- प्रगतिशील लोकतान्त्रिक पार्टीले पर्यटन, कृषि, र आइटी क्षेत्रबाट देशलाई समृद्ध बनाउने योजना सार्वजनिक गरेको छ।
- पार्टीले तत्काल पाँच ठाउँमा कृषि प्रशोधन केन्द्र स्थापना गर्ने र लामो अवधिमा १५ ठाउँ पुर्याउने बताएको छ।
- पार्टीले कृषकलाई चामल खरिदमा उच्च लाभ दिने र रोजगार सृजना गर्दै कृषि क्षेत्रमा निवेश बढाउने देखिएको छ।
काठमाडौँ– देशको समृद्धि कसरी हुन्छ? नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीलाई लाग्छ पर्यटन, कृषि र आइटी क्षेत्रबाट हुन्छ।
हवाई उड्ययनमा निजी क्षेत्रबाट बलियो उपस्थिति जनाएको बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतको संलग्नतामा २३ र २४ भदौको जेनजी आन्दोलनपछि गतिशील पार्टी गठन भएको थियो।
निर्वाचन आयोगले मंगलबार (कात्तिक २४ गते) मात्र पार्टी दर्ताको प्रमाणपत्र दिएको छ। पार्टीले निर्वाचन आयोगबाट मान्यता पाउनुअघि नै देश समृद्ध कसरी हुन्छ? पार्टीको अबको योजना के छ? भन्नेमा बस्नेतसहित पार्टी नेतृत्व देश दौडाहामा छ।
अघिल्लो हप्ता भैरहवामा पर्यटन क्षेत्रबाट कसरी देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने अवधारणा सार्वजनिक गरेको प्रगतिशील पार्टीले आज बुधबार कृषि क्रान्तिबाट देशको समृद्ध कसरी हुन्छ भन्ने अवधारणा सार्वजनिक गरेको छ।
यसै पनि पार्टीका पदाधिकारी चुनाव नलड्ने, निर्वाचनमा २० प्रतिशत (केन्द्रमा ३ प्रतिशत थ्रेस होल्ड नकटाए समानुपातिक मत नपाउने व्यवस्था छ अहिले) मत नपाए सरकारमा सामेल नहुने जस्ता प्रावधानसहित अन्य पार्टी भन्दा नयाँ देखिन खोजेको प्रगतिशीलले कृषिलाई देशको समृद्धको महत्वपूर्ण आधार मानेको छ।
हुन त पार्टीका संघीय सदस्य बस्नेत पर्यटनसँगै कृषि क्षेत्रमा आवद्ध छन्। उनले मोरङको बेलवारीमा आरजु राइस मिल सञ्चालन गरी चामल धान खरिदबिक्री गर्दै आइरहेका छन्।
यस आधारमा पनि उनी कृषिबाट देशलाई समृद्ध गर्न सकिने बताउँछन्। प्रगतिशील पार्टीका अध्यक्ष समाजशास्त्री दिनेश प्रसाईं रहे पनि बुधबार अध्यक्ष भन्दा बढी सक्रिए देखिएका उनी आरजु राइस मिलजस्ता अन्य कृषि प्रशोधन केन्द्र सञ्चालन गरेर कृषकलाई थप सहुलियत दिन सकिने बताउँछन्।
हाल आरजु राइस मिलले कृषकका लागि सरकारले खरिद गर्ने भन्दा बढी मूल्य दिएर धान खरिद गरिरहेको र यसैगरी अन्य धान उत्पादन हुने क्षेत्रमा पनि कृषि प्रशोधन केन्द्र सञ्चालन गरेर धेरैभन्दा धेरैलाई कृषि कर्ममा आकर्षित गर्न सकिने प्रगतिशी पार्टीको बुझाइ छ।
बस्नेत भन्छन्– ‘वडा अध्यक्षको पहलमा वडा अनि पालिकाके सम्पूर्ण कृषि योग्य जमिनमा एकै प्रकारको फसल न्यूनतम समर्थन मूल्य तोकी अधिकतम उत्पादन गराउनुपर्दछ। तर फसलको न्यूनतम समर्थन मूल्य तोक्न प्रारम्भिक उद्योग स्थापना नगरी सम्भव छैन।’
उनले आफूहरूले भनेको जस्तो सरकार बन्यो भने मिल स्थापना गर्न जमिनको स्वामित्वको आधारमा ६ वर्षे ऋण व्यवस्थापन गर्ने बताए। ‘जस्तै ३० करोडको मिलको कच्चा पदार्थ एक हजार विगाहबाट उत्पादन हुन्छ भने प्रति विगाह ३ लाख रुपैयाँको ऋण हुनेछ’, बस्नेतले भने ‘यो सावा ६ वर्षको कृषि र मिलको आफ्नो भागको आम्दानीबाट चुक्ता गरिनेछ र व्याज हाम्रो सरकारले व्यहोर्ने छ।’

पार्टीका अर्का संघीय सदस्य डा. रामचन्द्र खनालले कृषिमा पार्टीको योजनाबारे जानकारी गराउँदै तत्काल पाँच स्थानमा कृषि प्रशोधन केन्द्र स्थापना गर्ने बताए। उनले कोशी प्रदेशमा २ वटा, मधेश, बागमति र लुम्बिनीमा एक-एक वटा कृषि प्रशोधन केन्द्र स्थापना गरेर कृषकले उत्पादन गरेका खाद्यबाली खरिद गर्ने योजना सुनाए।
दीर्घकालीन रुपमा देशभर १५ स्थानमा यस्ता प्रशोधन केन्द्र खोल्न सकियो भने रोजगारी पनि सृजना हुने र कृषिलाई थप आयआर्जनमा जोड्न सकिने खनालले बताए।
यस्ता कृषि परियोजनाबाट प्रति बिघा जमिनबाट वार्षिक सरदर २ लाखसम्म कृषकले आम्दानी गर्न सक्ने प्रगतिशील पार्टीको प्रक्षेपण छ। यस्ता परियोजना सरकारी स्तरबाट स्थापना हुन सक्यो बने जसरी हाल कृषिमा बिचौलियाको हालिमुहाली छ त्यसको अन्त्य हुनेसमेत उनीहरूको बुझाइ छ।
कृषि परियोजना सफल बनाउन प्राथमिकता कृषकलाई दिनुपर्ने, निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने, स्थानीय सरकारको सहकार्य र सफलताको मोडलबाट सिक्नुपर्ने प्रगतिशील पार्टीले अवधारणा बनाएको छ।
हाल किसानले अन्तिम मूल्यको सानो अंशमात्र पाउने गरेको, उद्यमशील युवालाई कृषितर्फ आकर्षित गर्न नसकिएको, खाद्य परनिर्भरता बढेको औँल्याउँदै यसको अन्त्य प्रगतिशील पार्टीले गर्ने डा. खनालले बताए।
झट्ट हेर्दा कृषि विकासमा पार्टीको अवधारणा भन्दा पनि एउटा कम्पनीले ल्याउने अवधारण जस्तो देखिए पनि यसभित्र बृहत्तर योजनाहरू रहेको उनको दाबी छ।
‘यो अवधारणा छोटो भए पनि यसभित्र बृहत्तर योजनाहरू रहेका छन्’, उनले भने।
बुद्ध एयरका सञ्चालकसमेत रहेका बस्नेतले राजनीतिलाई व्यवसायिकरण गर्ने सोचका साथ आफ्नो पार्टी आएको बताए। ‘हामी विशुद्ध सेवा गर्न आएको हो। राजनीतिलाई व्यसायिकरण गर्न आएको हो’, उनले भने ‘देशमा रोजगारी सृजना नगरी समृद्धको ढोका खुल्दैन।’
पार्टीमा पर्यटन क्षेत्रका व्यक्तिदेखि कलाक्षेत्रका व्यक्तिहरू पनि आवद्ध छन्। नायिका निसा अधिकारीसमेत पार्टीको सदस्य छिन्।