको अर्को महत्वपूर्ण पक्ष हो। लेखन शैली र भाषाको मिठासले पाठकलाई तानिरहन्छ।
उपन्यासको प्रमुख द्वन्द्व भनेको आदित्य विवाहित हुनु हो। देवयनीले जब आदित्यलाई मन पराउन थाल्छिन् अनि उनको बारेमा थाहा पाउँछिन्। तर, आदित्यलाई छोड्न सक्दिनन्। आदित्यको मायामा उनी चुर्लुम्म डुबेकी हुन्छिन्। उनको बारेमा सबै थाहा हुँदाहुँदै पनि उनी सम्बन्धलाई अगाडि बढाउँछिन्। आदित्यले धेरै पटक आफ्नो बिहेको बारेमा बताउन खोज्छन् तर देवयानीले उनलाई ‘त्यस्तो केही पनि नभन जसले मेरो मुटुमा चोट परोस्’ भन्दै रोकिरहेकी हुन्छिन्।
यता आदित्यकी पत्नी माधवीले भने यी दुबैको प्रेम सम्बन्धको बारेमा थाहा पाउँछिन् र आदित्यसँग पूरै किनारा गर्छिन्। यहीँबाट तीनै जनाको सम्बन्धमा फाटो आउँछ। आदित्य न माधवीसँग टाढिन सक्छन्, न त देवयानीलाई छोड्न चाहन्छन्।
माधवी उपन्यासकी सशक्त पात्र हुन्। उनी भित्रभित्रै जति नै दुखे पनिआदित्यलाई एक शब्द भन्दिनन् र उनलई पूरै नजरअन्दाज गरिदिन्छिन् जसले आदित्यलाई भित्रैदेखि कमजोर बनाउँछ। उनले पतिलाई स्वतन्त्र छोडिदिए पनिआदित्य स्वयम् भने बालबच्चाको कारण र माधवीप्रतिको अतिरिक्त मोहको कारण उनलाई छोड्न चाहँदैनन्। माधवीले केही नबोलेरै पनि विद्रोह गरेकी छिन्। उनको विद्रोह मात्र होइन, प्रेम गराइ पनि मौनतामा देखिन्छ, जसको छनक पहिलो अध्यायमा नै पाउन सकिन्छ। उपन्यासमा आदित्य, माधवी र देवयानीआआफ्नै शर्तमा अडिग छन्।
उपन्यासमा माधवी, रेणु र विक्रान्तलाई महत्वपूर्ण पात्रको रूपमा चित्रित गरिएको छ। यी तीन पात्रको उपस्थितिले कथालाई सबल बनाएको छ। प्रमुख सहायक पात्रमध्येकी रेणु सशक्त, स्वतन्त्र र विदुषी पात्र हुन्। उनीआदित्यकी सबभन्दा मिल्ने साथी जोसँगको सम्बन्ध नै पनि एउटा औपन्यासिक विषयवस्तु हो।
कथानकमा अर्को मोड आउँछ, जतिबेला देवयानीको जीवनमा अनायास विक्रान्तको प्रवेश हुन्छ। सिंगापुरमा विशेष तालिमको लागि गएकी देवयानीसँग विक्रान्तको भेट हुन्छ। विक्रान्तले देवयानीलाई मन पराउँछन् र विस्तारै देवयानी पनि उनीप्रति आकर्षित हुँदै जान्छिन्।
देवयानीको मनमा कताकता विवाहितआदित्यसँग प्रेम गरेर माधवीको घर बिगारेकामाअपराधबोध हुन्छ र उनले त्यसकारण पनि विक्रान्तलाई आफ्नो जीवनमाप्र वेश दिन्छिन्। आदित्यले बिहे गरेर छुट्टै बस्न सकिन्छ भनेर देवयानीलाई धेरै अनुनय गर्छन् तर देवयानीले विक्रान्तसँग बिहे गर्ने अन्तिम निर्णय लिएपछि विस्तारै आदित्यले महसुस गर्छन्- देवयानीको लागि उनको जिद्दी सही होइन । र, उनले लिएको निर्णय ठीक रहेछ । यद्यपि उनी कहिल्यै देवयानीलाई बिर्सन सक्दैनन् । देवायनी उनको स्मृतिमा सधैं विद्यमान हुन्छिन्।
उपन्यासमा माधवी, रेणु र विक्रान्तलाई महत्वपूर्ण पात्रको रूपमा चित्रित गरिएको छ। यी तीन पात्रको उपस्थितिले कथालाई सबल बनाएको छ। प्रमुख सहायक पात्रमध्येकी रेणु सशक्त, स्वतन्त्र र विदुषी पात्र हुन्। उनीआदित्यकी सबभन्दा मिल्ने साथी जोसँगको सम्बन्ध नै पनि एउटा औपन्यासिक विषयवस्तु हो। यसका साथै अर्पिता, ईषिता, अदितिलगायतका सहायक पात्र र तिनका सह–कथाहरुले उपन्यासलाई रोचक बनाएको छ।
उपन्यासका प्रमुख पात्र आदित्यलाई एउटा प्रतिष्ठित उद्योगपतिको रूपमा चित्रित गरिएको छ जो एक उम्दा कवि पनि हुन्। उनी प्रभासको नाममा कवित्व गर्छन्। यसो उपन्यास पढिरहँदाकतै यो उपन्यासकार बसन्त चौधरीको आफ्नै जीवनकथा त होइन? भन्ने प्रश्न बारम्बार पाठकको मनमा उठिरहन्छ। यद्यपि यस विषयमा उपन्यासकारले धेरै ठाउँमा भनिसकेका छन्, ‘लेखकको जीवनानुभवसँग उनको रचनाको केही अंश मेल खानु स्वभाविक हो तर यो उपन्यास भने मेरो जीवनकथा होइन। यो कसैको जीवनसँग मेल खाएमा संयोगमात्र हुनेछ।’ यद्यपि उपन्यासकारको व्यक्तित्वसँग मेल खाने गरी उपन्यासमा आएको प्रायः सन्दर्भअनुसार व्यापारिक घराना र साहित्यिक परिदृश्यतथा घटनाहरू वास्तविक लाग्छन्।
नेपाली साहित्यको बजारलाई हेर्ने हो भने उपन्यासमा यतिबेला भूइँमान्छेको कथा अथवा सीमान्तकृतको कथ–व्यथा भन्ने ट्रेन्ड चलेको छ । तर देवयानी उपन्यासले भने एउटा सम्भ्रान्त, सुशिक्षित र आदर्श परिवार–समाजभित्रको प्रेम, द्वन्द्व, बाध्यता र समर्पणको कथा भन्छ । र भन्छ आदर्शको पछ्यौरी ओढेर पाइलपाइलामाआफ्नो रहर र स्वतन्त्रताको तिलाञ्जली दिनुपर्ने बाध्यात्मकअवस्थाको कथा पनि। उपन्यासले, सबै कुराले भरिपूर्ण उँचो महलमा बस्नेको कथा पनि अपूर्ण छ भन्ने संकेत गर्छ । केन्द्रीय पात्र आदित्य एक यस्तै पात्र हुन् जसको जीवनमा एकखालको अपूर्णता छ।
पात्र अनुसारको सुन्दर संवादहरूले पाठकलाई अनेक भाव प्रदान गर्न सफल छ । उपन्यास पठनीय छ। उपन्यासकार चौधरीको सिर्जनाकर्मको ५०औं वर्षको उपलक्ष्यमा सांग्रिला बुक्सले ‘बसन्त चौधरी सिर्जनाका ५० वर्ष, २०३१–२०८१’ मा देवयानी उपन्यास प्रकाशन गरेको हो ।