राष्ट्रपति कार्यकाल पछिको विद्या भण्डारीका दुई वर्ष

विद्या भण्डारीले त्यस्तो के गरिन् जसले एमालेमा ओलीको विकल्प देखाइदियो?

विद्या भण्डारीले त्यस्तो के गरिन् जसले एमालेमा ओलीको विकल्प देखाइदियो?
+
-

काठमाडौँ– देशमा राजनीतिक गर्मी बढेको छ । सरकारभित्रका दलहरूबीच मतभिन्नता चुलिँदो छ। मतभिन्नता चुलिँदा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढल्ला कि भन्ने अड्कलबाजी भइरहेको छ।

प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रसका नेता डा. शेखर कोइराला ओली नेतृत्वको सरकारप्रति सन्तुष्ट नभएको केही महिना नै भयो। अहिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत सार्वजनिकरुपमा सरकारको आलोचना थालेका छन्।

राजावादी आज कि भोलि व्यवस्था ढालिहाल्ने जोश देखाएर सडकमा रहेको अवस्था छ। उसैगरी प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरू सरकारविरुद्ध सडकमै छन्।

राजनीतिक गर्मी बढ्दे जाँदा राजनीतिको केन्द्रमै छिन्, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि। पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन माओवादी केन्द्रको उपाध्यक्षमा मनोनीत भएपछि भण्डारी फेरि एक पटक चर्चामा छिन्।

पूर्वउपराष्ट्रपति पुनलाई आधिकारिक रुपमै चैत १८ र १९ गते बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टी नेतृत्वमा मनोनयन गरेपछि भण्डारी पनि राजनीतिक नेतृत्वमा फर्किने सम्भावना बलियो बन्दै गएको छ।

यद्यपि राष्ट्रप्रमुख भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्कनु शोभनीय नहुने भन्दै पुनको आलोचना भइरहेको छ। भण्डारी पनि पार्टी राजनीतिमा फर्किने गरी गरेको गतिविधिले आलोचना बाहिर रहन सकेकी छैनिन्।

खुला राजनीतिमा भण्डारीका दुई वर्ष कसरी बिते?

विद्यादेवी भण्डारीको राष्ट्रपति कार्यकाल सकिएको दुई वर्ष पुगेको छ। दुई कार्यकाल देशको राष्ट्रपतिको भूमिकामा बसेर २८ फागुन २०७९ मा उनी उक्त भूमिकाबाट टाढा भएकी थिइन्।

बिस्तारै बोल्ने, चाहिएको मात्र, कम बोल्ने स्वभावकी भण्डारी राष्ट्रपति हुनुपूर्व एमालेको उपाध्यक्ष थिइन्। राष्ट्रपतिपछि उनको पार्टीसँगको सम्बन्ध टुटेको थियो। स्वतन्त्र भई देशको अभिभावकीय भूमिका निर्वाहमा उनी सक्रिय रहिन् सात वर्ष।

तर उनको पार्टी राजनीतिको मोह भने अझै ताजै रहेको भण्डारीले राष्ट्रपतिको कार्यकाल सकिएलगत्तै लिएको पार्टी सदस्यताले पुष्टि गर्छ। २८ फागुन २०७९ मा उनको कार्यकाल सकियो। भोलिपल्ट उनी शीतल निवासबाट बाहिरिइन्।

त्यसको तीन महिनापछि बैशाख १ गते भण्डारीले एमालेको पार्टी सदस्यता पुन: लिएकी थिइन्। यो नै उनको फेरि पार्टी राजनीतिको सुरु बिन्दु बनेको थियो। पार्टी सदस्यता लिन हुँदैन भन्ने राजनीतिक वृत्तमा बहस भए पनि त्यसको भण्डारीले कुनै मतलब गरिनन्।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय।

बरु पार्टी सदस्यता लिएपछि उनी थप राजनीतिक गतिविधिमा सक्रिय देखिएकी छिन्। वैशाखमा पार्टी सदस्यता लिएपछि उनको आलोचना भइरहेको थियो।

राजनीतिक विश्लेषक डम्बर खतिवडाले त्यतिबेला भनेका थिए– ‘विद्या भण्डारीले एमाले सदस्यता नवीकरण गरिन रे, गरून् उनको निजी छनौटको विषय हो। पार्टी टिकट लिएर वडाध्यक्षमा उठे नि उठुन्, कसले रोक्ने? तर, लोकतान्त्रिक राज्यको मर्यादा, संस्कार, संस्कृति नबुझ्ने, त्यसमा योगदान गर्न नचाहनेले राष्ट्रपतिजस्तो पदको रहर किन गर्याथ्यो, जागिर खान?’

राजनीतिक आलोचना एकातिर हुँदै गयो अर्कोतिर उनी राजनीतिक गतिविधि गर्दै गइन्। पार्टी सदस्यता लिँदा नै उनले पार्टी नेतृत्वका लागि तयारी गरिरहेको  विश्लेषणसमेत भएको थियो। पार्टी सदस्यता लिँदा एमालेका एक नेताले भनेका थिए- ‘पार्टीको सदस्यमा मात्र बस्नका लागि सदस्ता लिएको होइन। यसमा ठूलो अर्थ छ।’

नभन्दै भण्डारीले पार्टी सदस्यता लिएको तीन महिनापछि एमालेमा हलचल आउने गरी अभिव्यक्ति दिइन्। १३ साउन २०८० मा हिमालयन टेलिभजनमा प्रसारित अन्तर्वार्तामा उनले भनेकी थिइन्– ‘एमाले अध्यक्ष हुनेबारे मैले केही धारणा बनाएको छैन। तर मिश्रित प्रतिक्रियाहरु आइरहेका छन्। भेटेका बेला मलाई साथीहरुले भन्नु पनि हुन्छ। तर मैले अहिले एमालेमा नेतृत्व अभाव देखेको छैन।’

उनले अध्यक्ष ओलीको विकल्पको खोजी पार्टीभित्र भइरहेको दाबीलाई बल पुग्ने गरी नेता कार्यकर्ता राम्रो नेतृत्वको खोजीमा लागेको बताएकी थिइन्। ‘सबैले मन पराएको (एमाले अध्यक्ष बन्नुपर्छ भन्दा) कसलाई बेखुशी लाग्छ र? मलाई पनि खुशी लाग्छ। उहाँहरु पनि राम्रो नेतृत्व को हुन सक्छ भन्ने छलफलमा लागेको हुनसक्छ,’ भण्डारीले भनेकी थिइन्।

उनी यसरी सार्वजनिक रुपमा अभिव्यक्ति दिनेमात्र होइन। आफ्नो सक्रियतालाई पूर्वदेखि पश्चिमसम्म बढाउँदै लगेकी छिन्। भण्डारीको सक्रियता बढेपछि एमाले अध्यक्ष ओलीलेसमेत भण्डारीसँग भेट गरेको कुरा बाहिर आएको थियो।

दुईबीचको भेट कुनै अन्यथा नरहेको भन्दै ओलीले कार्यक्रतालाई सम्झाउनु परेको थियो। ‘पार्टीभित्र कुनै समस्या ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ। पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीको पूर्वउपाध्यक्ष हो। पार्टीको आदरणीय व्यक्तित्व हो। उहाँसँग कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन’, २८ साउन २०८० मा पार्टी कार्यलयमा भएको पत्रकार सम्मेलनमा उनले भनेका थिए।

ओलीको प्रशंसा, भण्डारीलाई सम्मान

राजनीतिक सक्रियता बढाउँदै भण्डारी विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहिन्  जसमध्ये दुई राजनीतिक कार्यक्रम चर्चामा रहे, एक ओलीलाई भण्डारीले गरेको प्रशंसा र अर्को भण्डारीलाई एमालेले गरेको सम्मान।

१६ साउन २०८० मा काठमाडौँमा ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै भण्डारीले ओली समाकालिन नेताहरुमा ओली सर्वाधिक प्रभावशाली रहेको बताइन्।

उक्त भनाइपछि पुस्तक भन्दा बढी भण्डारीको उक्त भनाइ चर्चामा रह्यो।

१० बैशाख २०८१ मा एमालेले भण्डारीलाई सम्मान गरेको थियो। कम्युनिस्ट पार्टी स्थापनाको हीरक महोत्सवका अवसरमा भण्डारीलाई एमालेले ‘गणतन्त्र गौरव’कारुपमा सम्मान गरेको थियो।

हीरक महोत्सवमा समान्न ग्रहण गर्दै भण्डारीले कम्युनिस्ट पार्टीप्रति चिन्तासमेत व्यक्त गरेकी थिइन्। यसै पनि भण्डारीलाई अध्यक्ष बनाएर कम्युनिस्ट पार्टी एक बनाउने चर्चाकाबीच भण्डारीले कम्युनिस्ट पार्टी छिन्नभिन्न भएकोप्रति चिन्ता व्यक्त गर्नु अर्थपूर्ण थियो।

‘नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो हिरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समीक्षासमेत गरिनुपर्दछ भन्ने मलाई लागेको छ’, उनले त्यतिबेला भनेकी थिइन्, ‘सँगै स्थापना भएका अरु देशका कम्युनिस्ट पार्टीले किन, के, कति सफलता हासिल गरे? र के–कस्ता विफलता बेर्होर्नुपर्यो? नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट र विभाजन र साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुन्छ।’

ओलीलाई साथ राखेर भण्डारीले उद्घाटन गरेको त्यो कार्यक्रम

सामान्यत: भातृ संगठनमा पार्टी अध्यक्षलाई प्रमुख अतिथि बनाउने अभ्यास छ। तर एमालेको ‘राष्ट्रिय महिला भेला’मा अध्यक्ष ओलीलाई साथमा राखेर पार्टीको साधारण सदस्य रहेकी भण्डारी प्रमुख अतिथि र कार्यक्रम उद्घान गर्न पुगेपछि उनको राजनीतिमा बढेको सक्रियतालाई थप बल पुर्‍याएको थियो।

१६ जेठ २०८१मा ‘राष्ट्रिय महिला भेला’को उद्घाटन भण्डारीले गरिन् जहाँ केपी शर्मा ओली साथमा थिए। अध्यक्षलाई साथमा राखेर वर्षदिन अघि पार्टीको साधारण सदस्य लिएकी भण्डारीले कार्यक्रम उद्घाटन गर्नुलाई राजनीतिक विश्लेषकहरू अर्थपूर्णरुपमा हेर्छन्।

अहिले भण्डारी सार्वजनिक रुपमा कार्यकर्ताले चाहेमा पार्टी अध्यक्ष बन्न तयार रहेको बताउँदै आएकी छिन्। भण्डारीलाई पार्टीको एक पक्षले भावी अध्यक्षका रुपमासमेत रहेको बताइन्छ।

उनलाई अध्यक्ष बनाउनका लागि काठमाडौँसहित बाहिरी जिल्लामा उनको पक्षमा माहोल बनाउन नेताहरू लागेकोसमेत बताइने गरिएको छ।

अहिले भण्डारी कुनै जिम्मेवारी छैनिन्। उनकै शब्दमा उनी स्वतन्त्र छिन्। रमाइलो गरिरहेकी छिन्। ‘कुनै जिम्मेवारीमा नभएपछि एकदमै रमाइलो भएको छ। आफ्नै रुटिन बनाएर हिँड्न पाइएको छ। अर्काको क्यालेन्डरमा चल्नु परेन। जिम्मेवारीको भार पनि कम भएको छ। स्वतन्त्रताको महसुस त छँदैछ’, उनले केही दिनअघि नेपाल खबरलाई दिएको अन्तर्वातामा भनेकी थिइन्।

यो पनि– एमालेमा पार्टी अध्यक्षको खोजी: सशंकित ओली, अघि बढिन् विद्या

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?