सियाटलमा नेपथ्यको सानदार प्रस्तुति, अमेरिकी भ्रमणमा दर्शकको उत्साहजनक सहभागिता

सियाटलमा नेपथ्यको सानदार प्रस्तुति, अमेरिकी भ्रमणमा दर्शकको उत्साहजनक सहभागिता
+
-

काठमाडौँ– विशाल ताल र हिउँले घेरिएको मनमोहक सियाटलमा नेपाली लोकरक ब्यान्ड नेपथ्यले शुक्रबार (मे २३) सानदार प्रस्तुती दिएको छ। सातौँ अमेरिका यात्रामा रहेको ब्यान्डको यो दोस्रो शो थियो। यसअघि नेपथ्यले एक साताअघि टेक्सासको अस्टिनमा पहिलो कन्सर्ट गरेको थियो।

सियाटलको ‘मुर थिएटर’ मा बेलुकी ७ बजे ढोका खुलेको एक घण्टापछि सुरु भएको शोमा नेपथ्यका मुख्य गायक अमृत गुरुङले नयाँ-पुराना लोकरक गीतहरू प्रस्तुत गर्दा दर्शक-श्रोताले पनि सँगसँगै गाउँदै, नाच्दै भरपूर मनोरञ्जन लिए।

संगीतमा रमाउने संसारभरका श्रोता-दर्शकलाई नेपालीपनका माध्यमबाट जोड्दै आएको नेपथ्यलाई हेर्न विभिन्न ठाउँबाट नेपालीहरू ओइरिएका थिए। अमेरिकी सहरको कन्सर्टमा झुम्न क्यानाडाबाट समेत नेपाली दर्शक आइपुगेका थिए।

दर्शकहरूमा नेपाली मात्र नभई विदेशी अनुहारहरू पनि देखिएका थिए। तिनैमध्येका थिए जोन सिमिङटन र कोल फोरम्यानको जोडी। नेपालमा भूकम्प गएका बेला एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रतिनिधि भई लामो समय सेवामा खटिएका जोनलाई नेपाली भाषा र संस्कृतिको पनि थोरै ज्ञान रहेछ।

“मैले नेपथ्यबारे उतै थाहा पाएको थिएँ। त्यसपछि युट्युब र स्पोटिफाईमार्फत पछ्याउँदै आएको छु,” जोनले सुनाए, “यो ब्यान्ड सियाटलमै आउँदै छ भन्ने थाहा पाएपछि पार्टनरसमेत लिएर आएको हुँ।” कन्सर्टमा प्रस्तुत अधिकांश गीतमा सबैजसो श्रोताले साथसाथै गाइरहेको देख्दा असाध्यै रमाइलो लागेको उनले बताए।

दर्शकको भीडमा कास्कीको लामाचौरबाट आएकी र १० वर्षभन्दा बढी समयदेखि सियाटलनजिकै केन्टमा बस्दै आएकी मनिमा गुरुङ पनि थिइन्। “नेपथ्यको कन्सर्ट हेर्ने सपना धेरै पहिलेदेखि थियो। अमेरिकामा आएर बल्ल पूरा भएकामा असाध्यै खुसी छु,” उनले भनिन्, “पहिलोपटक भएर पनि होला, स्टेजमा कलाकारहरू आएको देख्नेबित्तिकै शरीरभरि काँडा उम्रिएजस्तै भएको थियो।”

कन्सर्टमै भेटिएका सुशील बोगटीले ओरेगनदेखि, क्यानाडाका भ्यानकुभर, फिनिक्स, इदाहो र सेक्रिमेन्टो लगायत ठाउँदेखि आएका नेपाली देखेर आश्चर्य व्यक्त गरे। शौरभ खनाल पनि श्रीमती र बहिनीहरू समेत लिएर एक घण्टा परदेखि गाडी हाँक्दै कन्सर्टमा आइपुगेका थिए। उनले यति ठूलो संख्यामा नेपाली एकै ठाउँ भेट्दा रमाइलो लागेको बताए।

कन्सर्ट अवधिभर अमृत गुरुङले गीत गाउँदै गर्दा ती गीतहरू खोजी गर्दाको अनुभव पनि सुनाएका थिए। मुलुकको परिस्थिति र बिदेसिएका नेपालीसँग स्वदेशको अपेक्षाका विषयमा उनले प्रकट गरेका मन्तव्यलाई अन्यत्र जस्तै यहाँका दर्शकले पनि उत्तिकै मन पराए।

“नेपथ्य हेर्न आउँदा गीत मात्र होइन, उसको सिंगो कन्सर्ट कसरी प्रस्तुत गरिन्छ भन्ने कुराले अझ बढी महत्त्व राखेको पाएँ,” काठमाडौँबाट आएर नर्सिङ व्यवसायमा आबद्ध सुशीला श्रेष्ठले भनिन्, “साथीहरूको समूह बाँधेर आज बेलुकी यहाँ आउँदा हाम्रो एउटै उद्देश्य रमाइलो गर्ने थियो र त्यो मजाले पूरा भएको छ।”

मञ्चमा मुख्य गायक तथा अगुवा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

स्थानीय आयोजक किंग्स इन्टरटेनमेन्टका देव रानाले नेपथ्यको सियाटल प्रस्तुति सबै हिसाबले विशेष बन्न पुगेको र सियाटलले असाध्यै मन पराएको बताए। कन्सर्ट हेरिसकेपछि दर्शकले गरेको प्रशंसाबाट पनि नेपथ्यको प्रभाव आकलन गर्न सकिने उनको भनाइ थियो।

टेक्सासको अस्टिन र वासिङ्टन राज्यको सियाटलपछि ब्यान्ड अब तेस्रो प्रस्तुतिका निम्ति क्यालिफोर्नियाको लस एन्जलस सहर पुगेको छ। हलिउड रहेको यस सहरको ‘हाउस अफ ब्लुज’ मा मे २६ मा ब्यान्डले लोकरक गीत सुनाउनेछ।

त्यसपछि ब्यान्ड मे ३१ मा पेन्सिलभेनियाको पिट्सबर्ग, जुन ७ मा इलिनोइसको सिकागो, जुन ११ मा म्यासाचुसेट्सको बोस्टन र अन्त्यमा जुन १४ मा नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर पुग्नेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?