आफ्नै आमालाई ‘आमा’ प्रमाणित गर्न नसक्दा मृत्युशय्यामा छन् युवक

+
-

भनिन्छ- मानिसले कुनै पनि अवस्थामा स्वभाविक बन्न सक्दा उसको जीवन सहज हुन्छ। तर, जब कुरा मृत्युशय्यासम्म पुग्ने आउँछ, त्यसले धैर्यता तोड्छ र व्यक्तिलाई दिक्दारीको अवस्थामा पुर्‍याइदिन्छ। त्यही दिक्दारीको संघारमा उभिएका छन् यतिबेला मोरङ बेलबारीका २७ वर्षीय युवक कैलाश तामाङ।

स्वास्थ्यमा समस्या आएपछि कैलाश तामाङ मोरङको बेलबारीमा सामान्य जाँचको निम्ति गए। क्रमिक रुपमा स्वास्थमा समस्या बढ्दै गएपछि उनले विराटनगरस्थित नोबेल अस्पतालमा गएर उपचार गराए । उनको मृगौलामा समस्या देखियो । मृगौला खराब भइसकेको जानकारी उनले केही दिनपछि डाक्टरहरुबाट पाए। त्यसपछि अझै त्यसमा बोझ थपियो जब मृगौला फेर्नु नै पर्ने अवस्थामा उनी पुगे।

मोरङ जिल्लामा मृगौला प्रत्यारोपण हुने अवस्था नभएकाले उनी काठमाडौँ आए।

कैलाश तामाङ।

काठमाडौँ आएपछि जटिलता अगाडि आउँदै गयो । विगत एक महिनादेखि उनी काठमाडौँमा छन् । उनलाई नोबेल अस्पतालमा उपचार गर्दाको खर्चमा ५० प्रतिशत छुट नेपाली कांग्रेसबाट मोरङमा सांसद् निर्वाचत डा. सुनीलकुमार शर्माले गराए। शर्माले तामाङको जीवन रक्षामा उल्लेखनीय भूमिका खेलेर मोरङबाट काठमाडौँसम्म ल्याउने व्यवस्था पनि मिलाइदिए।

समाधान गर्न शर्माले पहल गरेपनि कागजातहरुको समस्याका कारण आजसम्म बाटो भने खुलेको छैन । उनी काठमाडौँ तीनकुनेमा डेरा लिएर बसिरहेका छन् र काठमाडौँ मेडिकल कलेज अस्पताल (केएमसी) मा डायालसिस गरिरहेका छन् ।

के हो कागजातको समस्या ?

कैलाशकी जैविक आमा गीता मगर।

कैलाशकी जैविक आमा गीता मगर कैलाश जन्मिएको केही महिनामै अरुसँग नै विवाह गरेर उदयपुर गइन्। कैलाशका बाबु रवीन्द्र तामाङले त्यसपछि अर्कै विवाह गरे र उनको सौतेनी आमा हरिमाया तामाङकै नामबाट कैलाशको जन्मदर्तादेखि नागरिकता लगायत सबै कागजात बने। कैलाशकी जैविक आमा उनको वास्तविक आमा हुन् भनेर खुलाउने उनीसँग कुनै कागज छैन। अहिले मृगौला फेल भएको समयमा उनलाई केवल जैविक आमाको मृगौलामात्र म्याच गर्‍यो।

विगत केही वर्ष देखि उनकी आमा उनीसँगै बस्न थालेकी छन्। तर, नेपालको कानुनले नाता प्रमाण नभएसम्म मृगौला दिन नमिल्ने कुरा भन्छ। उनकी आमा उनलाई मृगौला दिन तयार छिन् तर आफूले जन्म दिएको छोरालाई मृगौला दिने आधार उनीसँग छैन र कैलाश पनि त्यसमा निरीह भएका छन्।

यो सबैको बाबजुद मोरङ जिल्ला प्रशासन कार्यलयले स्थानीयसँग सरजमिन गरी मुचुल्का उठाएर कतै उल्लेख नभएपनि जैविक आमाका रुपमा उनलाई मान्यता दिई चिठी लेख्यो। कैलाशको स्थानीय बेलबारी नगरपालिकाले पनि उनकी आमासँग उनको नाता प्रमाणित गरिदियो। ती चिठीको आधारमा काठमाडौँको जिल्ला प्रशासनबाट प्रत्यारोपणको लागि बनाइएको समितिमा तोकिएका अधिकारीले सही गरे भने केएमसीमा उनको मृगौला प्रत्यारोपण अघि बढ्छ र उनको जीवन बँच्ने छ। तर काठमाडौँ जिल्ला प्रशासन चिठी बनाई यसलाई मान्यता दिने पक्षमा छैन।

बेलबारी नगरपालिकाले दिएको नाता प्रमाणितको कागज।

देशसञ्चारसँग काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी अशोककुमार भण्डारी भन्छन्,  ‘मृगौला प्रत्यारोपण गर्नको निम्ति कानुन बमोजिम समिति हुन्छ र त्यस समितिमा ५ जनाको मन्जुरी हस्ताक्षर गरेपछि बल्ल काम अघि बढ्छ । मृगौला लिने र दिने, उपचारको लागि शल्यक्रिया गर्ने शल्यचिकित्सक, अस्पतालको निर्देशक र अन्त्यमा अस्पताल अवस्थित भएको जिल्लाको जिल्ला कार्यलयका एक प्रतिनिधि।’

यस अवस्थामा कैलाश तामाङको केसमा भने अन्य चार हस्ताक्षर भएको र जिल्लाको प्रतिनिधिबाट मात्र हस्ताक्षर भएको छैन। उनी कारण खुलाउँछन्- ‘कैलाशको आमासँग वास्तवमा नाता प्रमाण हुने केही पनि कुरा हालसम्म नखुलेको कुरा हामीलाई हाम्रो प्रतिनिधिले भन्नुु भएको छ । त्यसैले त्यस जटिलताका कारण मोरङको पत्रको आधारमा आफ्नो काम र पद नै धरापमा पार्ने स्थिति बनेमा भोलि अप्ठयारो हुने भएकाले यस्तो परिस्थिति सिर्जना भएको हो ।’

मानवशरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ अनुसार नेपालमा नजिकको नातेदारबाट मात्र मिर्गौला दान लिन पाइन्छ। कानुनमा उल्लेख भएअनुसार ‘नजिकको नातेदार’ भन्नाले अङ्ग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाई, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासु, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजु, बुहारी, मामा, माइजु, भान्जा, भान्जी, साला, साली, फूपु, फूपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाँई, जेठान  सम्झनुपर्छ। धर्मपुत्र, धर्मपुत्री, धर्मपुत्र धर्मपुत्री राख्ने बाबुआमा र वैवाहिक सम्बन्धबाट कायम भएको नाता सम्बन्धको हकमा कम्तीमा दुई वर्षदेखि अटुट रुपमा नाता सम्बन्ध कायम रहिआएको हुनुपर्ने पनि ऐनमा उल्लेख छ।

कैलाशको केसमा उनकी आफ्नै आमा गीता उनलाई मिर्गौला दिन तयार छिन् तर आफ्नै आमालाई आमा प्रमाणित गर्न अधिकारीहरू तयार नदेखिँदा उनी संकटमा परेका छन्।

अब के हुन्छ?

कागजी कारणले कैलाशको जीवन धरापमा छ । उनी आफ्नो जीवनको नियतिलाई हेरिहेका छन् र त्यसप्रति निरीह बन्नु बाहेकको विकल्प उनले देखेका छैनन्। एक २७ वर्षीय युवक जीवन र मरणको दोसाँधमा उभिएका छन्। न उनले आफ्नो जन्म दर्ता बनाएका हुन्, न उनले आफ्नो नागरिकता बनाएका हुन् । कसलाई थाहा थियो कालान्तरमा ती विषयहरुले यो हदसम्मको अर्थ राख्ने छ र मृत्युशय्यामा बसेर उनले यससँग जुध्नुपर्ने अवस्था आइलाग्ने छ।

नेपालमा वार्षिक ३ हजार मृगौला फेल हुन्छन् र त्यसमा १ हजार ५ सयको प्रत्यारोपण हुन्छ। कानुनी अल्झनका कारण धेरैले दाता फेला पार्न सक्दैनन्। कैलाशको यो घटनाले प्रष्ट भन्छ कि एउटा युवा मृत्युशय्यातिर अग्रसर हुँदैछ स्वास्थ्यको जटिलताका कारण हैन कि कागजपत्रको उल्झनका कारण।

मोरङ जिल्ला प्रशासन कार्यालयले प्रमाणित गरेको कागज।

यी सबै समस्याको दोषी कैलाश होइनन् तर उनले सजाय पाइरहेका छन्। उनलाई जीवनको चक्रव्यूहमा यसरी फस्नु परेको छ। यसको दोष ती आमाले लिने कि बुवाले लिने की नियतिको काखमा थमाइदिएर उनलाई मृत्युकै उपहार दिने? के जीवन भन्दा ठूलो कानुनका केही हरफ हुन् एक निर्दोषको लागि?

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?