आइतबार जर्मनीमा आम निर्वाचन भयो। यस निर्वाचनलाई ऐतिहासिक निर्वाचन भनिएको छ। विशेष गरेर युरोप र अमेरिकाले नजिकबाट हेरेको यो चुनावमा १९९० मा जर्मनी पुन:एकीकरण भएयताकै सर्वाधिक मत खसेपछि ऐतिहासिक मानिएको हो।
आइतबार भएको निर्वाचनमा ८३ प्रतिशत मत खस्यो। ८३ प्रतिशत मत खस्दा पनि जर्मनीमा पुन: चुनाव हुने आँकलनहरूसमेत हुन थालेका छन्।
चुनावको नतिजामा फ्रिडरिख मेर्ट्स नेतृत्वको कन्जर्भेटिभ पार्टीले जर्मनीको आमनिर्वाचनमा प्रतिस्पर्धी दलहरूलाई धेरै अन्तरले पछि पार्दै जित हासिल गरेको छ। तर उसले एकल सरकार बनाउने बहुमत प्राप्त गर्ने भने सकेन। कन्जर्भेटिभ पार्टीले अपेक्षा गरेअनुसार मत नपाएपछि यहाँ अस्थिरता हुने आँकलनलाई बल पुगेको छ।
आइतबार भएको मतदानबाट सबैभन्दा उत्साही भने चरम दक्षिणपन्थी दल ‘अल्टर्नेटिभ फर जर्मनी’ (एएफडी) भएको छ। उसले २० प्रतिशत मत पाउँदै दोस्रो स्थान प्राप्त गरेको छ। मेर्ट्सको क्रिश्चन डेमोक्याट्स (सीडीयू) सबैभन्दा ठूलो दल बने पनि उक्त दलले अपेक्षा गरिएको अर्थात् ३० प्रतिशतभन्दा कम मत पाएको र दक्षिणपन्थी एएफडीले दोस्रो स्थान पाएकोमा दुवै दल पूर्णत सन्तुष्ट छैनन्।
किनकी दुवैले अझै धेरै अपेक्षा गरेका थिए।
ठूलो दल भएपछि मेर्ट्स खुसी मनाइरहेका समर्थकलाई भने– ‘आज रातभरि हामी उत्सव मनाऔँ, भोलि बिहानैबाट काम गर्नु छ।’ उनले आफ्नो अगाडि देखिएका जिम्मेवारीबारे आफू जानकार रहेको बताए। तर सरकार बनाउनलाईनै चुनौती मानिएको छ।
प्रतिस्पर्धी एएफडीबाट चान्सलरको उम्मेदवार बनेकी एलिस वाइडलले समर्थकहरूको बलमा आफ्नो दललाई दोस्रो बनाउन सफल भए पनि उसले भने अझै धेरै जितको अपेक्षा भनेको थियो। मत परिणामपछि उक्त दलको मुख्यालय शान्त देखिएको छ।
सोमबार लागे लगत्तै आएको मत परिणामअनुसार एएफडीले अन्य भागभन्दा देशको पूर्वी भागमा अरू दलभन्दा धेरै मत पाएको छ। सार्वजनिक प्रसारक संस्था जेडडीएफको सर्वेक्षणअनुसार यो दलले पूर्वी क्षेत्रमा ३४ प्रतिशत मत कटाउने देखिएको छ।
‘जर्मनहरूले परिवर्तनका पक्षमा मतदान गरेका छन्’ वाइडलले भनिन्। उनले मेर्ट्सको दलले गठबन्धन सरकार बनाए पनि त्यो सफल नहुने दाबी गरिन्। ‘मलाई अर्को चार वर्ष पर्खनुपर्छ जस्तो लाग्दैन। हामी ताजा चुनावमा जान्छौँ।’ उनले भनिन्।
पूर्वी क्षेत्रबाहेकका सबै स्थानमा अन्य दलभन्दा धेरै मत पाएको सीडीयूले आफ्नो दलबाट चान्सलर बनाउन अर्को एउटा पार्टीसँग गठबन्धन गर्नुपर्ने हुन्छ। हालका चान्सलर ओलाफ शोल्ट्सको दल उक्त गठबन्धनमा सहभागी हुन सक्ने आँकलन गरिएको छ।
शोल्ट्सले तीन वटा दलको गठबन्धन गरेर बनाएको सरकार गत वर्ष ढलेको थियो। मेर्ट्सले यो निर्वाचनबाट कम्तीमा दुई वटा दलबीचको गठबन्धनबाट सरकार बन्न सक्ने गरी स्पष्ट जनादेश दिन मतदाताहरूलाई आह्वान गरेका थिए। त्यसले आफूलाई देशले सामना गरिरहेका समस्या समाधान गर्न सक्षम बनाउने उनको चुनावी वाचा थियो।
मेर्ट्सको पार्टीले एएफडीसँग गठबन्धन नगर्ने बताउँदै आएको छ। तर उनले गठबन्धन गर्ने भनेको सोशल डेमोक्र्याटले सबैभन्दा खराब नतिजा बेहोरेको छ। उक्त दलले १६.४ प्रतिशत मात्रै मत पायो।
हाल ६९ वर्षका मेर्ट्स यसअघि कहिल्यै मन्त्री भएका छैनन्। तर उनले युरोपमा बलियो नेतृत्व दिने वाचा गरेका छन्। आफ्नो सैन्य बजेट कटौती गर्नुपर्ने आन्तरिक दबाबबीच उनले युक्रेनलाई सहयोग बढाउने वाचा पनि गरेका छन्।
जर्मनी युक्रेनमा दोस्रो धेरै सैन्य सहयोग गर्ने देश हो। यो देशको अबको नेतृत्वले रुसविरुद्धको लडाइँमा पश्चिमा शक्तिहरूको विभाजनसँगै युक्रेनी राष्ट्रपतिलाई निरङ्कुश भएको आरोप लगाएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सामना गर्नुपर्ने छ।
यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्स र अर्बपति इलोन मस्कले एफडीकी नेतृत्वलाई खुलेर समर्थन गरेपछि त्यसले कैयौँ जर्मनहरूलाई चकित तुल्याएको थियो। यद्यपि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेर्ट्सको जितलाई स्वागत गरेका छन्।
युरोपेली देशहरूले पनि मेर्ट्सको जितलाई स्वागत गरेका छन्। यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले दुवै देशको सुरक्षा बनाउन मेर्ट्ससँग सहकार्य हुने अपेक्षा गरेका छन्।
फ्रान्सका राष्ट्रपति एमानुएल माँक्रोले विश्व र आफ्नो महादेशले सामना गरिरहेको चुनौतीविरुद्ध एक हुन आह्वान गरेका छन्। जर्मनीमा मतदानका लागि पाँच करोड ९२ लाख मानिसहरू योग्य रहेका मानिएको छ।