सिमकोट – बलौटे माटो र ढुङ्गाले भरिँदा उजाड देखिने बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर आठ वर्षको अवधिमा बजारमा परिणत भएको छ। वडा र गाउँपालिका बिभाजन गर्दा हिमाली गाउँपालिकाको केन्द्र तोक्ने निर्णयले हालको धुलाचौर बजारमा परिबर्तन हुन संम्भव भएको हो।
२०७३ सालसम्म धुलाचौर ढुङ्गा र माटोले भरिएको घोडेटो बाटो भएको उजाड बनका रुपमा रहेको उक्त बाटो भएर तीसौ वर्ष पार गरेका हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका– १ का मक्क खड्काले बताए। एक दुई गोठहरु मात्र भएको धुलाचौर अहिलेको अवस्थामा आउला भन्ने सोचिएको थिएन। अहिले धुलाचौरको अवस्था हेर्दा गरेपछि हुने रहेछ भन्ने सावित भएको छ। पहिलेको पैदल मार्ग र अहिलेको सडक सञ्जालवाट पनि हुम्ला आउने मुख्य नाकाका रुपमा धुलाचौर पर्छ। हाल दक्षिणी हुम्लाका धेरै मानिसले धुलाचौरमा ब्यापार ब्यवसाय समेत गर्दै आएका छन्। अर्को कुरा हुम्लावासीले धुलाचौरको बजारबाट सामानहरु खरिद गरेर पनि ल्याउने गर्छन।
झारपात र ठुलठुला ढुङ्गाले भरिएको धुलाचौर अहिले पुर्ण रुपमा बजारमा परिणत भएको देख्दा सबै आश्चार्य चकित हुने गरेका छन।
कुनै समय भुतप्रेत तर्साउन ठाउँका रुपमा चिनिँदै आएको भएपनि अहिले चौबीसै घण्टा मानिस र यातायातका साधनहरुको चहलपहल हुने गरेको थियो। अहिलेको अवस्थामा धुलाचौर परिवर्तन होला भन्ने सोचिएको थिएन। यो सवै संघियताको उपलब्धी हो। अहिले कर्णाली र सुदूरपश्चिमका गरि दश जिल्लाका मानिसहरु धुलाचौरमा ब्यापार ब्यवसाय गर्दै आएका छन। दोस्रो कार्यकाल गाउँपालिका अध्यक्षमा निर्वाचित हुन सफल गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले सबै वडालाई पायक पर्ने र भौतिक संरचना निर्माण गर्न सहज हुने भएको कारण धुलाचौर गाउँपालिका केन्द्रमा छनौट भएको बताए।
धुलाचौरको जग्गा सबै सार्वजनिक हो। कानूनी रुपमा गाउँपालिका जग्गा आफुले उपभोग गर्ने बनाएको छ। २०७३ सालमा धुलाचौरलाई हिमाली गाउँपालिकाको केन्द्र तोक्ने निर्णय भएको र २०७४ सालका स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको कार्यालय सरेको हो। गाउँपालिकाका संरचना बाहेक धुलचौरमा कर्णाली करिडोरको सडक जोडिएको छ।
त्यसैगरि स्वास्थ्य चौकी, खानेपानी, प्रहरी चौकी, रेडक्रसको भवन, खेल मैदान, कोल्डस्टोर, औधोगित ग्रामको निर्माण, विद्युतीकरण समेत जोडिएको छ। सायद संङ्घीयता नआएको भए अहिलेका धुलाचौर यस्तो हुन सक्ने अवस्था नरहेको बताउदै उनले यो सवै देन संङ्घियताको भएको बताए। भुभाग बाजुरा जिल्लाको भएपनि हुम्ला जिल्ला धुलाचौरको सडक भएर जानु पर्ने भएको कारण हुम्लावासीको चहलपहल पनि बढी हुने गर्छ। अहिलेको संरचना काम चलाउ रुपमा निर्माण भएको र अब यसलाई ब्यवस्थित रुपमा अगाडी बढाउनु आवश्यक रहेको अध्यक्ष मल्लले बताए। गाउँपालिका केन्द्रमा तीन सय भन्दा बढी पक्की घर र टहराहरु निर्माण भएका छन्। ती टहराबाट गाउँपालिकाले ब्यवसाय कर समेत उठाउने गरेको छ।