अमेरिका यात्रामा नेपथ्य, नेपाल र भुटानका झन्डासहित नाचे पिट्सबर्गमा दर्शक

अमेरिका यात्रामा नेपथ्य, नेपाल र भुटानका झन्डासहित नाचे पिट्सबर्गमा दर्शक
+
-

पिट्सबर्ग (पेन्सिलभानिया)– नेपथ्यको कन्सर्टमा सधैँझैँ ‘रातो र चन्द्रसूर्जे’ गीत र नेपाली राष्ट्रिय झन्डाले दर्शकलाई मोहित बनाउँछ। तर, शनिबार राति पिट्सबर्गको ‘रक्सिन थिएटर’ मा आयोजित कन्सर्टमा भने अर्को एउटा विशेष झन्डा पनि देखियो – पहेँलो र गेरु रङमाथि सेतो ड्रागन अंकित भुटानको राष्ट्रिय झन्डा।

हलमा पुनर्वास गराइएका भुटानीहरूको उल्लेख्य संख्या देखेपछि नेपथ्यका मुख्य गायक अमृत गुरुङले मञ्चबाटै भावनात्मक आह्वान गरे, “विगतलाई बिर्सनु हुँदैन तर माफ गरेर अघि बढ्ने हौसलाचाहिँ राख्नै पर्छ। हामी संसारभरि फैलिएका नेपालीलाई आपसमा जोड्ने यही भाषाले हो। यो सद्भाव सदैव कायम रहोस्। कसैले कसैमा द्वेष नराखी अगाडि बढ्नुस् है।” उनको यो सन्देशको प्रत्युत्तरमा दर्शकले केही बेरसम्मै ताली बजाएका थिए।

चार्टियर्स एभेन्युमा रहेका दर्शकका लागि निर्धारित समय अनुसारै बेलुकी ८ बजे हलका ढोकाहरू खोलिएका थिए भने त्यसको ठीक एक घण्टामा अमृत गुरुङ र उनको टिम मञ्चमा उपस्थित भयो। कन्सर्ट ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट सुरु भएको थियो। त्यसपछि ‘भेडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ जस्ता लोकप्रिय गीतहरूले निरन्तरता पाए। मञ्च र दर्शकदीर्घा दुवैतर्फको उत्साह र उत्तेजनाले सुरुवातदेखि नै एक किसिमको भावनात्मक बन्धन विकास हुँदै गएको देखिन्थ्यो।

दर्शकको समूहमा ७३ वर्षीया पेग्गी स्टर्लिङ पनि थिइन्। सानै उमेरमा जर्मनीबाट अमेरिका आएकी पेग्गीलाई फरक–फरक कन्सर्टमा उपस्थिति जनाउने बानी छ। श्रीमान्‌को २० वर्षअघि निधन भएपछि पनि उनले एक्लै त्यस बानीलाई निरन्तरता दिएकी हुन्। “नेपालको ब्यान्ड आउँदै छ भन्ने थाहा पाएपछि गुगलमा नेपथ्यबारे जानकारी लिएँ र यसरी आज हलसम्म आइपुगेकी छु,” उनले सुनाइन्। भाषै नबुझे पनि कन्सर्टमा आफूले भरपुर मनोरञ्जन लिएको प्रतिक्रिया दिँदै उनले भनिन्, “भाषै नबुझे पनि छेउछाउका सबैले मनोरञ्जन लिइरहेको माहोलले नै रमाइलो बनाउँदो रहेछ। त्यसो त धुन र परिवेशले शरीरलाई तरंगित पारिरहँदा भाषा खासै आवश्यक पनि पर्दैन।” समग्रमा नेपथ्यको प्रस्तुति सबै हिसाबले आफूलाई राम्रो लागेको उनले बताइन्।

मोरङको पथरी क्याम्पमा जन्मिएकी साबी सिवाकोटी, जो चार वर्षकै उमेरमा शरणार्थी परिवार पुनर्वासका क्रममा अमेरिका आएकी हुन्, नेपथ्यको कन्सर्ट हेर्न पाउँदा निकै उत्साहित थिइन्। “भएभरका सबै रमाइरहँदा आफूलाई पनि नाचिरहूँ गाइरहूँ लाग्दो रहेछ,” उनले सुनाइन्।

पुनर्वास गराइएका भुटानी शरणार्थी उल्लेख्य संख्यामा रहेको पेन्सिलभानिया राज्यमा नेपालीभाषी समुदायको जीवन्त उपस्थिति देख्न पाउँदा गायक अमृत गुरुङले खुसी व्यक्त गरे। उनले मञ्चबाटै अनुरोध पनि गरेका थिए, “यो भाषालाई भावी सन्ततिसम्म विस्तार गरौँ है।” शनिबारको कन्सर्टको आयोजक टोलीकी एक सदस्य पनि भुटानी शरणार्थी परिवारकै विद्या पुलामी थिइन्। राष्ट्रिय पहिचान भुटानी भए पनि आफूहरू नेपाली नै रहेको उनी बताइरहेकी थिइन्। “हामी धपाइएर आएको भए पनि भुटानको समेत उत्तिकै माया लाग्छ,” उनले भनिन्, “त्यसैले कार्यक्रममा मैले बोक्ने झन्डा नेपाल र भुटान दुवै मुलुकका हुन्।”

कार्यक्रमभरि पटक–पटक नेपाली पहिचानका पक्षमा विचार राखेका अमृत गुरुङले स्वदेश घुम्न पनि आह्वान गरे। पैदलै गाउँबस्ती पुग्दा गीत संकलन गरेको र कतिपय गीत उतैको रमाइलोमा तयार पार्ने गरेको पनि उनले सुनाए। पदयात्राका क्रममा उनैले खिचेका पृष्ठभूमिका तस्बिरहरूले पनि उनको भनाइलाई सघाइरहेको देखिन्थ्यो।

अमेरिकी सहर पिट्सबर्गमा पहिलो कन्सर्ट भए पनि कतिपय दर्शकका लागि यो पहिलो नेपथ्य अनुभव थिएन। बेलडाँगी शिविरमा जन्मेका राजेन् सापकोटा तीमध्ये एक हुन्। “म नेपथ्यलाई छातीमै लिएर हिँडेको छु भन्दा पनि फरक पर्दैन,” उनले उत्साहका साथ थपे, “आफू नेपालमा हुर्कँदै गर्दा मन परेका यसका गीतहरू र यो ब्यान्डप्रति मेरो मनमा अटाएको प्रेमलाई शब्दहरूले व्याख्या गर्न गाह्रो हुन्छ।” राजेन्द्रका अनुसार उनी १३ वर्षको उमेर छँदा सन् २०११ मा अमेरिका आएका हुन्।

कन्सर्टमा मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

अमेरिका यात्राको चौथो प्रस्तुति पिट्सबर्गमा सकिएसँगै ब्यान्ड अब फेरि उत्तरतर्फ उक्लनेछ। अबको गन्तव्य भव्य सिकागो सहर हुनेछ, जहाँस्थित ‘दी भिक थिएटर’ मा जुन ७ मा नेपथ्य कन्सर्ट तोकिएको छ। सिकागोपछि ब्यान्ड बोस्टन सहर पुग्नेछ। त्यहाँको ‘रोयाल बोस्टन’ हलमा जुन ११ मा नेपथ्यको प्रस्तुति रहनेछ। त्यसपछि भने १४ सदस्यीय नेपथ्य टोली नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर पुग्नेछ। त्यहाँको ‘पिडमोन्ट हल’ मा जुन १४ को साँझ आफूलाई उभ्याएपछि यस वर्षको अमेरिका यात्रा बिट मार्दै ब्यान्ड स्वदेश फिर्नेछ।

यसपाला अमेरिका यात्राको संयोजन ‘मोमो इन्टरटेनमेन्ट’ र ‘के गरिरा’ ले संयुक्त रूपमा सम्हाल्दै आएका छन्। अमेरिकाका सबैजसो कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ। 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?