वेदको अध्ययन र वैदिक यज्ञको अनुष्ठान

वेदको अध्ययन र वैदिक यज्ञको अनुष्ठान
+
-

विषय प्रवेश

उपनयनसंस्कार विधिपूर्वक गरेर शुद्धकुलीन ब्राह्मणलाई शास्त्रीय विधिले वेद पढाउने विधान धर्मशास्त्रमा गरिएको छ। वेदाध्ययन गरेपछि तदनुसारको आचरण पनि यथाशक्ति गर्नुपर्ने निर्देशसमेत शास्त्रमा दिइएको पाइन्छ। वेदमा विशेष गरेर यजुर्वेदमा यज्ञहरूकै विशेष विधान अधिक मात्रामा पाइन्छन्।  “वसन्तेवसन्ते ज्योतिषा यजेत” (प्रत्येक वसन्त ऋतुमा ज्योतिष्टोम अर्थात् सोमयाग गरोस्) भन्ने वेदको विधान छ।

यो विधान अधिकारी गुरुबाट विधिपूर्वक सुनेर स्वशाखावेदका अर्थात् आफ्ना कुलपरम्परामा पढिँदै आएका वेदका कम्तीमा पनि मन्त्रसंहिता, ब्राह्मणग्रन्थ र कल्पशास्त्र तथा कल्पशास्त्रका परिशिष्टग्रन्थ पढेका तथा धनधान्यले समृद्ध विद्वान् अधिकारी द्विजातिका निम्त हो। यो विधि तिनैमा मात्र लागु हुन्छ, अरूमा लागु हुँदैन। शास्त्रानुसार विचार गर्दा जोपाइ व्यक्तिले जसरीतसरी बल गरेर वैदिक यज्ञ गर्ने पनि हैन भन्ने बुझिन्छ। आफूसित यज्ञ गर्ने सामर्थ्य अर्थात् पर्याप्त धन नभएका विद्वान् द्विजाति व्यक्तिले विधिपूर्वक वेद पढेर मात्र पनि तीती यज्ञ गरेको फल पाउने कुरा वेदादि शास्त्रमै उल्लिखित छ। जस्तै कृष्णयजुर्वेदीय तैत्तिरीय आरण्यकको उल्लेख

तस्मात् स्वाध्यायोऽध्येतव्यो यंयं क्रतुमधीते तेनतेनास्येष्टं भवत्यग्नेर् वायोरादित्यस्य सायुज्यं गच्छति (२।१५)।

अर्थात् त्यसैले स्वशाखावेदको विधिपूर्वक अध्ययन गर्नुपर्छ, जसले वेदको जुनजुन यज्ञप्रतिपादक भागको अध्ययन गर्छ उसले त्यसत्यस यज्ञको अनुष्ठान गरेको नै हुन्छ र ऊ अग्नि, वायु र आदित्यको समानतामा पुग्छ।

याज्ञवल्क्यस्मृतिमा पनि नित्य वेदपाठ गर्ने व्यक्तिले वेदको जुनजुन यज्ञप्रतिपादक भागको अध्ययन गर्दछ त्यसत्यस यज्ञको फल पाउँछ भन्ने उल्लिखित छ। साथै त्यहाँ धनधान्यले सहित पृथिवीको तीन पटक दान गरेको फल र चान्द्रायणादि व्रत गरेको फल पनि नित्य वेदपाठी द्विजले पाउने कुरासमेत बताइएको छ

यंयं क्रतुमधीते च तस्यतस्याऽऽप्नुयात् फलम्।।
त्रिर्वित्तपूर्णपृथिवीदानस्य फलमश्नुते।
तपसश्च परस्येह नित्यं स्वाध्यायवान् द्विजः।। (१।४७-४८)

यसबाट ब्राह्मणले अवैध तरिकाले यज्ञ गर्न बल गर्न हुँदैन भन्ने पनि बुझिन्छ। यस्तो वस्तुस्थिति आस्तिक सज्जनहरूले राम्ररी बुझ्नुपर्ने हो। तर नेपालका र भारतकै पनि धेरै आस्तिक व्यक्तिहरूले यो कुरा बुझेको देखिँदैन। त्यसैले उनीहरू अनधिकारी वा अधिकारी भनेर अविज्ञात, वैध शास्त्रीय वेदाध्ययन नभएका, अपरिचित व्यक्तिले अशुद्ध रूपमा गरेका अग्निहोत्रादि कर्मको पनि प्रसंशा गर्न पुगेका देखिन्छन्।

गलत तरिकाले वा अनधिकारीले वेद पढ्दा, यज्ञ गर्दा, असत् शास्त्र पढ्दा र ब्राह्मणहरूले दुराचार गर्दा कर्ताको मात्र हैन राष्ट्रवासी प्रजाको समेत अकल्याण हुने कुरा शास्त्रमा निर्दिष्ट छ। यस्तो वस्तुस्थिति विशेष स्मरणीय छ

दुरिष्टैर् दुरधीतैश्च दुराचारैर् दुरागमैः।
विप्राणां कर्मदोषैस्तैः प्रजानां जायते भयम्॥ ( यो श्लोक कूर्मपुराणादि ४/५ ओटा पुराणहरूमा पाइन्छ)।

यसको तात्पर्य राम्ररी बुझेर तदनुसार वैदिक सनातन वर्णाश्रम-धर्मको पालन गर्नाले समस्त लोकको कल्याण हुन्छ। ब्राह्मणले जथाभावी अविधिले यज्ञ गर्नाले, नियम मिचेर वेदमन्त्र अध्ययन-अध्यापन गर्नाले र सदाचार त्यागी दुराचार गर्नाले त कल्याण हैन अकल्याण हुन्छ, ब्राह्मणका कर्मदोषले प्रजामा भय पनि उत्पन्न हुन्छ भन्ने उक्त श्लोकको आशय हो। यस्तो कुरा शास्त्रमा सर्वत्र एकस्वरले भनिएको छ। जसको जेजस्तो सामर्थ्य छ, जसको जेजस्तो कर्माधिकार शास्त्रमा बताइएको छ, उसले तदनुरूप शास्त्रनिर्दिष्ट तत्तत् कर्म गरेमा मात्र उसको वास्तविक कल्याण हुन्छ भन्ने सनातन धर्मको मूल सिद्धान्त हो।

वेदमा “मधुश्च माधवश्च वासन्तिकावृतू” (शुक्लयजुर्वेदसंहिता १३।२५) भनेर मधु र माधव महिना वसन्त ऋतु भएको कुरा उल्लिखित छ। लगधमुनिद्वारा प्रणीत वेदाङ्गज्योतिषको गणनाअनुसार हिजो (२०८१।११।१६ मितिमा) परेको शुक्लपक्षको प्रतिपदादेखि माधवमास (वैशाख महिना) लागेको छ। वैदिक यज्ञ गर्दा यसै गणनापद्धतिअनुसार ऋतु, महिना, पक्ष र तिथि हेरेर कर्म गर्नुपर्ने हुन्छ। अचेल त जेलाई पनि वैदिक यज्ञ वा कर्म भनिदिने गलत प्रवृत्ति समाजमा चलेको देखिन्छ। त्यस्ता विधिहीन असत्कर्मबाट धर्मको नाश र पापको वृद्धि हुने भएकाले श्रद्धालु आस्तिक जन त्यस्ता कर्मबाट जोगिनुपर्छ।

नेपाल भूमण्डलमा बहुसङ्ख्यक वैदिक-सनातन-धर्मावलम्बीहरूको राज्यसमेत भएकाले यहाँ सनातनी हिन्दुहरूका मूल तत्त्वहरू सुरक्षित हुनुपर्ने मात्र नभै फष्टाउनु पनि पर्ने हो भन्ने धारणा धेरै हिन्दुहरूको रहेको पाइन्छ। हिन्दुहरूको मूल तत्त्वहरूमध्ये वेदको स्थान अद्वितीय छ। वेदमा यज्ञको प्रमुखता देखिन्छ। वेदको विधिपूर्वक अध्ययन गर्नु पनि अहिलेको स्थितिमा नेपालमा र भारतमा समेत सारै कठिन हुन आएको छ भने वैदिक यज्ञहरूको शास्त्रोक्त विधिले अनुष्ठान गर्नु त सधैँ नै कठिन रहँदै आएको थियो भन्ने बुझिन्छ। तथापि भारततिरका प्राचीन शिलालेखहरूमा वैदिक यज्ञका अनुष्ठानका स्पष्ट उल्लेखहरू पाइन्छन्। नेपालमा भने त्यस्ता उल्लेखहरू दुर्लभै देखिन्छन्। यस स्थितिमा नेपालमा श्रौत (वैदिक) यज्ञका अनुष्ठानको परम्परा कस्तो देखिन्छ र अहिले के स्थिति छ भन्नेतिर दृष्टि लगाउँदा देखा परेका केही कुरा पनि यस विषयमा रुचि राख्नेहरूका निम्ति सङ्क्षेपमा तल लेखिँदै छन्।

नेपालमा यज्ञानुष्ठानको परम्परा

नेपालको इतिहासको स्वर्णकाल भनिएको लिच्छविकालमा राष्ट्रभाषा संस्कृत रहेको देखिन्छ। त्यस समयका अभिलेखहरू प्रायः शुद्ध संस्कृत भाषामा रहेका छन्। नेपालको धार्मिक इतिहास लेख्ने इतिहास-लेखकहरूले वैदिक धर्मको मूलधारा वर्णाश्रम-धर्मको र वैदिक यज्ञको विषयमा छुट्टै केही नलेखी केवल वैष्णव, शैव र शाक्त धर्मका परिच्छेदहरू मात्र लेखेको पाइन्छ। त्यो वैदिक धार्मिक वास्तविक स्थितिको अज्ञानको परिणाम हो। तथापि नेपालको इतिहासका अभिलेखादि सामग्रीको अवलोकन गर्दा मूल वैदिक वर्णाश्रम-धर्मको र वैदिक यज्ञको पनि तिनमा सङ्केत पाइन्छ। लिच्छविकालमा धर्मदेवले धेरै श्रेष्ठ पशुहरू भएका र राम्रो मन्त्र प्रयोग भएका यज्ञहरू गरेको कुरा वि.सं. ५२० ज्येष्ठशुक्लप्रतिपदा (शकसंवत् ३८६) को मानदेवको चाँगुनारायण-शिलालेखमा उल्लिखित छ

ईजे सत्पशुभिः सुराननुगुणैः सम्पन्नमन्त्रर्द्धिभिः।
यज्ञैः कर्मविशुद्धदेहहृदयश्चन्द्रद्युतिः पार्थिवः।।”
(पद्य ५)

–नेपालको प्राचीन अभिलेख, हरिराम जोशी, ने.रा.प्र.प्र., २०३०, पृ. ६।

अभिलेखहरूमा याज्ञिक भन्ने उपनाम धेरै स्थलमा आएकाले लिच्छविकालमा वैदिक यज्ञको प्रचुर प्रचलन भएको भन्ने इतिहास-लेखक ज्ञानमणि नेपालको कथन छ (नेपाल निरुक्त, ने.रा.प्र.प्र., २०४०, पृ.१२३)। किन्तु हिजोआजको ‘दीक्षित’ जस्तै ‘याज्ञिक’ पनि कुलनाम भएको बुझिनाले त्यस्ता उल्लेखबाट मात्रै श्रौत यज्ञको प्रचुर प्रचार थियो भन्ने कुरा सिद्ध हुन सक्ने देखिँदैन। फेरि ‘लिच्छविकालमा नेपालमा सत्रयाग र वाजपेययाग गर्ने व्यक्ति पनि देखिएकाले र सत्रयाग गर्न धेरै अग्निहोत्रीहरू (?) चाहिने हुँदा लिच्छविकालमा वैदिक यज्ञको अनुष्ठान प्रचुर मात्रामा भएको देखिन्छ’ भन्ने कुरा पनि उक्त इतिहास-लेखकले बडो विस्तार गरी लेखेका छन् र त्यसलाई उत्साहपूर्वक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित गरिएको पनि छ (पृ. ८८-१३७)। किन्तु श्रौत यज्ञको राम्रो अध्ययन-मनन गरेको नदेखिने गरी लेख लेख्ने ती इतिहास-लेखकले लेखेको त्यो कुरा भ्रमपूर्ण देखिन्छ। ‘भट्टारकमहाराज श्रीमानदेवस्य साग्रं वर्ष-शतमाज्ञापतः सम्राड्गृहपतेस्पत्न्या’ भन्ने लेखाइको उनले लेखेको ‘शयवर्षभन्दा बढी राज्य गर्ने भट्टारक महाराज मानदेवको शासन चलेको वेला’ भन्ने अर्थ (पृ. ८८) मान्दा पाणिनिको “षष्ठी चाऽनादरे” (२।३।३८) भन्ने सूत्रका विचारबाट गृहपतिकी पत्नीले मानदेवको वा मानदेवको शासनको अनादर गरेको देखिन आउने हुँदा त्यो अर्थ अस्वीकार्य देखिन्छ। तसर्थ त्यो गृहपति सत्रयाग गर्ने गृहपति नभै मानदेवको गृहपतिव्यञ्जनक गुप्तचर मात्र भएकोजस्तो बुझिन्छ। गृहपतिकी पत्नीको सम्बद्ध कार्यले र त्यस कार्यको स्थलले पनि ती गृहपतिले सत्रयाग गरेको कुरा झल्काउनेजस्तो लाग्दैन।

त्यस ग्रन्थमा वैदिक यज्ञसम्बद्ध अन्य कुरा पनि अशुद्ध रूपमा प्रतिपादित छन्। जस्तै मनुस्मृतिको तलको श्लोकको ज्ञानमणिद्वारा गरिएको पूर्णतः अशुद्ध अर्थ यस्तो छ

योऽनाहिताग्निः शतगुरयज्वा च सहस्रगुः।
तयोरपि कुटुम्बाभ्यामाहरेदविचारयन्।।११।१४।।

“सयभन्दा बढी गाई पाल्ने भईकन पनि दान नगर्ने हजार गाई पाल्ने भईकन पनि यज्ञ नगर्ने यी दुवै थरी मानिस सजायका भागी हुन्छन्, दण्ड गरी यिनको धन जफत गर्नू” (पृ. १२८)। यस श्लोकको वास्तविक अर्थ यस्तो हुन्छ(सोमयाग गर्नेको विशेष गरेर ब्राह्मणको सोमयाग कुनै तीन अथवा दुई द्रव्यका अभावले रोकिन्छ भने त देशमा धार्मिक राजा हुँदा त्यस देशमा) जो सय गाई राख्न सक्ने धन हुँदाहुँदै पनि श्रौत अग्निको आधान नगर्ने अथवा हजार गाई राख्न सक्ने धन हुँदाहुँदै पनि सोमयाग नगर्ने ब्राह्मण अथवा क्षत्रिय छ, ती दुवै प्रकारका ब्राह्मण र क्षत्रियका घरबाट ब्राह्मणले यज्ञ सिद्ध गर्न उक्त तीन अथवा दुई द्रव्य ‘ल्याऊँ कि नल्याऊँ’ यस्तो विचार नगरीकन ल्याओस् नै (द्रष्टव्य मनुस्मृति, अनुवादक शिवराज आचार्य कौण्डिन्न्यायन, चौखम्बा विद्याभवन, सन् २००८, पृ. ५२१)। यसबाट सय गाई पाल्न सक्ने सामर्थ्य भएकाले अग्न्याधान गरेर अग्निहोत्र गर्नुपर्ने र हजार गाई पाल्न सक्ने सामर्थ्य भएकाले सोमयाग गर्नुपर्ने वैदिक सिद्धान्त स्पष्ट हुन्छ। उक्त कतिपय विषयमा पहिला पनि लेखिसकिएको थियो (देशान्तर साप्ताहिक, २०५४।८।८)। तर ज्ञानमणि नेपालले यस विषयको मैले गरेका विमर्शात्मक टिप्पणीमा अध्ययन अगाडि बढाएर थप कुरा केही लेखेको अवगत भएको छैन।

मल्लकालमा श्रौत यज्ञ हुने गरेको चर्चा त्यति सुनिएको छैन। तथापि ललितपुरमा अग्निशाला भन्ने टोल भएको र त्यहाँ अग्निमठ-नामक घर भएको तथा मल्लकालदेखि चल्दै आएको अग्निको परम्परा त्यहाँ राजोपाध्याय-कुलले एलेसम्म बचाइराखेको कुरा सुनिन्छ। नेवारी भाषामा अग्निमठको परिचयको सानो पुस्तक पनि प्रकाशित भएको छ। यस विषयमा आभास राजोपाध्यायको स्नातकोत्तर-शोधपत्र पनि पाइन्छ। यस परम्पराको विस्तृत अनुसन्धान हुनुपर्ने देखिन्छ।

मकवानपुरे सेन राजाले गरिदिएका भूमिव्यवस्थाका आधारमा जीवनपुरे गोतामे(गौतम)-कुलमा अग्निहोत्रको परम्परा चलेको भन्ने सुनिन्छ। त्यस परम्पराका चन्द्रशेखरले चातुर्मास्ययाग पनि गरेका थिए भनी एक जना त्यसै वंशका व्यक्तिले जानकारी दिएका थिए। तसर्थ ‘पहिला नेपालमा चातुर्मास्ययज्ञ कहिल्यै पनि भएकै थिएन’ भन्ने धारणा वस्तुस्थितिको प्रतिकूल भएको बुझिन्छ।

अर्वाचीन कालमा वीर शम्सेरको संरक्षण पाएका नेपाली उपाध्याय ब्राह्मण शिरोमणि आचार्यले १९५६ वैक्रमाब्दतिर श्रौत यज्ञहरू गरेको विवरण आचार्यवंशावली भन्ने पुस्तकमा उल्लिखित छ (काशी १९५९, काठमाण्डु २०५६)। त्यसको केही वर्णन ‘भएका कुरा’ भन्ने ग्रन्थमा (काशीनाथ आचार्य दीक्षित, २०३१) पनि परेको देखिन्छ। किन्तु ती यज्ञहरू वाराणसीमा भएका र शिरोमणि आचार्यले स्वशाखाका मन्त्रसंहितादि ग्रन्थको राम्रो अध्ययन, मनन र अनुसरण गर्न नसकेकाले र कृष्णयजुर्वेदका अध्येता ऋत्विक् वरण गरेकाले ती यज्ञहरू अशुद्ध हुन गएको पनि बुझिन्छ। त्यसरी यज्ञ अशुद्ध हुन गएकामा ध्यान आकृष्ट गर्दा पनि राजकाजी मान्छे भएर हो कि किन हो शिरोमणिले वास्ता गरेनछन्। उनका छोरा काशीनाथ आदीले पनि ‘भएका कुरा’ भन्ने ग्रन्थमा काशीका ‘सप्तर्षि’ वैदिकहरूले त्यस विषयमा ध्यानाकर्षण गरेका थिए भन्ने उल्लेखसम्म त गरेका छन् (पृ.१६९)। ती अशुद्धिका निदर्शनहरू ‘वैदिक धर्म मूल रूपमा’ भन्ने ग्रन्थमा पनि देखाइएका छन् (शिवराज आचार्य कौण्डिन्न्यायन, स्वाद्ध्यायशाला, प्र.सं. २०४५, पृ.१६४, १६६, तृ.सं. २०८०, पृ. ८४३, ८४५)। ती अशुद्ध यज्ञहरूबाट अरू अनिष्ट भयो-भएन थाहा हुँदैन, ती यज्ञ गर्न धन दिने व्यक्तिचाहिँ अल्पायुमै उपाधि निस्किएर मरे भन्ने सुनिन्छ। शिरोमणिका सन्ततिमा पनि अर्थकामपरायणता वा सेवकवृत्ति नै मौलाउँदै गएको, वेदवेदाङ्गको अध्ययन र ब्राह्मणत्व भने क्षीण नै हुँदै गएको देखिन्छ।

पछिसम्म पनि नेपालमा सार्वजनिक सम्पत्तिबाट भत्ता खाएर अग्निहोत्र गर्ने केही अग्निहोत्री भनिने व्यक्ति रहेको इतिहास पाइन्छ। तर वैदिक यज्ञ विद्वान् र धनवान् समर्थ व्यक्तिले गर्नुपर्ने विधान भएकाले उक्त कुरा वैदिक परम्पराको अनुकूल देखिँदैन। ब्राह्मण जितेन्द्रिय भएर वेद पढ्नाले मात्र पनि कृतार्थ हुने, गृहस्थ धर्मको निर्वाह गर्न पर्याप्त सम्पत्ति भएका सदाचारी ब्राह्मणले मात्र विवाह गर्ने, अनि धर्म्य (धर्मशील) सन्ततिको उत्पादन गर्ने र तिनको भरणपोषण गर्ने, त्योभन्दा पनि बर्ता धन भएमा सदाचारी वेदाध्येता विद्वान् ब्राह्मणहरूलाई दान दिने र त्योभन्दा पनि बढी धन भएमा चाहिँ यज्ञ गर्ने भन्ने क्रम वैदिक सनातन वर्णाश्रम-धर्ममा मान्य छ। यस विषयको राम्ररी प्रतिपादन महाभारतको शान्तिपर्वमा यसरी गरिएको छ

ब्राह्मणस्य तु यो धर्मस् तं ते वक्ष्यामि केवलम्।
दममेव महाराज धर्ममाहुः पुरातनम्।
स्वाध्यायाभ्यसनं चैव तत्र कर्म समाप्यते।
तं चेद् वित्तमुपागच्छेद् वर्तमानं स्वकर्मणि।।
अकुर्वाणं विकर्माणि शान्तं प्रज्ञानतर्पितम्।
कुर्वीताऽपत्यसन्तानमथो दद्याद् यजेत च।।
संविभज्य हि भोक्तव्यं धनं सद्भिरितीर्यते।
परिनिष्ठितकार्यस्तु स्वाध्यायेनैव ब्राह्मणः।।
कुर्यादन्यन् न वा कुर्यान् मैत्रो ब्राह्मण उच्यते। (६०।८–१२)

उल्लिखित प्रकारका अग्निहोत्रीले विगतमा यज्ञको शुद्ध प्रयोग गर्न सकेको पनि बुझिँदैन। पाँच प्रयाजमध्येका सबै प्रयाज सबै गोत्रका ब्राह्मणहरूको एउटै हुँदैनन्, दोस्रो प्रयाज भिन्न हुन्छ। तर त्यस्तो स्पष्ट वैदिक विधानको समेत उनीहरूलाई ज्ञान नभएको पनि देखिन्छ। एक जना तात्कालिक नेपाली विशिष्ट मीमांसक विद्वान्ले तिमीले गरेको दर्शपूर्णमासको प्रयाज अशुद्ध भयो भनी ध्यानाकर्षण गरिदिँदा त्यसलाई विद्वान्को आफू‌माथि भएको कृपा मानी ऊहापोह गरेर अशुद्धि हटाउनतिर नलागी रिसाउनतिर मात्रै लागेका र अशुद्धै यज्ञ गरिरहेका थिए भन्ने कुरा यस लेखकले गुरुमुखबाट सुनेको हो। हिजोआजका शुक्लयजुर्वेदी अग्निहोत्री भनिने नेपाली र भारतीयहरूले समेत दर्शपूर्णमास याग गर्दा अनुसरण गर्ने गरेको नित्यानन्द पन्त पर्वतीयद्वारा रचित कातीयेष्टिदीपक (दर्शपूर्णमास­पद्धति) धेरै स्थानमा अशुद्ध भएको कुरा वेदाध्ययन-मननशील शोधकर्ता व्यक्तिबाट प्रकाशमा आइसकेको छ (“वैदिक परम्परा र त्यसको संरक्षण”, गोरखापत्र २०४३।१।२०,  वैदिक धर्म मूल रूपमा, शिवराज आचार्य कौण्डिन्न्यायन, प्र.सं. २०४५, पृ.१५७ टिप्पणी-२, तृ.सं. २०८०, पृ. ८३३ टिप्पणी-३)। तथापि अर्थकामपरायण व्यक्तिहरूलाई सार्वजनिक सम्पत्तिबाट भत्ता खान र सर्वसाधारणबाट चन्दा उठाएर अर्थलाभ गर्न तथा अविवेकी लोकबाट पूजा पाई लोकका अगाडि ढोङ देखाउन र लोकवञ्चन गर्न पाए पुगिहाल्ने रहेछ क्यारे, उक्त कुरामा कसैले उक्त ग्रन्थमा केकति स्थानमा केकस्ता अशुद्धि परेका छन् भनेर न्यायपूर्ण रीतले जिज्ञासा गरेको वा शुद्धै छ भनेर उत्तरदायित्व लिएर भन्न सकेको पनि पाइँदैन। परिस्थिति यस्तै छ। वैदिक यज्ञको मूल आधार स्वशाखावेदको विधिपूर्वकको पूर्ण अध्ययन नै नेपालमा तथा भारतमा पनि विरल हुन गएको देखिन्छ। वैदिक यज्ञ बुझ्न आवश्यक पर्ने ६ वेदाङ्गहरूको र मीमांसाशास्त्रको अध्ययनको अवसर त अझ दुर्लभ छ। त्यसैले विद्यामा र धर्ममा नै अशुद्धि घुसेकाले नेपालमा र भारतमा पछिल्लो समयमा वैदिक विद्या, धर्म, सत्य, न्याय दुर्बल भएका देखिन्छन्। सर्वत्र अनाचार, दुराचार, भ्रष्टाचार, छलछद्म र ठगी फैलिन गएको देखिन्छ।

उपसंहार

अधिकांश जनता हिन्दुहरू भएको राज्य नेपालमा वेदवेदाङ्गादि शास्त्रको र तन्मूलक धर्मको यथार्थ रूपमा मर्यादा रहोस्, श्रौत (वैदिक) यज्ञ मूल शास्त्रअनुसार शुद्ध रूपमा हुन सकुन्, अशुद्ध यज्ञबाट आसुरी शक्ति बढेर दैवी शक्ति क्षीण भै निश्छल धार्मिक सज्जनहरूमा आपत्ति नओइरियोस्, विद्या, धर्म सत्य, न्यायको पक्ष बलियो हुँदै जाओस्, छलछद्म, दम्भ र दुर्भावहरू हराउँदै जाउन्, हिन्दु जनताको, वेदवेदाङ्गादि शास्त्रको र धर्मको चेतना बढोस् र तिनमा विवेकपूर्ण श्रद्धा जागोस्, नैतिकताको स्तर कायम होस्, राष्ट्रको समुन्नति होस् भन्ने कामना गर्दै यो लेख जनसमक्ष प्रस्तुत गरिएको हो। वैदिक यज्ञका विषयमा थप चर्चा आगामी लेखहरूमा गरिनेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?