काठमाडौँ- अमेरिकाको बाल्टिमोरमा डेमोक्र्याटिक पार्टीले दसैँ उत्सव आयोजना गर्ने भएको छ।
नोभेम्बर ५ मा हुन लागेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको ठ्याक्कै एक महिनाअघि अक्टोबर ५ मा अमेरिकाको बाल्टिमोरमा दसैँ उत्सव आयोजना गरिन लागेको जानकारी मेरिल्यान्डका डेलिगेट्स ह्यारी भण्डारीले दिए। एसिया मूलका मानिसहरुको उल्लेख्य संख्या रहेको बाल्टिमोरमा दसैँका अवसरमा यो उत्सव आयोजना गर्न लागिएको हो। अमेरिकी राष्ट्रपतीय निर्वाचनमा यसपटक डेमोक्र्याटिक पार्टीका तर्फबाट कमला ह्यारिस उम्मेदवार बनेकी छन् भने रिपब्लिकनका तर्फबाट डोनाल्ड ट्रम्प उम्मेदवार बनेका छन्।
भण्डारीका समर्थकहरुको समूह ‘फ्रेन्ड अफ ह्यारी भण्डारी’ले उक्त कार्यक्रम आयोजना गरेको हो।
मेरिल्यान्डका गभर्नर वेस मुरले गत वर्ष अक्टोबर ५ लाई दसैँ डेका रुपमा घोषणा गरेका थिए। भण्डारीले मेरिल्यान्डको संसद्मा गरेको प्रस्तावलाई मेरिल्यान्डका दुवै संसद्ले पास गरेका थिए। अब हरेक वर्ष अक्टोबर ५ मेरिल्यान्डका लागि ‘दसैँ डे’ हो।

सोही परम्परालाई निरन्तरता दिन बाल्टिमोरमा यस वर्ष आयोजना हुने उक्त दसैँ उत्सवमा सिनेटर क्रिस भ्यान होलेन पनि सहभागी हुनेछन्। त्यस्तै मेरिल्यान्डकी लेफ्टिनेन्ट गभर्नर अरुणा मिलर पनि दसैँ उत्सवमा सहभागी हुनेछिन्। त्यस्तै, डेमोक्र्याटिकका तर्फबाट सिनेट उम्मेदवार एन्जेला एल्सोब्रुक्स पनि नेपालीहरुले मनाउने दसैँमा सहभागी हुन आउनसक्ने आयोजकहरुले बताएका छन्। कंग्रेसमा उम्मेदवार बनेका जोन जोनी ओ ओल्सजेवस्की पनि कार्यक्रममा सहभागी हुनेछन्।
खासगरी नेपाली समुदाय र भारतीय समुदायका अमेरिकीहरुका लागि उक्त दसैँ उत्सव आयोजना गरिएको जानकारी भण्डारीले दिएका छन्। बाल्टिमोरको हिल्टन गार्डेन इनमा कार्यक्रम आयोजना हुने पनि आयोजकले जानकारी दिएका छन्। ‘मेरिल्यान्डमा रहेको नेपाली समुदायले सामुदायिक भावना र संस्कृतिलाई कायम राख्दै एकता र सहिष्णुता अगाडि बढाउन दसैँ डे आयोजना गर्छन्, गत वर्ष मेरिल्यान्डको संसद्ले नै यसलाई पास गरेपछि नेपाली समुदायका लागि यो एउटा उत्सवको अवसर बनेको छ,’ भण्डारीले देशसञ्चारसँग भने।
सम्भवत: नेपालबाहिर राज्यकै स्तरमा अनुमोदन गरी दसैँ उत्सव मनाइएको यो पहिलो हो।
दसैँको तृतीयाका दिन आइतबार आयोजना हुने दसैं उत्सवमा डेमोक्र्याटिक सिद्धान्तहरु र एकताका लागि र्याली पनि आयोजना गरिने भण्डारीले जानकारी दिए।