अध्यात्मको अभ्यासबारे एउटा ‘हाउ टु डु म्यानुअल’

अध्यात्मको अभ्यासबारे एउटा ‘हाउ टु डु म्यानुअल’
आफ्नो किताबका साथ लेखक सागर पराजुली।
+
-

धेरै दिनदेखि एउटा किताब हातमा परेको थियो- सागर पराजुलीको ‘एगोनी टु एक्स्टेसी’ जसको नेपाली अर्थ हुन्छ- पीडादेखि परमानन्दसम्म!

वाह, क्या शीर्षक!

परमानन्द सम्भवत: मानव जीवनको एउटामात्र गन्तव्य हो। र, यो यात्रा सजिलो भने हुँदैन।

अनिता, ऋतम्भरा र ऋग्वेद तिज मनाउन चितवन गएको मौकामा मैले एक रात यो किताब पढ्दापढ्दै रातिको २ बजाएँ। अनि आफूलाई यो किताब पढेर लागेको कुरा किन नलेखूँ भनेर सोचेँ र तयार भयो यो लेख।

जीवनलाई दुखको समुद्र हो भन्छन् आम मानिसहरु। अनि हिन्दू दर्शनले मुक्तिको यात्राको खोजी गर्छ। मुक्तिका लागि मर्नु पर्दैन। आफ्नै जीवनकालमा यो सम्भव छ। कमसेकम ज्ञानीहरु यसै भन्छन्। लेखक पराजुलीका भाषामा मनको मृत्यु नै मुक्ति हो।

सागर पराजुली आफैँमा ध्यानका गहिरो साधक हुन्। उनले अध्यात्मको गहन अभ्यास गरेका छन्। आफ्नो अभ्यासका आधारमा, आफ्नो ज्ञान र अनुभवका आधारमा उनले यस किताबमा केही विधि पनि दिएका छन् जसले मानिसलाई जीवन बाँच्न सायद अलिकति सजिलो बनाउँछ। धर्म र अध्यात्मका ग्रन्थहरुबाट पराजुलीले अमृत निकालेर यस किताबमा खन्याएका छन्।

म एकहार्ट टोलको ‘पावर अफ नाउ’ वा चार्ल्स डुहिगको ‘पावर अफ ह्याबिट’ पढ्दा आनन्दले धेरैपल्ट लठ्ठ परेको छु। सागर पराजुलीको ‘एगोनी अफ एक्स्टेसी’ले पनि त्यो झल्को दिन्छ, बेलाबेला।

किताबहरु बिर्सनका लागि हुन्। सधैँ सम्झेर फलानोले यस्तो भनेको छ, ढिस्कानोले यस्तो भनेको छ भनेर ज्ञान हासिल हुँदैन। कुनै किताबमा पाएको ज्ञान आफ्नो ज्ञानको स्रोतमा लगेर खन्याइदिने हो जसले आफूलाई चाहिने लिन्छ, नचाहिने छाडिदिन्छ।

लेखकले किताबहरु बिर्सनका लागि हुन् भन्ने उपमा बुझाउन अष्टाबक्रले राजा जनकलाई भनेको अभिव्यक्ति स्मरण गरेका छन्। अष्टाबक्रले भनेका छन्-  तिमीले धेरै किताब पढ्यौ होला, सुन्यौ होला तर तिमी आफैँमा पूर्ण हुनका लागि त्यो सबै बिर्सनुपर्छ।

हो पनि, किताबहरुले बढीभन्दा बढी तिमीलाई तिमी जे हो त्यसको स्मरण गराउनसक्छन्। तिमीभित्रबाट तिम्रो वास्तविक अनुहार निकाल्न मद्दत गर्नसक्छन्। यस किताबमा सागर पराजुलीले दिएका आठ सूत्रहरुले पाठकलाई स्थीर हुँदै जान मद्दत पुर्‍याउँछन्, नियमित अभ्यास गर्न सके।

जीवन विरोधाभाषी छ। हामी मामुली हौँ यस लोकमा। एउटा मानव एउटा मामुली कीटपतंगभन्दा बढी होइन। जुन दिन हामी त्यो ज्ञानलाई आन्तरिकीकरण गर्छौँ, तब हामी यो अनन्त अस्तित्वको एउटा भाग बन्नजान्छौँ। अनि अनन्त अस्तित्व बन्न जान्छौँ, हामी नै।

जीवन विरोधाभाषी छ। हामी मामुली हौँ यस लोकमा। एउटा मानव एउटा मामुली कीटपतंगभन्दा बढी होइन। जुन दिन हामी त्यो ज्ञानलाई आन्तरिकीकरण गर्छौँ, तब हामी यो अनन्त अस्तित्वको एउटा भाग बन्नजान्छौँ। अनि अनन्त अस्तित्व बन्न जान्छौँ, हामी नै।

पराजुलीले किताबमा भनेका छन्- जसले दिए पनि शिक्षा भनेको त्यो व्यक्तिको अनुभव हो। तिम्रो आफ्नो अनुभव होइन। गुरुले भन्दा बढी तिमीले तिमीलाई चिन्न सक्छौँ। किताबहरुले बाटो दिन्छन्, गन्तव्य होइन।

अध्यात्मतर्फको यात्राले पक्कै पनि चमत्कार दिँदैन। यो सजिलो यात्रा पनि होइन। सुक्ष्म बन्दै जाँदा यसका असजिला पनि आउँछन्। कतिपय असजिला साधकले झेल्न नसक्न पनि सक्छ। अनि लाग्छ- म पहिले नै बरु ठीक थिएँ। त्यसो भन्दै हिलो दह बनेर एकै ठाउँ जमिरहने कुरा पनि भएन।

किताबले केही अभ्यासहरु दिएको छ जसले एउटा व्यक्तिलाई खार्न मद्दत पुग्न सक्छ।

पराजुलीले दर्शनका किताबहरुका उपमा र प्रतीक ल्याएका छन्। कतिपय कथाहरु पनि। अनि आफूले भन्न खोजेका कुराहरुलाई कथा र प्रतीकहरुबाट बोधगम्य बनाएका छन्।

पराजुलीको किताब एउटा ‘प्राक्टिकल’ किताब हो जसलाई हरेक दिन केही पृष्ठ पढ्न सकिन्छ। सबै किताब एकै बसाइमा खर्रर पढेर ज्ञान बटुल्नका लागि होइन यो किताब। बरु बिस्तारै दिनको दुईचार पाना पढेर सक्नुपर्ने किताब हो यो।

यस किताबको विशेषता के हो भने यो सरल छ। भाषा पनि सरल छ। यसका अभ्यासहरु वास्तविक जीवनमा सजिलै उतार्न सकिने खालको छ। अध्यात्मको एउटा ‘म्यानुअल’ भन्दा फरक पर्दैन यसलाई। जीवन कठीन छ तर यसलाई सरल बनाउने सूत्रहरु छन् र यदि सागर पराजुलीजस्तो अध्यात्मको साधकबाट यी सूत्रहरु आउँछन् भने ती पक्कै सरल र उपयोगी हुन्छन्।

हामी सूचनाहरुले भरिएका छौँ तर सूचनाहरुले हामीलाई कहिँ पुर्‍याउँदैनन्। हामीलाई सरल विधि चाहिन्छ जसले हामीलाई आफ्नै पुरानो सरल स्वरुपमा पुर्‍याओस्। यस अर्थमा सागर पराजुलीको किताबले यो सम्भावना बोकेको छ।

बुद्ध र पतञ्जलिका आठ मार्गजस्तै सागर पराजुलीले पनि अध्यात्मका आठ मार्ग दिएका छन् जसलाई यो पुस्तकमा उनले विस्तारमा व्याख्या गरेका छन्।

पराजुलीले किताबमा दिएका आठ मार्ग हुन्:

कर्म। निरन्तर कर्मको पालना।

शरीरको शुद्धि।

भारी नबोक। चाहिनेभन्दा बढी कुनै पनि चिज वा ज्ञान नलिने अध्यास।

वरिपरिका वस्तुमा ध्यान देऊ। आफ्नो वरिपरि नै रहने अभ्यास।

ध्यानको अभ्यास।

योग।

गुरुको खोजी।

समर्पण।

यी मार्गहरु कसरी पालना गर्ने भनी पराजुलीले किताबमा विस्तारमा बताएका छन्।

यसबाहेक पराजुलीले ससाना सूत्रहरु पनि दिएका छन्। घरमा कसरी सकारात्मक ऊर्जा कायम राख्ने भनी पराजुलीले केही विशेष विधिहरु पनि सिकाएका छन्। खाना खाने एउटा एकदमै महत्त्वपूर्ण काम हो।  हाम्रो शरीरमात्र होइन, मन र आत्माको पोषण पनि खानाबाटै हुन्छ। कसरी खाने के खाने भन्ने कुरा पराजुलीले किताबमा स्पष्टसँग लेखेका छन्। उनले निरन्तर अगाडि बढिरहनुको महत्त्व र कुनै पनि काम गरेरै छाड्ने संकल्पशक्तिको फाइदा पनि किताबमा लेखेका छन्। ‍

हाम्रो पूर्वीय दर्शनका महत्त्वपूर्ण पात्रहरु शिव र कृष्णका अवधारणाका आयामहरुबारे पनि सागर पराजुलीले आफ्नो किताबमा स्पष्ट पारेका छन्। शरीर, मन र चेतनाका बहुआयामबारे पराजुलीले किताबमा खोलेका छन्।

किताबमा पाँच खण्ड छन्।

परिचय खण्डले अध्यात्मको संसारबारे आधारभूत जानकारी दिएको छ।

अर्को छ- जीवनको अमरता। यसले भन्छ- किन हामी मृत्युभन्दा बाहिर छौँ।

अर्को- शरीर, मन र चेतनाका आयाम। यसले हाम्रो अस्तित्वमा यी तीन ऊर्जाको महत्त्व प्रस्ट पारेका छन्।

अर्को- अभ्यास र विधिका संग्रहको खण्ड छ जसमा सागरले आफ्नो अनुभूति पस्किएका छन्।

पाँचौँ खण्डमा भने उनले किताबको सार पस्किएका छन्।

किताबले अझै राम्रो सम्पादन खोजेको प्रतीत हुन्छ। सूत्रात्मक पुस्तकमा अनावश्यक शब्द शोभा दिँदैन। किताब पढ्दा लेखकले आफूलाई अध्यात्मबारे धेरै नै थाहा भएको देखाउन खोजेको देखिन्छ। उनलाई थाहा भएको कुरा उनका शब्दहरुको गहनताबाट पाठकले महसुस गरिहाल्छन्। शब्दमै लेखिरहनुनपर्ला!

समग्रमा किताब निकै उपयोगी छ। सागर पराजुलीलाई यति गहन किताबका लागि हार्दिक धन्यवाद र बधाई दिनैपर्छ। सरल अंग्रेजीमा लेखिएको हुनाले यो किताब सबैको पहुँचमा छ। थुप्रै विदेशी लेखकका विदेशी सन्दर्भका किताबभन्दा नेपाली लेखकले नेपाली सन्दर्भहरुसहित लेखेको यो किताबले पाठकको आध्यात्मिक तिर्खा केही हदसम्म बुझाउनेछ भनी म ढुक्क छु।

अध्यात्मको साधकले बढा कठिन अभ्यास गरेको हुन्छ, यात्राका क्रममा। सागर पराजुलीले पनि त्यो गरेका छन्। ती कठिनाइबाट आएका ज्ञानलाई उनले क्याप्सुलको फर्ममा किताबमा खन्याएका छन्। लामो अभ्यासबाट निस्केका ठोस कुरा २ सय पृष्ठभन्दा केही बढीको यस किताबमा पराजुलीले पोखेका छन्। भारतको ब्ल्यु हिल पब्लिकेशन्स्‌ले यो पुस्तक प्रकाशन गरेको हो।

जानेको सबै बिर्सनुपर्छ यदि आफैँलाई भेट्ने हो भने। अब बिर्सिदिनुस् कि तपाईँले यो लेख पढ्नुभयो। जस्ट फर्गेट इट। पराजुलीको किताब पनि पढ्नुस् र महसुस गर्नुस् अनि चाहे बिर्सिदिनुस्, चाहे सिरानीको आडमा राखेर हरेक दिन केही पाना पढ्दै पालना गर्नुस्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?