यात्रु तर्साउने ‘त्रिभुवन विमानस्थल’: कहिले चोरी, कहिले दुर्व्यवहार!

यात्रु तर्साउने ‘त्रिभुवन विमानस्थल’: कहिले चोरी, कहिले दुर्व्यवहार!
फाइल तस्बिर ।
+
-

देशको समग्र चित्र देखाउने एउटा महत्वपूर्ण द्वार हो, त्रिभुवन विमानस्थल।जहाँ पाइला टेक्दा सौहार्दता र सुरक्षाको ग्यारेन्टी अनुभूत हुनुपर्नेमा उल्टो यात्रु त्रासमा हुने गरेका छन्।


काठमाडौँ–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालबाट अष्ट्रेलिया पुग्दा प्रजिता बानिया क्षेत्रीको सुटकेस सग्लो थिएन। एक छेउ काटिएको थियो। उनको सुटकेस काटिएको मात्र कहाँ हो र, त्यहाँ भएका गरगहना चोरिएको थियो।

सिंगापुर एयरलाइन्सको एसक्यू ४४१ नम्बरको फ्लाइटमा उडेकी उनको सुटकेसबाट घाँटीमा लगाउने सिक्री र हातमा लगाउने सुनको बाला झिकिएको थियो।

यो घटना भएको हप्ता दिन पनि भएको छैन। २३ फेब्रुअरी अर्थात यही फागुन ११ गते उनी काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट उडेकी थिइन्। ब्यागको सुरक्षा जाँच गर्दा सेक्युरीटीले भनेका थिए– ‘यहाँ सुन रहेछ नि।’

बानियाँले केही नक्कली र केही सक्कली सुन रहेको जानकारी गराएकी थिइन्। उनका अनुसार चोरले सक्कली सुनमात्र लगेका थिए।

पहिलोपटक अष्ट्रेलिया उडेकी उनले त्यो सुन विवाहमा पाएकी हुन्। सुन मात्र थिएन त्यो, त्यससँग जिन्दगीको अविस्मरणीय सम्झना जोडिएको छ। त्यही सम्झनामा कुन आँखा लागिपर्‍यो र चोरी लग्यो?

उनको अनेक शंका छन्।

अहिले उनले मन बुझाउन भए पनि सिंगापुर एयरलाइन्सलाई लिखित उजुरी भने गरेकी छिन्, घटनाबारे। उजुरीको जवाफ कहिले आउँछ, उनी पर्खाइमा छिन्।

त्रिभुवन विमानस्थलबाट उड्ने र यहाँ ओर्लिने यात्रुहरूले यस्ता घटना भोगिरहेका हुन्छन्। यसअघि पनि यस्ता घटना पटक–पटक बाहिरिने गरेको छ। पैसा, कपडा, मिठाइका साथै चकलेटसमेत चोरिएको घटना छन्।

२०७३ सालमा त यस विमानस्थलमा साउदीबाट फर्किएका १८ नेपालीको लगेज नै चोरी भएपछि छानबिन समिति बनेको थियो। तर ती  ब्याग कसले लगेको भन्ने पत्ता लागेको थिएन। अहिले पनि विभिन्न समयमा यात्रुहरूले सुटकेस काटिएको र सामान चोरी भएका घटना सुनाउने गर्छन्।

सुरक्षाको मजबुत व्यवस्था गरिएको विमानस्थलमा पटक–पटक सामान कसरी चोरी हुन्छ? प्रश्न उठिरहेको छ। सुरक्षा जाँच पास भएपछि सुटकेसको पूर्ण जिम्मेवारी विमानस्थल र एयरलाइन्स कम्पनीको हो।

जहाजमा राख्ने र जहाजबाट निकाल्नेसम्मको काममा यात्रुको संलग्नता हुँदैन। जाँच पास भएको लगेज यात्रुले पाउने भनेको अर्को एयरपोर्टमा जहाँजबाट ओर्लिएपछि क्लेम अर्थात लगेज लिने ठाउँमा पुगेपछि मात्र हो।

क्षेत्रीको सुटकेस कहाँ काटियो? कहाँ चोरी भयो? त्रिभुवन विमानस्थल टर्मिलन म्यानेजमेन्टका एक कर्मचारी भन्छन्– ‘त्यो विमानस्थलसँग सम्बन्धित होइन। एयरलाइन्ससँग सम्बन्धित हो।’

ती कर्मचारीले यात्रुको व्यागको सुरक्षा लिने जिम्मेवारी पूर्णरुपमा एयरलाइन्स कम्पनीको भएको बताए। ‘सुरक्षा जाँच पास भएपछि व्यागेजहरू पूर्ण जिम्मेवारी एयरलाइन्स कम्पनीको हो। विमानस्थलको होइन। एयरलाइन्सकै कर्मचारीहरूले व्यागलाई लोड–अनलोन (राख्ने–निकाल्ने) गर्ने हो’, उनले भने।

विमानस्थल सुरक्षा प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौर विमानस्थलभित्र चोरी हुने सम्भावना नरहेको बताउँछन्। ‘सबै ठाउँमा सिसिटिभी क्यामेराबाट निगरानी गरिएको छ। विमानस्थलमा चोरी हुने सम्भावना छैन’, उनले भने।

त्यसो भए व्याग कसले काट्न सक्छ? कहाँ चोरी हुन्छ? कसले चोरी गर्छ? विमानस्थल र एयरलाइन्सको जिम्मामा छाडिहिँडेको यात्रुले कसलाई भन्ने? राठौर भन्छन्– ‘एयरलाइन्सलाई भन्ने।’

उनले सामान चोरीका घटना जहाजभित्र नै हुन सक्ने बताए। ‘जहाजभित्र सिसिटीभि क्यामेरा पनि हुँदैन। त्यहाँ पनि सामान चोरी हुन सक्छ। यस्ता घटना लामो दुरीमा यात्रा गर्दा ट्रान्जिट (जहाज परिवर्तन गर्ने एयरपोर्ट) मा भएको पनि हुन सक्छ’, उनले भने।

एसएसपी राठौर चोरी भएको सामान पत्ता लगाउन लगभग असम्भव जस्तै भएको बताउँछन्। ‘विमानस्थलमा त सिसिटिभी हुन्छ। यहाँ चोरी भएको देखिने भयो। जहाजभित्र सिसिटिभी हुँदैन। त्यहाँ चोरी भएको कसरी थाहा पाउने। चोरीको सामान पत्ता लगाउने गाह्रो हुन्छ’, उनले भने।

यस्ता चोरीका घटनामा विमानस्थल एयरलाइन्सको जिम्मेवारी भन्दै पन्छिन खोज्ने यो प्रवृत्तिले यात्रुलाई थप तर्साएको छ। विमानस्थलदेखि विमानस्थलसम्मको सम्बन्धबाहेक यात्रुलाई अन्य थाहा हुने विषय होइन।

त्यो सम्बन्ध जोड्ने एयरलाइन्स दोस्रो पक्ष हो। एयरलाइन्स चोर हो कि सज्जन? यात्रुले कसरी पत्ता लगाउने? चोर एयरलाइन्सलाई यात्रु बोक्न दिने विमानस्थल गैरजिम्मेवार बन्न पाउँदैन।

यात्रुको यात्रालाई विदाइ गर्ने र स्वागत गर्ने विमानस्थलले चोर एयरलाइन्सलाई कसरी यात्रु बोक्न अनुमति दिने गरेको छ? गम्भीर प्रश्न हो। यात्रुको गुनासोका आधारमा त्यस्ता एयरलाइन्सलाई विमानस्थलले के गर्ने गर्छ? एसएसपी राठौर भन्छन्– ‘हामीले सम्झाउने गरेका छौँ।’

तर त्यस्ता एयरलाइन्सलाई कार्वाही गरेको विषयबारे उनले बताएनन्।

यात्रुलाई हैरानी

त्रिभुवन विमानस्थलमा ओर्लने यात्रुले व्याग काटिने, सामान हराउने मात्र समस्यामात्र होइन। विमानस्थलमा अनेकन नाममा दिइने दु:खले यात्रु हैरानीमा छन्।

करिब महिना दिनअघि माघ २३ गते विमानस्थलको व्यवहारप्रति लामो गुनासो गरेका थिए, एक अध्येताले। अमेरिकाबाट नेपाल फर्किएका धनगढीका डा. दीर्घराज जोशीलाई त्रिभुवन विमानस्थलमा ४ घण्टासम्म दु:ख दिइएको थियो।

नेपालबाट बच्चाका लागि पठाइएको चाँदीको बालाभित्र सुन रहेको भन्दै त्यसदिन उक्त बालालाई घोट्ने, हथौडाले थोक्ने गर्दै जोशीमाथि विमानस्थलका कर्मचारीले थुनी दिनेसम्मको धम्की दिएका थिए।

‘म अमेरिकाबाट नेपालमा केही गरौँ भनेर सपरिवार फर्किएका थियौँ। मेरो लगेजमात्र १२ वटा थिए। एउटा लजेगमा चाँदी रहेछ भन्दै झिकियो। त्यहाँ त्यसै सुन रहेको छ भन्दै अनेकन दु:ख दिइयो’, उनले त्यसैदिन एक भिडियोमार्फत भनेका थिए, ‘त्यो चाँदीको बाला घरबाट आमाले नातिनातिनीका लागि पठाइएको थियो। त्यसमाभित्र सुन छ भन्दै कहिले घोट्ने, कहिले ठोक्ने गरियो। चारचार घण्टासम्म दु:ख दिइयो।’

उक्त विषय माथिल्लो तहका कर्मचारीमा पुगेपछि त्यसै आफूलाई घर फर्काइदिए तर चेकजाँचमा बसेका कर्मचारीले निकै दु:ख दिएको उनले गुनासो गरेका थिए।

दक्षिण कोरियाको यान्सु विश्वविद्यालयबाट औषधि र रसायन विज्ञानमा विद्यावारिधि गरेका उनले भाइरसविरुद्धको औषधिको आविष्कार पनि गरेका थिए।

अहिले उनी नेपालमै छन्। त्यसदिन उनले भनेका थिए– ‘चेक गर्न पाइन्छ। तर व्यवहारको कुरा हो। तँतँ भन्दै सेवाग्राहीलाई हकारेको छ। यसरी हुँदैन। यसले विदेशी नागरिकलाई के प्रभाव पार्छ होला।’

उनले तुरुन्त चेक गर्न बसेर अडर दिने त्यहाँको कर्मचारीको कुर्सी हटाउन पनि भनेका थिए। कुर्सीमा बसेको छ। सेवाग्राहीलाई हकारेको छ। कुर्सी हटाउनुपर्छ’, उनले भिडियोमा भनेका थिए ‘सामान्य मान्छेलाई कति प्रताडना हुन्छ?’

माथिल्लो तहका कर्मचारीको व्यवहारप्रति भने खुसी व्यक्त गरेका थिए। ‘मलाई पछि माथि लगियो। त्यहाँ गएपछि सिनियर कर्मचारीले गरेको व्यवहारप्रति म खुसी छु’, डा. जोशीले प्रशंसा गरेका थिए।

जोशीले जस्तै विमानस्थमाल विदेशबाट आएका नागरिकहरूले कर्मचारीले चेक गर्ने नाममा दु:ख दिने गरेको घटनाहरू बाहिरिरहेका हुन्छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?