निबन्ध

अल्जाइमर्सले निलेको शताब्दी

अल्जाइमर्सले निलेको शताब्दी
+
-

मृत्यु एउटा कपटपूर्ण खेल हो । अत्याचार हो ।

यो बेला मन पीडामा छ, मगज एकोहोरिएको छ । अक्कल सक्कलमुताबिक छैन । पीडामा मनोरम भाव कसरी उम्रिन्छ ? हाँस्नै बिर्सिएका बेला हास्यरस कसरी चुहिन्छ? दुःखका वरिपरिका भित्ताहरू धेरै मजबुत हुँदारहेछन् । फोर्न नसकिने । प्रयासरत छु, यो पीडाको गर्तबाट उफ्रिएर डिलमा पुगूँ । क्षितिजमा गएर आकाश उघारिदिऊँ । सुनिदिनुहोस् ! आज म फेरि लेख्न बसेको छु– भित्री सतहबाट श्वास फेरेर । केही लेख्न खोज्नु भनेको मनले छलाङ मार्न खोज्नु हो । परिधिलाई चुँडाल्न खोज्नु हो ।

यहाँ मैले दुईजना अतिथि पात्रहरूलाई ल्याएको छु – छोटोछोटो भूमिकामा । एकजना पात्र हुन् कवि ठाकुर बेलबासे र अर्का पात्र हुन् नकवि, नसाहित्यकार, कुनै आकार उकार चन्द्रविन्दु नलगाए पनि हुने, विशेषणमुक्त व्यक्ति भोगविलास शर्मा ।

ठाकुर बेलबासे कर्मले अग्ला भए पनि उमेरले मभन्दा होचा छन् । यही कारण देखाएर म उनलाई ‘भाइ’ भन्छु । त्यसैले, गणितको स्वयंसिद्ध तथ्यमुताबिक उनी मलाई आदरपूर्वक ‘दाइ’ भन्छन् । त्यसो त खोज्दै जाने हो भने उनी मेरो नातागोताभित्र आइपुग्छन् । उनले मलाई अर्कै केही भन्नुपर्ला, मैले उनलाई अर्कै केही । जे होस्, यो दाइ–भाइको साइनोमा जुन आनन्द र आत्मीयता छ, त्यो माकुराको जालोझैँ घुमाएर बनेको नातामा फिटिक्कै भेटिन्न । त्यसैले ठाकुर मेरा प्रिय अनुज मात्रै हुन् ।

अर्का अतिथि पात्र भोगविलास शर्मा । जीवन जिउन खप्पिस मान्छे । लोकल भाषामा ‘बिन्दास’ । भोगविलासको र मेरो ठेगाना पनि छेउछाउमै छ , थर पनि ठ्याक्कै मिल्छ । गोत्र पनि मिल्दो हो । तर, उनी कतैबाट पनि मेरो साइनोभित्र पर्दैनन् । हाम्रो साइनो भनेको एउटाले ‘हाइ’ भन्दा अर्कोले ‘हलो’ भन्ने मात्रै हो । कहिलेकाहीँ उनी दुई हात जोडेर नमस्कार भन्छन्, म पनि हातै जोडेर नमस्कार फर्काउँछु अनि आधी ओठ खोलेर मुस्कुराइदिन्छु । पुग्यो त । प्रशस्तै पुग्यो । मुस्कुराइदिनु भनेको चानचुने कुरा होइन । मुस्कानले सामुन्नेको मन कोमल बनाइदिन्छ ।

भर्खरै शतायु पार गरेका मेरा बुबाको मृत्यु भयो । यो सबैका लागि त्यति ठूलो समाचार होइन । हामीलाई भने शिरमाथि आकाश खसे झैँ भयो । एक झोँक्का बतासले टाउकाको टोपी उडाइदियो । डाक्टरहरूले हारे, औषधीहरूले हारे, ईश्वरको प्रार्थनाले हार्‍यो, अश्रुभेलले हार्‍यो, विह्वलताले चिराचिरा परेका हृदयहरूले हारे, बिन्तीहरूले हारे । मृत्युले एक्लै जित्यो ।

ठाकुर भाइ अचेल मृत्युमाथि कविता लेखिरहेका छन् – शृङ्खलाबद्ध तरिकाले ।

जीवनको एउटा विशाल कोलाहल समाप्त भएको छ
कृपया शान्त बनिदेऊ आफन्तहरू
महाशून्यताको यात्राको तयारी गरिदेऊ प्रियजनहरू
बाटो खाली गरिदेऊ साथीसङ्गती, छरछिमेकीहरू ।

(मृत्यु कविता – १३ : अन्तिम प्राप्ति मृत्यु)

भोगविलास शर्मा कविता बुझ्दैनन् । उनलाई कविता कागजको रोटी झैँ लाग्छ । उनको दर्शनशास्त्रले भन्छ, जीवन जिउनका लागि हो । संसारका सबै सुख र खुसीहरू भोग गर्नका लागि हो । सत्यमोहन जोशीको एउटा भनाइ उनले मजैले पढेका रहेछन्, गोपीकृष्ण ढुङ्गानाद्वारा सम्पादित पुस्तकमा । ‘मृत्यु त हामी साथमै बोकेर हिँडिरहेका हुन्छौँ, किन डराउने ?’ उनी ढुक्क छन् – यो शाश्वत सत्य टारेर टर्दैन । संसारका सबैथोकलाई भोगयोग्य बनाउन सकिन्छ, विलासकर बनाउन सकिन्छ । सुख र दुःख संसारमा बराबरी व्याप्त छन् । रोजाइ आफ्नो हो । भोगविलास शर्माका तर्कहरूलाई इन्कारी जवाफ दिन पनि सजिलो छैन ।

भोगविलास ट्रक साहित्य हुन्, पढुन्जेल खुबै रमाइलो ।

भर्खरै शतायु पार गरेका मेरा बुबाको मृत्यु भयो । यो सबैका लागि त्यति ठूलो समाचार होइन । हामीलाई भने शिरमाथि आकाश खसे झैँ भयो । एक झोँक्का बतासले टाउकाको टोपी उडाइदियो । डाक्टरहरूले हारे, औषधीहरूले हारे, ईश्वरको प्रार्थनाले हार्‍यो, अश्रुभेलले हार्‍यो, विह्वलताले चिराचिरा परेका हृदयहरूले हारे, बिन्तीहरूले हारे । मृत्युले एक्लै जित्यो । जीवनभरिको थकाइलाई विश्राम दिँदै आफैँले बनाएको तुलसीको मठनेर लमतन्न परेर निदाइरहनु भएको थियो बुबा । मानौँ यहाँ केही भएकै छैन । एउटा ठूलो भीडले वरिपरिबाट घेरा हालेको थियो । कहिलेकाहीँ भीड पनि सहारा बन्दो रहेछ । सन्त कबीरको दोहा सम्झना भयो –

कबीरा जब हम पैदा हुए
जग हँसे, हम रोए
ऐसी करनी कर चलो
हम हँसे जग रोए । 

सूर्यास्तका बेला हामीले बुबालाई काँधमा उचालेर हिँड्यौँ । पछिपछि आँसुका मलामीहरूको लर्को थियो । महाप्रस्थानका बेला बुबाले वृद्ध आमासँग बिदा पनि माग्नुभएन, सधैँझैँ औषधी समयमै खानु है पनि भन्नुभएन । आमासँग पहिलोचोटि मृत्युको यति निष्ठुरी खेल खेल्नुभयो बुबाले ।

ठाकुर भाइ, मलाई बताइदेऊ ! अघि भर्खरैसम्म भोग गरिरहेको जीवन अहिले कसरी मृत भयो ? मेरा बुबाको हाँसो खै ? स्वर खै ? श्रवण खै ? स्नेह र स्पन्दन खै ? ती संस्कृतका श्लोकहरू खै ? ती रमाइला किस्साहरू खै ? ती उडेर भर्खरै कता लागे ? कता विलीन भए ? ‘इन्एक्जोरेबल डिक्री अफ डेथ’ कसको आदेश हो ? के जीवन भ्रम र भ्रान्ति हो ? मृत्यु महाशान्तिको प्राप्ति हो ? त्यसो भए यो भ्रमपूर्ण जीवनको औचित्य के ? तटमा बसेर नदीमा ढुङ्गा हान्ने फुर्सद मलाई किन छैन ? भोगविलास शर्मा कुन प्रयोजनका लागि जीवित छ ?

जीवनमा जतासुकै टन्टै टन्टा छन् । जीवन आफैँ कुरुक्षेत्र बनेको छ । अनि यो मृत्यु आउँछ र टपक्क टिपेर लान्छ । जीवन सुल्टिनै भ्याएको छैन । न टार्न मिल्छ, न भाखा सार्न मिल्छ । मलाई जीवनको कुरुक्षेत्रमा श्रीकृष्ण चाहियो ।

वासांसि जीर्णानि यथा विहाय
नवानि गृह्णाति नरोक्पराणि ।
तथा शरीराणि विहाय जीर्णा
न्यन्यानि संयाति नवानि देही ।।

यो शरीरलाई जीर्ण कसले बनायो ? किन बनायो ? निरापराध जीवनका लागि मृत्यु सजाय हो । तिमी नै भन न ! मेरो दोष के थियो ? मैले बाल्यकालमा खेलेको बुबाको काख मृत्युले किन खोस्यो ? किन खोस्यो घरको धुरीभन्दा अग्लो काँध ? किन खोस्यो बुबासँग बिताएका स्वर्णिम पलहरू ? किन रेटिए मेरा मुटु कलेजाहरू ? अहिले त म बाँसको ढुङ्ग्रोझैँ रित्तो छु । दोलकझैँ हल्लिन पनि नसक्ने भएको छु । मैले निसाफ माग्ने न्यायालय कहाँ छ ? मृत्यु कायर हो । छल गरेर प्रहार गर्छ ।

अघि भर्खरैसम्म कुन परमतत्व थियो, जुन अहिले छैन ? त्यो परमतत्व कुन ओखती पसलमा पाइन्छ ? कुन वैद्यखानामा पाइन्छ ? कुन पर्वतमालामा पाइन्छ ? हनुमानले उचालेको द्रोणाचल पर्वतमा सन्जीवनी बुटी अझै चम्किँदै होला कि नहोला ? आखिर भौतिक शरीर कसरी मर्छ ? अव्यय आत्माले बैगुनी बनेर देह किन त्याग्छ ? ठाकुर भाइ, मलाई मेरो बुबाको जीवन फिर्ता चाहिएको छ । यहाँ भोग छ, यहाँ विलास छ । बाँकी फगत् कल्पना हो ।

माफ गर्नु भाइ, आज म पीडाले बहुलाएको छु । मेरो विवेक बहुलाएको छ । मनभरि पानीको आगो सल्किएको छ । एउटा चिसो ज्वालामुखी विस्फोट हुन खोज्दै छ । मेरा सबै पोथी ज्ञान आज बेकम्मा भएका छन् । बहुलाएको मानिसले त हो सत्य बोल्ने, किनकि ऊ समाजदेखि अलग्गिएको हुन्छ ।

सय वर्षको आयु पुग्नै लाग्दा बुबालाई अल्जाइमर्सले धावा बोल्यो । दुर्बल शरीर, घट्दो स्मृतिमा अल्जाइमर्सले राम्रो डेरा भेटायो । हामी सबै अपरिचित भयौँ, आफ्नै सन्तान अस्वीकृत भयौँ । आफैँले ठड्याएको घर बिरानो भयो । सय वर्षको इतिहास, जसको हामीलाई धेरै खाँचो थियो, अल्जाइमर्सले कप्लक्कै निलिदियो । बुबाको स्मृतिहीन जीवन हाम्रासामु थियो । धेरै लामो उपचार पछि हर्षैहर्षको दसैँ आयो ।

माघ १७ गते २०८० वि. सं. । बुबाको १०१औँ जन्मदिन । बाक्लो हुस्सु ओढेको मधेश लुगलुग काँपिरहेको थियो । आकाश शीत बनेर बर्सिरहेको थियो । सिरकभित्र न्यानो गुँडुल्को बनाएर बस्नुभएका बुबालाई मैले भनेँ, “ए बा ! हेप्पी वर्थ डे !!” गलल हाँस्नुभयो बुबा । “के भन्छ यो ?” मैले फेरि भनेँ, “बा ! आज हजुरको जन्मदिन । शुभकामना भनेको ।” बुबा फेरि हाँस्नुभयो र आशीर्वाद दिन थाल्नुभयो । म बुबाको हाँसो सुनिरहन चाहन्थेँ । बुबा हाँस्नु नै मेरो उद्देश्य थियो ।

आत्माको उपस्थिति कहाँ छ ? वैकुण्ठ कहाँ छ ? स्वर्गलोक कहाँ छ ? परलोक कहाँ छ ? इहलोकभन्दा पर खै अरु लोक कहाँ छ ? क्रियाकर्म सकेपछि म हवाइजहाजमा काठमाण्डौँ फर्किँदै थिएँ। आकाशमा म धेरै माथि थिएँ, धर्तीभन्दा धेरै माथि, मनुष्यलोकभन्दा माथि, बादलभित्र । मैले यताउति हेरेँ, कतै परलोक भनेको यही पो हो कि ? उन्मुक्त आत्माहरू यतैतिर गल्याङ्मल्याङ् गर्दै उडिरहेका पो होलान् हाँसीहाँसी । तर त्यहाँ केही थिएन । रित्तो आकाश ।

उन्मुक्त हाँसो मनको इन्द्रेणी हो ।

एक महिना भयो, बुबा फेरि कहिल्यै नहाँस्ने अठोट गरेर जानुभएको । हामीले बुबाको देह वाणगङ्गाको तटमा पुर्‍याएर अग्निलाई समर्पण गर्‍यौँ। अग्निले खरानी मात्रै हामीलाई फिर्ता दियो । त्यो खरानी त्यही वाणगङ्गाको लक्ष्मणघाटमा नदीलाई अर्पण गर्‍यौँ र महासागरको यात्रामा पठायौँ अनि हामी रित्तियौँ । अग्निले सानो टुक्रा देह अङ्ग पनि दियो, त्यसलाई पनि देवघाटमा लगेर कालीगण्डकी नदीलाई सुम्पियौँ । सबै रीत र ईश्वरीय कर्महरूलाई आदरपूर्वक सम्पन्न गर्‍यौँ। आज उहाँको अस्तित्व समाप्तिलाई हामी मृत्यु भनेर मान्न बाध्य छौँ ।

मानिस आफ्नो अस्तित्वबोधका लागि जिउँछ । त्यसैले त भन्दै छु – मृत्यु धोखा हो ।

सबै इष्टमित्र, आत्मीयजनले श्रद्धाञ्जलि अर्पण गर्नुभयो र कामना गर्नुभयो, “बुबाको आत्माले वैकुण्ठमा बास पाओस् ।” कत्रो छ त्यो वैकुण्ठ जहाँ बास पाउन मुस्किल छ ? के वैकुण्ठ पृथ्वी जत्रो पनि छैन ?

मेरा कानमा अहिले पनि बुबाका बोलीहरू प्रतिध्वनित भैरहेछन् निरन्तर । आँखामा चिताको आगोका लप्काहरू दन्किरहेछन् दनदन, जसरी अहिले यो हृदय दन्किरहेछ । आक्रोशले पञ्जाहरू मुठी परेका छन् । मेरो प्रश्न अनुत्तरित छ – आखिर मान्छे मर्छ किन ?

हे श्रीकृष्ण ! हे राधेय !! म गाण्डीवधारी वीर योद्घा अर्जुन होइन । म साधारण मनुष्यका पनि धेरै प्रश्नहरू छन् । धृष्टताका लागि क्षमा चाहन्छु । म आत्मवाद र अध्यात्मवादलाई कसरी पत्याऊँ ?

मेरा चक्षु केवल भौतिक छन् । दृष्टि झन् चाउरिएको छ । चेतना साँघुरिएको छ । म चारैतिर भौतिक सत्यमात्रै देख्छु । यही जगत् , यही चराचर । म ज्ञान, विज्ञान, प्रज्ञान कसको शरणमा परूँ ? आत्माको उपस्थिति कहाँ छ ? वैकुण्ठ कहाँ छ ? स्वर्गलोक कहाँ छ ? परलोक कहाँ छ ? इहलोकभन्दा पर खै अरु लोक कहाँ छ ? क्रियाकर्म सकेपछि म हवाइजहाजमा काठमाण्डौँ फर्किँदै थिएँ। आकाशमा म धेरै माथि थिएँ, धर्तीभन्दा धेरै माथि, मनुष्यलोकभन्दा माथि, बादलभित्र । मैले यताउति हेरेँ, कतै परलोक भनेको यही पो हो कि ? उन्मुक्त आत्माहरू यतैतिर गल्याङ्मल्याङ् गर्दै उडिरहेका पो होलान् हाँसीहाँसी । तर त्यहाँ केही थिएन । रित्तो आकाश ।

रातभरि ताराहरू हेरिरहेँ । कुनै प्रखर ज्योतिर्मय नयाँ तारा देख्छु कि ? मेरो बुबा तारा बनेर हेर्दैहुनुहुन्छ कि ? सानोमा सुनेको थिएँ, मान्छे मरेपछि आकाशको तारा बन्छ रे ।

कल्पनातीत स्वर्गलोक र परलोकका कथाहरूले हामीलाई उठबस गराइरहेका छन् । भोगविलास शर्मा दनदन दन्किरहेको आगोमा संसारभरिका खुसीहरू पोलेर, भुटेर, तारेर, सेकेर खाइरहेछ । मृदङ्ग बजाएर उसका वरिपरि दुनियाँ नाचिरहेछ, झुमिरहेछ । उसलाई हेर्दा लाग्छ जीवन उन्मत्त लीला हो । ठाकुर भाइका कविताहरूबाट घृणित हाँसो हाँस्ने यो मृत्युलाई चिमोटी चिमोटी निकालेर यही आगोको भट्टीमा झोँकिदिऊँ र भष्म होस् छिनभरमै जसरी मेरो बुबाको देह भष्म भएथ्यो भन्ने लाग्छ ।

मलाई यो मनुष्यहरूको लोकमा पराइ मृत्युको शासन स्वीकार्य छैन । मनुष्यको स्वतन्त्रतामाथि खील गाडेको छ यसले । म मृत्यृका निर्मातासँग विमति राख्छु । हे सृष्टिकर्ता महोदय, नश्वर जीवहरूको सृष्टिको औचित्य के छ ?

लय छिनेको जिन्दगी बाँचिरहेकी मेरी वयोवृद्धा आमाले सल्लाझैँ सुसाउँदै वैरागको धुन गाइरहेको देख्दा म मृत्युको कुन तर्कसँग सहमत हुन सक्छु ? हे मृत्यु ! एकचोटि तँ आफै मृत्युको कहर भोगेर हेर् ।

शङ्करले जीवनलाई व्यर्थै प्याज बनाइदिए, जटिल अनि अपरिवर्तनीय । शिरमा एक चिम्टी बारुद बोकेर जन्मिएको दियासलाईको काँटी बाहेक जीवन केही होइन रहेछ । ह्वार्र सल्कियो, उज्यालो भयो र भुतुक्क निभिहाल्यो । सल्किउन्जेल उज्यालो थियो र जीवन पनि थियो । निभ्यो, अँध्यारो भयो, जीवन सकियो । भर्खरै ऊ भूतकाल भयो । भूतकाल भनेको स्मृति हो । समयसँगै खिइएर सकिन्छ ।

ठाकुर भाइ, जीवन त घोर प्रपञ्च रहेछ, ‘ग्रैन्ड डिजाइन’ । माकुराको जालो, द्रोणाचार्यको चक्रव्यूह । अनफेयर गेम ।

कहाँ थियो बास ? तँ को म को थिएँ ?
प्रपञ्च के हो ? किन देह यो लिएँ ?
कहाँ छ जानु ? कुन साथ लिइकन ?
तँलाई मालुम् छ कि यो कुरा मन ?

मेरो पनि प्रश्न बाँकी नै छ कवि शिरोमणिज्यू । अल्जाइमर्सले एउटा शताब्दी किन निल्यो ? मेरो बुबा कहाँ जानुभो ? पख्नोस् ! म एउटा विरक्तिको हाँसो हाँस्छु र गिज्याउँछु त्यो मृत्युलाई, जसले तपाईंलाई पनि जीवन बक्सेन ।

इति !

(शर्मा लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल हुन्।)

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?