एमालेमा केपीले रोक्न नसकेको विद्या तरंग

एमालेमा केपीले रोक्न नसकेको विद्या तरंग
फाइल फोटो
+
-

काठमाडौँ– हलमा पररर…ताली बज्छ। हुटिङ आउँछ खचाखच भरिएको दर्शक दीर्घाबाट। मञ्चको पोडियममा बोलिरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हुटिङलाई सुन्दै तालीको तालमा पानी पिउँछिन्।

पानी त अघि भर्खर पटक–पटक पिएकी पनि थिइन्। बोल्दा थोरै घाँटी पनि सुक्यो कि! होइन भने उनको पानी पिउने त बहाना न हो। चाहना त एमालेको पार्टी सदस्यता नवीकरण गरेको घोषणा तालीको तालमा अनुमोदन गरिएको सुन्ने पनि हो।

किनकि उनको पार्टी सदस्यता वर्ष दिनअघि नै नवीकरण भइसकेको थियो। पार्टी सदस्यता नवीकरण गरिएको विषय बाहिर ल्याउने कि नल्याउने भन्नेमा एमाले नेताहरूबीचमै मतभिन्नता थियो।

यसका कारण भण्डारीलाई पार्टी सदस्यता नवीकरण गरिएको विषय बाहिर ल्याउन कठिन परेको थियो। शनिबार मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवरमा उनले पार्टी सदस्यता नवीकरण गरेको घोषणा गरेपछि हलमा ताली बज्यो। हुटिङ चल्यो। विद्या भण्डारी हाईहाईको नारासमेत गुञ्जियो।

उनको पार्टी सदस्यता नवीकरणलाई लिएर कार्यकर्ता पङ्ति उत्साहित हुनुमा विद्या एमालेको भावी नेतृत्वका रुपमा हेरिनु पनि हो। देशको सर्वोच्च पदमा आसिन भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किनु उचित हुँदैन भन्ने मत राख्नेहरूको संख्या ठूलो छ।

तर विद्याले आलोचनाको कुनै परवाह नै नगरी फेरि पार्टी राजनीतिक जीवनमा फर्किनुले अर्थ राखेको छ। उनले देश जसरी चल्नुपर्ने थियो त्यसरी नचलेको भन्दै चिन्ता व्यक्त गरेकोबाट पनि विद्या पार्टी नेतृत्व लिने संकेत गरेको रुपमा बुझिएको छ।

‘अझै पनि मुलुकमा वर्गीय असमानता, क्षेत्रीय विषमता, भ्रष्टाचार, जातीय विभेद, लैङ्गिक असमानता, अवसरवाद र अराजकतावादजस्ता सामाजिक, आर्थिक एवं राजनीतिक विकृति र विसंगतिहरू यथावत छन्’, उनले भनेकी थिइन्।

विद्याले अझै अगाडि बढेर देशको आर्थिक विकासबारे छलफल गरिसकेको र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएको बताइन्। ‘मैले देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तक्रिया गरेको छु र आफ्‌नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग भेटघाट गरेको छु’, उनले भनिन्, ‘यसबाट निष्कर्ष जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने नै हो।’

नरोकिएकी विद्या

पार्टी सदस्यता नवीकरण गरेको घोषणा विद्याले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष सुनाउन चाहन्थिन्। त्यसैले त ओलीलाई विद्याले भनेकी थिइन्– ‘मेरा कुरा पनि सुन्नुहोस्।’

तर शनिबार नै स्पेन भ्रमणमा जानुपर्ने बाध्यताकाबीच ओली जन्मजयन्ती कार्यक्रमको सुरुमै आफ्नो भनाइ राखेर विद्याको कुरा नसुनी बाहिरिएका थिए। उनले आफ्नो कुरा राख्दै विद्याले बोल्ने कुरा थाहा भएको बताएका थिए।

मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी। तस्बिर: बर्षा शाह

‘सम्माननीय पूर्वराष्ट्रपतिज्युले मेरा पनि कुरा सुन्नुहोस् न भन्नुहुन्थ्यो। तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदै छ। आज मात्रै सुन्नुपर्ने होइन, उहिल्यैदेखि सुन्दै आएको हो। त्यसोभएर मलाई थाहा छ के बोल्नुहुन्छ भनेर। त्यसैले मैले सुनेर बस्नु पर्दैन,’ उनले भनेका थिए।

ओलीले विद्याको कुरा नसुने पनि सभाहल र बाहिर प्राङ्गणमा विद्यालाई सुन्नेको भिड थियो। विद्यालाई सुन्न कार्यकर्ता पङ्ति उत्साहित देखिन्थ्यो।

जन्मजयन्तीको दुई दिनअघि सोमबार ओली–विद्याबीचको भेट सौहार्द्रपूर्ण हुनसकेको थिएन। त्यस दिन नै आफू पार्टी अध्यक्ष बन्ने इच्छा रहेको विद्याले ओलीलाई प्रष्ट भनिदिएकी थिइन्।

सो विषय मिडियाबाट बाहिरिएपछि जन्मजयन्तीमा विद्याले के नयाँ घोषणा गर्नेछिन् भन्नेमा चासो बढेको थियो। उनले पार्टी सदस्यता नवीकरण गरेको घोषणा गरेसँगै पार्टी अध्यक्ष ओलीको विकल्पका रुपमा विद्यालाई हेरिनुले एमालेमा तरङ्ग ल्याइदिएको छ।

शनिबार नै पार्टी वरीष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विद्या पार्टी राजनीतिमा फर्किनु कुनै अचम्मको विषय नभएको बताए। बरु कुन पद दिने भन्नेमा पार्टीमा छलफलबाट टुङ्गिने पनि उनले बताएका थिए।

‘उहाँ (विद्या) राजनीतिक व्यक्ति हो। राजनीतिमा आउनु कुनै अचम्म होइन’, पोखरेलले भनेका थिए, ‘उहाँले के जिम्मेवारी लिने भन्नेमा पार्टीभित्र सल्लाह हुन्छ।’

उनले विद्या फर्किनुलाई अचम्मित मात्र नमान्न होइन, पार्टी नेतृत्वबारे आलोचना गर्न पाउने पनि बताएका थिए। यसले विद्यालाई भावी नेतृत्वका रुपमा एमालेका धेरै नेताहरूले स्वीकार गरेको रुपमा बुझ्न कठिन छैन।

एमालेबाट माधव नेपाल समूह बाहिरिएपछि ओलीको विकल्प कोही देखिएको थिएन। भीम रावललाई कारबाही गरेपछि ओली प्रतिष्पर्धीविहीन जस्तै भएका थिए। प्रतिष्पर्धाकारुपमा दोस्रो तहका नेताहरू पनि बोल्न सकेका थिएनन्।

धेरै दोस्रो तहका नेताहरू ओलीको विकल्पका रुपमा विद्यालाई पार्टी राजनीतिमा फर्काइएको स्रोत बताउँछ। अहिले विद्या समूह केन्द्रदेखि जिल्लासम्म बनिसकेको छ।

विद्या आगामी पार्टी महाधिवेशनमा ओलीका विकल्पका रुपमा अगाडि बढ्ने उनी निकट नेताहरू बताउँछन्।

पहिल्यै चलेको थियो ओली–विद्या टकराब

२०७२ असोजदेखि २०७९ फागुनसम्म दुई कार्यकाल राष्ट्रपति कार्यकाल सकेलगत्तै विद्या एमाले राजनीतिमा फर्किने विषयले चर्चा पाइसकेको थियो। वर्ष दिनअघि पार्टी सदस्यता नवीकरण र त्यसपछि पार्टी नेतृत्वका विषयमा बहस हुन थालेपछि पार्टी अध्यक्ष ओली भने खुसी देखिएका थिएनन्।

उनले पार्टीमा कुनै गुट नभएको र अझै २० वर्षसम्म आफ्नो विकल्प नसोच्नसमेत पटक–पटक भन्दै आइरहेका थिए। पछिल्लो समय उनले विद्या लक्षित टिप्पणीसमेत गर्न थालेपछि दुईबीच टकराब बढेको देखिएको छ।

असार १३ गते ओली र विद्याबीच भएको भेटसमेत सौहार्द्रपूर्ण नरहेको र विद्यालाई रोक्नेगरी महासचिव शंकर पोखरेल अघि सरेकोसमेत बताइने गरिन्छ। यसभन्दा पहिले नै ओलीले पार्टीमा फलाना व्यक्ति आउने रे भनेर हल्ला फैलाइएको भन्दै आपत्ति जनाएका थिए। यो अभिव्यक्ति विद्या लक्षित थियो।

‘अब फलाना आउने अरे, पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणा भएको छैन। अनि यो बाहिर बाहिरका हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने यस्ता दुष्प्रयासहरुलाई सोझै इन्कार गर्नुस्’, ओलीले जेठ २५ गते अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै भनेक थिए।

त्यसै दिन उनले गुट बनाउनेविरुद्ध उत्रन पनि विद्यार्थी नेताहरूलाई निर्देश गरेका थिए। ‘पार्टीमा यो ग्रुप र त्यो ग्रुपको कुनै आवश्यकता छैन। यस्ता कुरालाई तपाईंहरूले सुन्नेबित्तिकै यस्ता कुरा नगर्नुस् भन्ने जवाफ दिइहाल्नुस्’, उनले भनेका थिए।

विद्या लक्षित गुट बनाउने भनेर अभिव्यक्ति दिएपछि ओली लक्षित अभिव्यक्ति दिँदै विद्याले पनि आफूले कुनै गुट नबनाएको बताएकी थिइन्। ‘म कहिल्यै गुट बनाउने मान्छे होइन। अध्यक्ष ओलीजीले मलाई ताकेर भनेको जस्तो मलाई लाग्दैन’, उनले जेठ २७ गते विराटनगर विमानस्थलमा भनेकी थिइन्।

यति मात्र होइन् उनले आफूले एमाले कार्यकर्तासँग भेट्न कसैको अनुमति लिनुनपर्नेसमेत बताएकी थिइन्। ‘मैले कार्यकर्तासँग भेट्न एमालेको इजाजत लिनुपर्छ र?’ उनले भनिन् ‘मैले त संगठित सदस्यता नलिएको बेलादेखि नै पार्टीमा काम गर्दै आएको हुँ। चिनजान पनि ठूलै छ। पार्टीका नेताहरूले कार्यक्रममै बोलाउनु स्वाभाविक हो।’

ओलीले मदन भण्डारी जन्मजयन्तीका दिन राष्ट्रिय सभागृहमा सहभागी हुनुपूर्व चन्द्रागिरीमा भएको एक कार्यक्रममा पार्टीभित्र स्वार्थ खोज्नेहरूको हिसाबकिताब गरिनेसमेत चेतावनी दिएका थिए।

यो पनि– 

एमालेमा तल्लो तहसम्म फैलिँदै विद्या ‘गुट’को तरंग

विद्या भण्डारीले त्यस्तो के गरिन् जसले एमालेमा ओलीको विकल्प देखाइदियो?

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?