एकपटक आउनुस् स्वर्गद्वारी: धर्म, प्रकृति र आत्मशान्तिको संगम

एकपटक आउनुस् स्वर्गद्वारी: धर्म, प्रकृति र आत्मशान्तिको संगम
+
-

“तपाईँको घर कता?”- कतै जाँदा प्राय: आउने प्रश्न। जवाफ: “प्युठान।”
“हो र! अनि स्वर्गद्वारी नजिकै हो? त्यहाँ गएपछि त स्वर्ग पुगिन्छ रे है?”
ला परेन त फसाद! एकछिन गम खाएपछि जवाफ- “हजुर, धार्मिक विश्वास छ।”

कसरी पुग्ने?
पूर्व, पश्चिम र मध्यपश्चिमबाट स्वर्गद्वारी पुग्नका लागि प्युठान या रोल्पाको बस चढेर माण्डबी गाउँपालिकामा पर्ने चकचके भन्ने स्थानमा ओर्लिनु पर्छ। त्यहाँबाट करिब १८ किलोमिटर यात्रा गरेपछि भिङ्ग्री आउँछ। यदि रोल्पाको गाडी चढेको हो भने सिधै भिङ्ग्री नै पुगिन्छ। भिङ्ग्रीबाट करिब १४ किलोमिटर अटोमा यात्रा गरेपछि स्वर्गद्वारी पुगिन्छ। उकालो-ओरालो र घुम्तीहरू धेरै भएकाले ठूला गाडी र उच्च गतिलाई प्राथमिकता नदिनु लाभदायी हुन्छ। पैदल यात्रा गर्न चाहनेहरूले करिब तीन-चार घण्टा खर्च गरी मन्दिरमा पुग्न सक्छन्। निजी सवारी साधन भएकाहरूका लागि सजिलो छ।

भूगोल र प्रकृति
स्वर्गद्वारी प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका- २ मा पर्दछ। धार्मिक मात्र नभई प्राकृतिक र सांस्कृतिक दृष्टिले पनि अद्वितीय स्थल हो स्वर्गद्वारी। भिङ्ग्री बजारबाट करिब १४ किलोमिटर उचाइमा रहेको यो स्थानबाट मनोरम दृश्यहरूअवलोकन गर्न सकिन्छ। छिमेकी जिल्ला रोल्पा, बागलुङ र कास्कीका हिमाल, अनि दाङ उपत्यकाका रमणीय दृश्यहरूले यहाँको सौन्दर्यलाई झनै बढवा दिएका छन्।

मन्दिर परिसर र आसपासको मनोरम प्राकृतिक दृश्य।

सूर्योदयसँगै चम्किने हिमालका शिखर, ढकमक्क फूल्ने लालीगुराँस, जहिल्यै हरियाली देखिने साग, चरन गर्ने गाईहरू र बटुकहरूको लस्करले स्वर्गद्वारीलाई प्राकृतिक रंगले सजाएका छन्। यहाँबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु लगायतका हिमालहरू अवलोकन गर्न सकिन्छ। साँझपख दियो बालेपछि मन्दिर वरिपरि घण्टीको आवाज र मन्त्रपाठको ध्वनिले मनमा शान्ति ल्याउँछ।

दर्शन गर्दै भक्तजन ।

धार्मिक विश्वास
रोल्पाको रुन्टीबाट आएका एक जना तपस्वीले तपस्या गरेपछि तपोभूमिका रुपमा परिचित रहेको यस भूमि यतिबेला प्रमुख धार्मिक तीर्थस्थल स्वर्गद्वारीका रुपमा परिचित छ। तपस्वी साधु नारायण गिरीले लामो समय  तपस्या गरेर जंगल रहेको सो स्थानलाई आफ्नो पवित्र तपोभूमिका बनाएका थिए भन्ने जनविश्वास छ।

स्वर्गद्वारीको प्रमुख आकर्षकको रुपमा रहेको अखण्ड यज्ञ पनि तपस्वीले वि.सं. १९५२ मा  वैदिक मन्त्रोचारण गरेर अग्नी उत्पन्न गरेको भन्ने जनविश्वास रहेको अनुसन्धानकर्ता जीवराज भट्टराईद्वारा सम्पादित पुस्तक प्युठानका सम्पदामा उल्लेख छ। जुन यज्ञ हालसम्म पनि बलिरहेको छ। जसको टीका-प्रसाद ग्रहण गर्नाले भूत-प्रेत नलाग्ने तथा शुभ हुने जनविश्वास रहिआएको छ।

अखण्ड होम रहेको स्वर्गद्वारी मन्दिर।

धूनीमा धूप बाल्दा मनका अन्धकार पग्लिन्छन् भन्ने विश्वास छ। महाप्रभुले विक्रम संवत् १९५२ मा स्थापना गरेको आश्रम र अखण्ड महायज्ञको धूनी शताब्दीभन्दा बढी समयदेखि निरन्तर बलिरहेको छ। तीर्थाटनका क्रममा गुफा र पाण्डवहरूले स्वर्ग जाँदा प्रयोग गरेको बाटो हेर्नाले पुण्य प्राप्त हुने र स्वर्गको ढोका खुल्ने धार्मिक विश्वास छ।

‘स्वर्गद्वारी’को अर्थ नै ‘स्वर्गको ढोका’ हो। यहाँ पुग्नु भनेको स्वर्ग जाने द्वारमा पुग्नु हो भन्ने विश्वास छ। देश-विदेशबाट मानिसहरू आफ्ना मृतक आफन्तका अस्थि विसर्जन र श्राद्ध गर्न यहीँ आउँछन्।

प्रत्येक वर्ष वैशाख पूर्णिमामा यहाँ मेला लाग्छ। ती दिन हजारौँ भक्तजन आउने भएकाले खानपिन र बासको व्यवस्थापन चुनौतीपूर्ण हुन्छ।

पाँच पाण्डवले यही स्थानमा यज्ञ सम्पन्न गरेको र यही बाटो हुँदै स्वर्गको यात्रा गरेको विश्वासका कारण यस ठाउँलाई स्वर्गद्वारी नाम दिइएको किम्बदन्ती प्रचलित छ। धार्मिक विश्वासअनुसार, पशुपतिनाथ मन्दिर पुगेपछि यदि स्वर्गद्वारी पुगिएन भने तीर्थ पूरा हुँदैन।

मन्दिर परिसरबाट १५ मिनेटको पैदल दूरीमा महाप्रभु गुफा अवस्थित छ। तीर्थाटनका क्रममा भक्तजनले गुफा र पाण्डवले प्रयोग गरेको मार्ग अवलोकन गरी पुण्य कमाउने विश्वास राख्छन्।

ऐतिहासिक महत्त्व
स्वर्गद्वारी मन्दिर करिब १३० वर्ष पुरानो हो। यहाँ अखण्ड धूनी, वेद पाठ, बली बिना पूजा, हवन एवं विशेष धार्मिक अनुष्ठानहरू निरन्तर हुँदै आएका छन्। मन्दिर परिसरमा विभिन्न मूर्ति पनि रहेका छन्।

महाप्रभुले वि.सं. १९५२ मा  करिब १६ सय रोपनी जग्गामा आश्रम स्थापना गर्दै धार्मिक, सांस्कृतिक र समाजिक कार्यको शुरुवात गरेका थिए। प्युठानमा मात्र नभएर छिमेकी जिल्ला दाङमा पनि स्वर्गद्वारी गुठीको नाउमा जग्गा छ।

भक्तजनका लागि व्यवस्था
स्वर्गद्वारी दर्शनका लागि भक्तजनलाई सशुल्क खाना र बस्नको व्यवस्थासमेत छ। व्यवस्थापन समितिले सिमित शुल्कमा खाना र बासको व्यवस्था मिलाउँछ। खानामा प्रायः रायोको साग, दाल र भात समावेश हुन्छ। मन्दिर क्षेत्रमै यो सुविधा भएकाले टाढा-टाढाबाट आउने भक्तजनलाई सजिलो हुन्छ। भारतबाट मात्रै हरेक वर्ष एक लाखभन्दा बढी भक्तजन आउने गर्दछन्। अधिकांश भारतीय भक्तजन भिङ्ग्री बजारबाटै पैदल यात्रा गरी मन्दिरमा पुग्छन्।

“धार्मिक विश्वास?” धर्म नमान्नेहरू, स्वर्ग-नर्कमा विश्वास नगर्नेहरू हिन्दुभन्दा फरक धर्म मान्नेहरू नपुग्नु त? त्यसो होइन। धर्ममा विश्वास नगर्ने या फरक धर्म मान्ने सबैलाई निकै हार्दिकताका साथ स्वागत गर्न स्वर्गद्वारी तयार  छ। किनकि यहाँको वातावरणले धर्मका अनुयायीलाई मात्र होइन, प्रकृतिप्रेमी र यात्रु सबैलाई शान्ति र आनन्द दिन्छ। त्यसैले एक पटक आउनुस् स्वर्गद्वारी। हार्दिक स्वागत छ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?