काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवद्धनका नेपाली राजदूतहरुले अग्रसरता लिनुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदुत र तीन महावाणिज्यदूतहरुसँग आयोजना गरेको अन्तरक्रियामा यस्तो बताएका हुन् ।
उनले राजदूतहरुलाई नेपालमा वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवद्धन महासंघले सहयोग गर्ने बताए । उनले महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरी लगानी प्रवद्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको बताए ।
उनले महासंघको संयन्त्रलाई भरपुर उपयोग गरी आर्थिक कुटनीति बिस्तार गर्न राजदूतहरुलाई आग्रह गरे । राजदूतहरुले वैदेशिक लगानी मुलुकमा भित्र्याउनको लागि अग्रसरता लिइदिनुपर्ने उनले बताए ।
उनले महासंघको विश्वभर करिव ५० निजी क्षेत्रका प्रतिनिधमुलक संस्था एवं चेम्बरहरुसँग सहकार्य गरिरहेको बताए । उनले वैदेशिक सदस्यता पनि दिने गरेको उल्लेख गर्दै विदेशी कम्पनी एवं संस्थालाई महासंघको सदस्य बन्न प्रोत्साहित गर्न सकिने धारणा पनि राखे ।
‘नेपालको आर्थिक कुटनीति धेरै मुलुकको प्राथमिकतामा परेको छ । धेरै देशहरुमा राजदूत र महावाणिज्यदूतहरुको काम त्यो मुलुकबाट निर्यात गर्नुपर्ने वा आयात गर्नुपर्ने,उद्योगमा लगानी ल्याउनुपर्ने वा वैदेशीक व्यापार प्रवद्धनको काम गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने र त्यही अनुसार मूल्याङ्कन गर्ने गरेको छ,’ उनले भने,’नेपालमा पनि यो काम शुरु भइसहेको छ । परराष्ट्र मन्त्रीले पनि हरेक अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको आर्थिक कुटनीतिको विषयमा कुरा राख्नुभएको छ । अहिले नेपालको परिपे्रक्ष्यमा हेर्दा राजदुतहरुले आर्थिक कुटनीतिमा पर्यटन कुटनीति,रोजगार,जलविद्युत,मुलुकभित्र वैदेशिक लगानी भित्र्याउने र संस्कृति भित्र्याउने हिसावले राजदुतहरु जुन देशमा जानुहुन्छ । त्यहाँ आर्थिक कुटनीतिको विषयलाई परिचालन गर्नुपर्ने हो । त्यसमा नेपाल उद्योग वाणिज्य महासंघ राजदुतहरुसँग सहकार्य गर्ने विश्वास लिएका छौं ।’