टुकुचामा को-को गाडिए?

टुकुचामा को-को गाडिए?
फाइल फोटो
+
-

काठमाडौँ – ‘अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु!’, काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साह (बालेन)ले दिएको धम्कीको आज बिहीबार १० दिन भयो।

चैत्र ११ गते बालेनले तीन महिनादेखि कर्मचारीको तलब रोकिएको भन्दै यस्तो धम्की दिएका थिए। ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत तीन महिनादेखि तलब पाको छैन, सरकारको दम्भले!’, बालेनले भनेका थिए।

कर्मचारीको तलब रोकिनुको कारण महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुनु हो। गएको पुस ७ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कारबाही परेपछि महानरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो।

काठमाडौँ २८ पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएपछि उनलाई मेयर बालेनले कारबाही गरेका थिए।

तर गुरागाईंमाथि लागेको आरोप छानबिन समिति बनाएर छानबिन गर्दा पनि उक्त समितिले काम गर्न सकेन। समितिले समयावधिभित्र काम गर्न नसकेपछि म्याद थप भएन र प्रतिवेदन तयार नहुँदै समिति भङ्ग भएको थियो।

समिति भङ्ग भएपछि सहरी व्यवस्थापन विभाग, कानुन र सार्वजनिक निर्माण विभागलाई राय बनाउन भनेर बालेनले उक्त राय सामान्य प्रशासन मन्त्रालयलाई पठाएका थिए।

त्यसपछि सामान्य प्रशासन मन्त्रालयले गुरागाईंमाथि लागेको आरोप पुष्टि नभएको भन्दै उनलाई नै प्रमुख प्रशासकीय अधिकृतमा काम गर्न दिन महानगरलाई आग्रह गरेको थियो।

यो पनि– बालेन-ओली जुहारी: ‘प्रतिशोधपूर्ण’ सरकार, ‘अराजक’ मेयर

तर मेयर बालेनले उनलाई काम गर्न नदिने र अर्को कर्मचारी पठाउन संघीय सरकारलाई आग्रह गर्दै आएका थिए। गुरागाईंलाई बालेनले काम गर्न नदिने र संघीय सरकारले अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि महानगरका कर्मचारीले तलब रोकिएको हो।

सरकारले आफ्नो आग्रह नमानेको भन्दै रिसाएका मेयर बालेनले चैत्र ११ गते सबैलाई टुकुचामा गाड्दिने धम्की दिएका थिए। राजसंस्थापक्षधर र गणतन्त्रपक्षधरले चैत्र १५ गते गर्न लागेको आन्दोलनलाई पनि लक्षित गर्दै उनले सामाजिक सञ्जालमा लेखेर धम्की दिएका थिए।

‘को-कोले के-के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु! त्यो पछि हेरौँला तिमिहरूको के-के तन्त्र हो!!’, उनले भनेका थिए।

उनले गाड्ने भनेको कसलाई हो त्यो कुनै व्यक्तिलक्षित छैन। उनको स्टाटसको सारले भने प्रमुख प्रशासकीय अधिकृत पठाउने अधिकार रहेको प्रधामन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्‌लाई बुझाउँछ।

मेयर बालेनले स्टाटस लेख्दै दिएको धम्कीको हप्ता दिन बढी हुँदा पनि महानगरका कर्मचारीले तलब पाउन सकेका छैनन्। हप्ता दिनसम्म संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत पनि पठाएन।

तर टुकुचामा को-को गाडिए? गाड्नु सम्भवको कुरा थिएन। फगत मेयर बालेनको अराजक अभिव्यक्ति थियो। भलै त्यो आक्रोशको अभिव्यक्ति किन नहोस्।

बालेनको अवरोधबीच गुरागाईंको कार्यालय फिर्ती


हप्ता दिनमा कसैलाई गाड्ने मेयर बालेनको अभिव्यक्ति सम्भव थिएन। लोककल्याणकारी राज्यमा कसैलाई ज्यानै लिनेसम्मको अभिव्यक्ति असम्भव स्वाभाविक नै हो। त्यसैले पनि गाड्ने काम भएन।

बरु मेयर बालेनको धम्कीको १०औँ दिनमा उनैले हटाएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको कार्यालय फिर्ती भएको छ। गुरागाईंको सुखद् कार्यालय फिर्ती नभए पनि तीन महिनापछि उनले हाजिरी सुरु गरेका छन्।

तीन महिनापछि कार्यालय फर्किँदा पनि उनले बालेनको अवरोध खेप्नु पर्‍यो। नगरप्रहरीको प्रवेश निषेधकाबीच वडाध्यक्ष र कर्मचारीको जबरजस्ती सहयोगमा उनले कार्यकक्षमा प्रवेश पाएका छन्।

कार्यकक्षमा ताला लागेपछि ढोका फुटाएर उनलाई प्रवेश गराइएको थियो। जसमा उपमेयर सुनिता डङ्गोलले पनि साथ दिएकी थिइन्। डङ्गोलले कोठाबाट निर्देशन नदिन मेयर बालेनलाई चेतावनी दिँदै समस्या समाधान गर्न भनेकी थिइन्।

महानगरका प्रवक्ता नवीन मानन्धरले आज कार्यालय प्रवेश भएको र भोलिदेखि नियमति काम गर्ने बताए। उनले रोकिएको तलब समस्या तत्कालै समाधान हुने पनि जानकारी गराए।

‘अब नागरिकको र कर्मचारीको सेवामा उहाँ (गुरागाईं) खटिनु हुनेछ। तलब समस्या पनि समाधान हुनेछ’, पालिकाभित्र पत्रकारसँग छाटो प्रतिक्रिया दिँदै उनले भने।

यो पनि– प्रमुख प्रशासकीय अधिकृत प्रकरण: सिंहदरबारको ‘दादागिरी’ कि बालेनको गल्ती?

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?