नियात्रा

मनभरि फुल्छ रहरको तोरीबारी

मनभरि फुल्छ रहरको तोरीबारी
+
-

मेरो यात्रा यति निम्छरो थियो कि त्यो यात्राका अगाडि ‘नि’ पनि कसरी जोड्नु र खै ? अनि यसलाई ‘नियात्रा’ भनेर पो कसरी भन्नु ? हुन त नियात्रामा तय गरिने यात्रा कति लामो ? कति अग्लो ? कति घुमाउरो ? कति उकालो ? कति ओरालो ? कति सबल ? कति दुर्बल ? कति रमाइलो ? कति पिरलो ? त्यसरी औँला भाँची भाँची गन्ने कहाँ हुन्छ र ? नियात्राभित्र यात्रा नै त अनिवार्य सर्त हो ।

त्यसो त नियात्रामा अपेक्षा गरिने भनेको यस्तो यात्राको वर्णन होस् जहाँको सौन्दर्य मोहक होस्, करुण हृदय झङ्कृत गर्ने खालको होस् । जसको वर्णन गर्दागर्दै लेखक आफैँ प्रकृति बनोस् । जहाँको संस्कृति, परम्परा, जीवनशैली अरूलाई पनि भनूँभनूँ लाग्दो होस् । अथवा यात्रा गरिएको ठाउँको भूगोल यति नौलो र दुर्बोध होस् जसको अपारगम्यताको वर्णन गर्दा थोपा थोपा पसिना झर्दै जाऊन्, पत्रपत्र गरी लुगा फुक्लिँदै जाऊन् ।

मानौँ ती ठाउँ पृथ्वीतलभन्दा केही परका होऊन् जहाँ यसभन्दा अगाडि कोही पुगेकै थिएन, जसको वृत्तान्त कसैले लेखेकै थिएन । कठिनता, विकटता र रोचकता नै अविस्मरणीय अनुभूति बनोस् । तिनै मनोहर र दुर्गम्य यात्रालाई सुललित शब्दहरूको तानमा बुनेर शिल्पीहरूले निर्माण गरिदिन्छन् नियात्रा ।

मेरो यात्रामा त्यस्तो कुनै रोचकता थिएन, सुरम्यता थिएन । उही बाटो, उही दृश्य । सबै हिँडिरहेका थिए मजस्तै, म हिँडिरहेको थिएँ अरूजस्तै । एउटा विकल्पबिनाको ‘अनिवार्य राजमार्ग’ मा थिएँ म । झण्डै डेढसय किलोमिटरको छोटो यात्रा, तर घरिघरि मन बिझाउने यात्रा । यस्तो यात्रा वृत्तान्तले नियात्राको बढोत्तरी कति गर्ला ? कति मजबुती देला ? न त एउटा ढुङ्गा थपिएला, न त एउटा पाइला उक्लिएला । काठमान्डुदेखि चितवन र चितवनदेखि काठमान्डु । यत्ति त हो मेरो यात्रा । नब्बे माइलको जाना, नब्बे माइलको आना । यही आनाजानामा छ मेरो सास्तीको कथा ।

सुकिला मनका स्कुले विद्यार्थीहरूलाई सिकाइने, अचेल बहुप्रचलित गुणात्मक शिक्षा दिने ‘विद्यार्थी गुणीय चक्र’ (एस.क्यु.सी) को राष्ट्रिय सम्मेलनमा अतिथि भएर सामेल हुनु थियो चितवन सौराहाको एउटा होटेलमा । देशभरिबाट प्रतिनिधित्व भएको भेलामा । त्यसैले मेरो यात्रा थियो जम्माजम्मी सौराहासम्मको । विश्वभरिका मानिसहरू हेर्न मात्रै पनि लालायित हुने यहाँको जङ्गल सफारी या अन्य घुमघाम पहिले धेरैचोटि गरिसकेकाले यसपटक मेरो कार्यक्रमको सूचीमा ती थिएनन् । हरेकका लागि चितवन यस्तो गन्तव्य हो जसलाई घुम्दा गोडा थाक्छन् तर मन कहिल्यै थाक्दैन ।  सौन्दर्य हेर्ने त आँखैले हो, तर रमाउने मन रहेछ । यसपटक समय अति छोटो हुनाले मैले मनको आँखा थुनिदिएको थिएँ । सबै इन्द्रियहरूलाई उर्दी जारी गरिएको थियो कि घना जङ्गलभित्र नानाथरि जनावर र सहस्र चराचुरुङ्गी हेर्दै घटघटी पिउन मन लाग्ने जादुमयी सौन्दर्य र रोमाञ्चकताको सफारी यात्रा यस पल्टलाई थाती राखिएको छ ।

हुन त समयसँग जति पनि समय छ, समय नभएको त मानिस हो । तैपनि समयलाई फुर्सद छैन, ऊ रोकिँदैन । दौडिरहन्छ । फुर्सद भएको त मानिस नै हो । विश्राम लिन्छ बेलाबेलामा । मलाई भने यसपटक विश्राम लिने फुर्सद थिएन ।

यात्रा आरम्भ हुन्छ काठमान्डुबाट, आफ्नै गाडीमा, चालक भाइका छेउमा बसेर । पुरै एक घन्टाको गुडानपछि नौबीसे पुग्यौँ । मलाई लाग्यो अब बाटो यहीँनेर टुङ्गिए हुन्थ्यो । बेजोडसँग हतोत्साहित गर्‍यो बाटोले पुरै यात्रालाई । बाटो जीर्ण काँचुली ओढेर सर्प झैँ पसारिएको थियो जमिनमा । बाटो टुङ्गिएर पो के हुन्छ ? उद्देश्य टुङ्गिएको छैन । शिवघाट पुग्नु छ । नारायणी नदी तटको होटेलको बार्दलीमा बस्नु छ । अनि नारायणीको सङ्लो पानीमा सलल तलसम्म बग्दै फर्किँदै गर्ने चखेवाको जोडीको बिरलै देखिने दृश्य हेर्दै जलकपुर माछाको झोलसँग भोकाएको भोजन जो लिने रहर छ । नारायणघाटको यो भोजनसँग मेरो पुरानो साइनो छ । त्यसपछि कवि–साहित्यकारहरूसँग भेटेर साहित्यका कलिला गफ जो गर्नु छ । अनि भरे सम्मेलनस्थल पुगेर गुणीय समय जो बिताउनु छ ।

हिँड्नेहरूको बाटो कहिल्यै टुङ्गिँदैन । बाटो पाइलाले बनाउँछ, गन्तव्य उद्देश्यले थितान गर्छ ।

जाँदा जानु थियो, गइयो । अब फर्किँदाका कुरा गरौँ । नारायणघाटबाट काठमान्डुतिर मुख फर्काएर हिँडाइ आरम्भ गर्दा साँझ पर्दै थियो । घाम भर्खरै नारायणी नदीको पश्चिमपट्टि कुनै झाडीमा विलुप्त भएको थियो । हामी न दिन, न रातको साँधमा थियौँ । हिरण्यकश्यपको वध हुने बेलाजस्तै थियो । नदीतटको बालुवामा घाम ताप्न लम्पसार परेका घडियालहरू पनि पानीभित्र ओत लाग्न गए होलान् । बाँसघारीको हल्लीखल्ली भने चलेकै हुँदो हो । दायाँबायाँका रुखहरू कालो रङमा परिणत हुँदै थिए । कालो अँध्यारोको प्रिय रङ हो । केही गाडीहरूले साना ठुला बत्ती बाल्न थालिसकेका  थिए । हामी काठमान्डु पुग्दा सहरले सिरकभित्र पस्ने तारतम्य गर्दै गरेको हुने छ ।

हामी घरि बन, घरि बस्ती पार गर्दै जुगेडीतिर लाग्दै थियौँ । अब पालैपालो पछाडि पर्दै थिए दासढुङ्गा, पन्ध्र किलो … । अनि देब्रे डिलमा थिए ससाना झुपडीहरू, साँझको सिरेटोले पनि ढालिदेलाजस्ता । दुईचार माइलको अन्तरमा देखिन्थ्यो अर्थतन्त्रको यति ठूलो विषमता । आँगनमा थिए दुईचार भारी दाउरा । यिनै भारीभित्र हुँदा हुन् दियालोका साना साना टुक्राटाक्री जसले सल्किने मौका पाए उज्यालो पार्दा हुन् खोपीहरू । दिउँसोमा हिँड्दा कुखुराका हुलले यिनको आँगन ठुङ्दै गरेको देखिन्छ । यसबेला भने बास बसिसकेका थिए । कहिल्यै भुइँमा झरेर सोधेको छैनँ यी डिलका वासिन्दाको जीवन धान्ने अर्थतन्त्रको मोडेल के हो ?

मुग्लिङ कटेपछि गाडीले बेस्सरी वेग मार्ने सम्भावना थिएन । किनकि बाटो कालो त थियो, तर कतै डन्डिफोर उठेजस्तो, कतै सूजन भएजस्तो, उन्नतोदर सिसाझैँ । कुनै पनि बेला गाडी बुरुक्क उफ्रिने र थ्याच्च थच्चिने डर थियो । गुल्टियो भने कि त भिरले बोलाउँछ, कि त खोलाको तीरले । अँध्यारोले घपक्क ढाकिसकेको थियो । उता तलतिर त्रिशुली खोला क्रुद्ध भएर गर्जिँदै बगिरहेको थियो कुनै युद्घको सेनापतिझैँ । हाम्रो सडक अडिएको भित्तालाई उधिनेर गिराउन चाहन्थ्यो । सायद उसलाई तल परेको मन परेको थिएन । अभिमानी खोला । मलाई थाहा छ देवघाटको दोभानमा पुगेर कालीगण्डकीसँग मिलाप हुने छ । फेरि रोमान्टिक बन्ने छ र सुसेली मार्दै लाहुर पस्ने छ ।

मनमा विचारहरू सरर्र बगेर आउँछन् बादलझैँ चन्द्रागिरिको चुलीबाट र स्वयम्भूका आँखा ढाकेझैँ ढाकिदिन्छन् मेरा पनि आँखा डम्म । बाटोको पीरले मन बिझाएर होला, एकछिन आँखा चिम्म गरिदिएँ र मनलाई मुदित बनाएर उड्न पठाइदिएँ आकासतिर, पंक्षी झैँ । अनि पो म विदेशका जस्तै थुम्किला बाटाहरूमा हावा बगेसरी सरर्र गुड्न थालेछु । यसरी नै गुडेको थिएँ म जापानका पहाडी बाटामा धेरै बर्ष पहिले । च्वास्स च्वास्स छेडिएका एकपछि अर्को गर्दै आउने सुरुङका लहरहरूबाट फुत्त फुत्त पारि पुग्दै थिएँ । सेती नदीको किनारमा वनभोज खाएर साँझ काठमान्डु फर्किए झैँ।

जुन पाखा हेर्‍यो, उही पाखा हलिउडले बैना मारेजस्ता । बिग ब्यानरका सिनेमाहरू धमाधम छायाङ्कन हुँदै छन् झैँ लाग्ने । मानौँ एकैछिनको विश्राममा जेम्स बन्ड र सुटिङ युनिटले मुग्लिङको सडकछेउमा बसेर मनकामनाका सुन्तला र मार्फाको स्याउ स्वाद मानीमानी खाइरहेका होऊन् । बब डिलनहरूले लेकसाइडमा सारङ्गी रेट्दै कर्खा गाउँदै गरेका होऊन् । माथि आकाशमा राइट ब्रदर्स प्याराग्याइडिङ गर्दै फेवातालमा छाया पार्दै गरेका होऊन् । ठाकुरजी अन्तु डाँडामा सूर्योदय नियाल्दै अर्को गीताञ्जली रच्ने ध्याउन्नमा होऊन् । किट्स र वर्ड्सवर्थ देवकोटासँगै हेलम्बुतिर पहाडी जीवन अवलोकन गर्दै होऊन् ।  उता भोटेकोशीमा र्‍याफ्टिङ र बन्जी जम्प गर्ने साहसी पर्यटकहरू बगरमा बसेर माछा पोल्दै गरेका होऊन् । बाटो किनारका काँक्रा र पोलेको मकै डलरका भाउमा बेचिऊन् । अलि परको झरनामा चराले पखेटा फिँजाएझैँ विदेशी युवतीहरू हात फिँजाएर फोटो खिचाउँदै गरेका होऊन् रमाई रमाई । बतासले ती यौवनाहरूको खुसीलाई उडाएर मेरा कानमा पुर्‍याउँदै भनोस्, “मिस्टिकल ब्युटि अफ नेपाल ।” (नेपालको रहस्यमयी सौन्दर्य)

मनमा विचारहरू सरर्र बगेर आउँछन् बादलझैँ चन्द्रागिरिको चुलीबाट र स्वयम्भूका आँखा ढाकेझैँ ढाकिदिन्छन् मेरा पनि आँखा डम्म । बाटोको पीरले मन बिझाएर होला, एकछिन आँखा चिम्म गरिदिएँ र मनलाई मुदित बनाएर उड्न पठाइदिएँ आकासतिर, पंक्षी झैँ । अनि पो म विदेशका जस्तै थुम्किला बाटाहरूमा हावा बगेसरी सरर्र गुड्न थालेछु ।

क्षितिजका कापबाट टुसाउँदो घामको पहिलो किरणलाई हिमालको शिरबाट च्याप्प समाएर लैजान चाहन्छन् यिनीहरू ।

सगरदेखि सागरसम्म एउटा धुन गुन्जिरहोस्, “ओं मणि पद्मे हुँ ।”

भुइँमान्छेका पीडा भुइँमै हुन्छन् । भुइँ बुझ्नलाई भुइँ नै तर्नु पर्दछ । तर मन भुइँमा ओर्लिन मानिरहेको थिएन, आँखा उघ्रिन चाहिरहेका थिएनन् । उघ्रिएर पनि अँधेरोमा हेर्ने के नै हो र ? उही अगाडिको बसभित्रका यात्रुले आफ्नै आसनमा पिङ खेल्दै झ्यालबाट छादन्ति क्रिया गरेको, हुतुतुतु गर्दै कबड्डीको भाका हालेझैँ । त्यो गाडीभित्र बृद्ध पनि होलान्, आमाको काखमा लुटुपुटिएका शिशुहरू पनि होलान् । बिरामी होलान् डोकोमा राखेर राजमार्गसम्म ल्याइएका, अशक्तहरू होलान् । गाडीको काम दगुर्ने हो र पुग्ने हो । पुग्नेहरू कसरी पुग्छन् त्यो उनकै जिम्मा भयो । गाडीको हेडलाइटमा बेलाबेला झलक्क झल्किन्छन् घुम्ती हुँदो विज्ञापनका होर्डिङ बोर्डहरू । थाहा पाउँदा राम्रै हुन्छ सबैले हाम्रा देशमा खोलिएका बैंकका नामहरू, बियरका नामहरू, शिक्षणसंस्था वा बाटोमा पर्ने होटेल रेस्टुरेन्टका नामहरू । थरीथरीका विज्ञापनहरू । काठमान्डु पुग्दा तागत नित्रिएर खुइय गर्दै झर्ने छन्, मैलो मटैलो भएर ।

जहाँ जतिबेला पनि खित्का छोडेर हाँस्ने नेपाली, खुसमिजास, सरल अनि सपाट, झरनाको पानीबाट उछिट्टिएका थोपाले झैँ छुनेबित्तिकै शीतलता प्रदान गर्ने, गरिबीभित्र पनि सन्तुष्ट हाँसो हाँस्ने नेपाली, अहिले मलाई लाग्छ चुपचाप यात्रा गरिरहेछ– बगलीमारले हाँसो चोरिदिएझैँ ।

नौबिसेबाट उकालो लागेपछि बाटो कतै पनि बाटोको परिभाषाभित्र पर्दैनथ्यो । यदाकदा बाटोझैँ लाग्ने कालोपत्रका टालाटुलीहरू देखिन्थे । ढलक्क ढलक्क ढल्किँदै माथितिरबाट बडेमानका गाडीहरू ओर्लिन्थे, झलमल्ल बत्ती बालेर । तिनका तेज प्रकाशमा हाम्रा प्रकाशविहीन आँखाहरूले ठम्याउन सक्दैनथे कुन मानववाहक हुन् र कुन मालवाहक । बस् हाम्रा अगाडि धुलोको एउटा बाक्लो आकास थियो जुन बत्तीको रोशनीले पनि भेद्य थिएन । जीउ मर्‍याक् र मुरुक् पार्दै हामी सुस्त सुस्त उकालो चढिरहेका थियौँ । यति सास्ती खेपेर त्यो शिखरमा पुग्दाको आनन्द कस्तो होला? तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले कतै केही उल्लेख गरेका होलान् कि ? भोगाइ सजिलै शब्दमा वर्णित हुँदैन ।

चालक भाइ निरन्तर गीत बजाइरहेका थिए । सङ्गीतको जादुले उनी आफ्नो पट्यार भगाउन खोज्दै थिए । सङ्गीत हृदयमा घुलित भएर नसा नसामा बग्दछ र इन्द्रियहरूलाई आनन्द प्रदान गर्दछ । सङ्गीत नै यस्तो एउटा सर्वव्यापी ध्वनि हो जसले सबै जीवधारीहरूलाई मोहित पार्न सक्दछ । पाइलैपिच्छे छन् हाम्रा थरिथरिका भाकाहरू हिमालदेखि तराईसम्म ।

जब म उज्यालोमा यो बाटो हिँड्छु, मेरा आँखासँग सम्पृक्त सबै दृश्यहरू मलाई प्रीतिकर लाग्छन् । हरेकचोटि । सौन्दर्य कहिल्यै पुरानो हुँदैन । प्रत्येक हेराइमा त्यसमा नौलोपन भेटिन्छ । सायद यो मेरो देश भएर होला ? मेरा आँखाहरूले हेर्न रोजेको यिनैलाई भएर होला ? जबसम्म देश आत्मासँग जोडिन्न, तबसम्म त्यसलाई देश मान्नुको अर्थ छैन । मैले सोचिरहेँ ‘सौन्दर्य’ भन्दा पर मनलाई आनन्दित तुल्याउने अरू अतुल्य वस्तु के होला ?

मैले आँखाका बिर्कोहरू बन्द रहन दिएँ र मनको ढोका खोलिदिएँ । उसलाई रहर छ अमेरिकाका चिल्ला चौडा सडकहरूमा दगुर्न । दगुरिरहोस् । भोग गर्न नपाए पनि परिकल्पनामा डुब्न त पाइयो नि ? यति त मैले पनि बुझेकै हुँ कि विकास बाटोबाटै आरम्भ हुन्छ र बाटोबाटै दगुर्छ । मनले औँलाभरि गनेर ल्याओस् स्तरीकृत बाटोका फाइदाहरू अनि पढाइयोस् विद्यार्थीहरूलाई शीत चुहिने छाप्रामुनि चकटीमा बसालेर ।

एकचोटि हामी पनि यो मनझैँ दगुरेथ्यौँ टेक्सास राज्यको टेम्पलदेखि पैँसठ्ठी माइल परको अस्टिन हवाइअड्डासम्म, पाहुना लिन । घरबाट हिँड्दा ताप्के तात्दै थियो, फर्किँदा अझै पाक्दै रहेछ  भोजन। कति छिटो आउजाउ ? चिल्लो बाटो समृद्ध समाजको ऐना रहेछ ।

यो मन पनि कति अधीर ? कति चञ्चल ? भर्खरै चीनमा घुमेको सहरमा जाऊँ भन्छ तीव्र गतिको रेल चढ्न । अघिल्लोचोटि चीन जाँदाको अनुभव विस्मृत भएछ । बेइजिङदेखि श्रीच्याच्वाङसम्म चढेको तीनसय किलोमिटर प्रति घन्टाभन्दा बढी वेगवान् त्यो रेल जुरुक्क उठ्याएर यतै ल्याऊँ भन्छ यो मन । देशको वल्लो किनारादेखि पल्लो किनारासम्म । शैलका ताँतीहरूमा, बैँसालु बताससँग जिस्किँदै बयली खेल्ने धानका फाँटहरूमा । काठमान्डुबाट रेल चढ्दा घरमा सन्देश दिन्छु काला निमकको भात, तोरीको साग र नौनी खारेको साजी घिउ खान आइपुग्दै छु आमा । आहा ! कस्तो हुँदो हो दसैँयात्रा यात्रुहरूको ? बिहान महेन्द्रनगरमा टीका थापेर दिउँसो टीका थाप्न बिर्तामोड धुलाबारीतिर । छिनमै मुस्ताङ, छिनमै पोखरा; छिनमै स्वर्गद्वारी, छिनमै रारा ताल । बिजुली वेग मार्न पाए हुन्थ्योझैँ लाग्छ  । मनभरि फुल्छ रहरको तोरीबारी ।

एक्कासि डङ्ग्र्याङ्ग गरेर उफ्रियो गाडी सातो जाने गरी । दुई पाथी पानी अटाउने खाल्डोमा परेछ अगाडिको पाङ्ग्रो । ‘ऐया !’ मुखबाट यत्ति वेदना निस्कियो । सबैका पीडाहरूको प्रतिनिधि पीडा थियो यो ‘ऐया’ । यस्तै पीडाले मलाई एसक्युसीका स्मरणीय पलहरूमा डुब्न दिइरहेको थिएन । अघिल्लो दिन बेलुकीको त्यो थारू नृत्य अनि ती नर्तकीहरू– पुतलीझैँ नाचिरहेछन् अहिले पनि आँखामा । टाउकामा मनटीका, कानमा कनैली र सोन; नाकमा नथिया; घाँटीमा हसुली, सतसैरहार, चनरहार; हातमा पंजु, माठा, कतरी, बरहरी आदि लगाएर पाखुरामा बाकबाजु झुन्ड्याएका; कम्मरमा डरकासा र फुर्की छ्याङछ्याङ पार्दै, खुट्टामा गुड्हुला, छरा, पायल, पैरीले ताल मिलाउँदै खोरकीमा सिँगारिएका युवतीहरूको नृत्यले सबै मोहित भएका थिए । जे जति नृत्यहरु प्रस्तुत गरिए, ती सबै आत्मरक्षाका लागि गरिने वीररसयुक्त नृत्यहरूको इतिहासको सफल निरन्तरता हो जस्तो प्रतीत हुन्थ्यो । पूर्व मेचीदेखि पश्चिम कालीसम्म थारु भाषा करिब एक दर्जन भिन्नभिन्न भाँतिले बोलिँदो रहेछ । मसिनो गरी यिनको भिन्नता छुट्याउने हो भने यसभन्दा पनि धेरै प्रकारले बोलिँदा हुन् । भाषासँगसँगै यिनका गरगहनाको नाम पनि स्थानविशेषअनुसार फरकफरक हुँदारहेछ । मैले माथि उल्लेख गरेका नाउँहरू केही चितवनका स्थानीय नाउँ हुन् भने केही चितवन पूर्वका जिल्लामा भनिने नाउँ हुन् ।

भोलिपल्ट हामीले स्कुले विद्यार्थीहरूका सबल प्रस्तुतिहरूको अवलोकन गरेथ्यौँ । तिनका तर्कपूर्ण चिन्तनहरूले हामी विस्मित भएका थियौँ । कसरी विद्यार्थीको र विद्यालयभित्रका समस्याहरु खुट्याउँदा रहेछन्, गन्थन र मन्थन गरेर आफैँहरुले समाधान खोज्दा रहेछन् अनि समस्याको निदानमा पहल गर्दा रहेछन् । हो ! यस्तै खोजमूलक र सहभागितामूलक शिक्षण विधि देशले खोजेको होइन र ? यिनको चित्त सधैँ यस्तै विषाक्तरहित, शुद्ध हुने हो भने यिनले देश पनि हाँक्दा हुन् एसक्युसी हाँकेसरि ।

यस्ता कल्पनाहरूको कठिन उकालो चढ्दै चढ्दै म नागढुङ्गा पुगिसकेको थिएँ । यसो झ्यालबाट उँधोतिर हेरेँ । थुप्रै आशा र भरोसाका मनहरू जुनकिरीको ताँती लगाएर उकालो चढिरहेका थिए। मलाई लाग्यो, छेउको मेरो चालक भाइले स्टियरिङ बलियो गरी समाएका थिए । अप्ठ्यारो बाटो मलाई कुशलतापूर्वक तारेका थिए ।

सबैथरीका चालकहरूलाई सम्झेँ । भरोसा छ सबैले आ–आफ्नो स्टियरिङ बलियो गरी समाएकै होलान् ।
इति !

रचना मिति :  २०८० मङ्सिर १२ गते
(शर्मा लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल हुन्।)

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?