‘सरकार संवैधानिक संस्था भत्काउन उद्यत छ’

‘सरकार संवैधानिक संस्था भत्काउन उद्यत छ’
+
-

काठमाडौँ – कांग्रेसका युवा नेता गगन थापाले देशका संवैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयासविरुद्ध कांग्रेस बलियो ढंगले उभिनुपर्ने बताएका छन्।

काठमाडौँमा शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन कार्यक्रममा नेता थापाले विगतमा आशंका गरिएकै बाटोमा नेपालको राजनीति अगाडि बढेको भन्दै त्यसविरुद्ध कांग्रेस उभिनुपर्ने धारणा व्यक्त गरे।

उनले संस्था बलियो बनाउने भन्दा व्यक्ति बलियो बनाउने गलत दर्शनबाट प्रभावित भएर प्रधानमन्त्री केपी शर्मा ओली अघि बढिरहेको र देशका संवैधानिक संस्थालाई एकपछि अर्को भत्काउने र कमजोर बनाउने खेलमा लागेको बताए।

उनले भने, ‘२०७४ साल फागुन २७ गते ओलीले प्रधानमन्त्रीको विश्वासको मत लिइसकेपछि पार्टीको तर्फबाट संसद्मा शुभकामना दिने क्रममा मैले भनेको एउटा कुरा सम्झन्छु, एउटा आशंका छ कि तपाईंको पृष्ठभूमि हेर्दा, तपार्इंको रुझान हेर्दा अहिले प्राप्त भएको स्थिरतालाई नेपालको संस्थाहरू बलियो बनाएर, पद्धति बलियो बनाएर परिणाम दिनका लागि प्रयोग गर्न भन्दा पनि व्यक्ति बलियो भयो भने परिणाम आउँछ भन्ने गलत दर्शनबाट प्रभावित भएर त्यो बाटोमा देशमा लैजान सक्नुहुन्छ भन्ने मलाई आशंका छ। यो भयो भने देशमा ठूलो दुर्घटना हुन्छ भनेको बोलेको म सम्झन्छु। त्यो भनिरहँदा यो नहोस् भन्ने थियो।’

संविधान निर्माणपछिको निर्वाचन र त्यसपछिको सरकारले नेपालको राजनीतिक प्रतिस्पर्धालाई नयाँ उचाइमा लैजान्छ भन्ने अपेक्षा भए पनि विगतमा आशंका गरिएजस्तै ढंगले नेपालको राजनीति अघि बढेको उनले उल्लेख गरे।

संसद्, अदालत, संवैधानिक निकाय, आयोग, प्रशासनलगायत सबैतर्फ अस्तव्यस्त रहेको भन्दै ओलीले स्थिर सरकारले दीर्घकालीन सोच राखेर नभई व्यक्तिकेन्द्रित शक्ति एकीकृत गर्ने ढंगबाट अघि बढेको उनको भनाइ छ।

उनले विभिन्न ढंगले राजनीतिक विभाजन ल्याउने प्रयास गरेका प्रधानमन्त्री ओलीले त्यो सफल नभएपछि विकास निर्माण अघि सारेर जबर्जस्ती विभाजन गर्ने प्रयास गरेको दाबी गरे।

उनले पछिल्लो समय ओली पक्षमा रहेका समूह विकासप्रेमी र ओलीको विपक्षमा उभिनेहरू विकास विरोधीको कित्तामा देखिएको तर्क गरे।
उनले भने, ‘पपुलिस्ट लिडरको क्यारेक्टर एउटै हुन्छ। पपुलिस्ट लिडर देशको समस्या अत्यन्तै सामान्य छन्। मभन्दा अगाडिका शासक खराब र अयोग्य भएकाले गर्न नसकेको हो। तर, मसँग क्षमता छ, त्यसकारण मैले तत्काल यसको हल गर्छु भन्छ।’

उनले वर्तमान सरकारले नै आगामी वर्षका लागि बजेट ल्याउन पायो भने देशले भारी बोक्न नसक्ने गरी बजेट ल्याउने दाबी गरे।

‘जेठ १५ गते यो सरकारले बजेट ल्याउन पायो भने, अहिले नै दाबाका साथ भन्न सकिन्छ, सिंगो देशले भारी बोक्न नसक्ने भारी नेपालको अर्थतन्त्रलाई बोकाउने गरी बजेट ल्याउँछ तर त्यसको उत्तर हामी दिन सक्ने अवस्थामा रहँदैनौँ,’ उनले थपे, ‘अहिलेको प्रधानमन्त्रीले लोकसेवा आयोगको संवैधानिक परिषद्को अध्यक्षका रूपमा नियुक्त गर्न पाउनुभयो भने अर्को एउटा हनुमानलाई ल्याएर त्यहाँ राख्नुहुन्छ भन्ने कुराको अहिले नै अनुमान लगाउन सक्छौ।’

कांग्रेसले आफ्नो कर्तव्य र धर्म निर्वाह गरी अवसरको दुरूपयोग गरेका प्रधानमन्त्री ओलीलाई दण्डित गरेर पदच्युत गर्ने हिम्मत गर्न सक्नुपर्ने बताए।

हटाएपछि उत्पन्न अवस्थाको सामना गर्ने क्षमतामा कांग्रेस रहेको भन्दै उनले नेतृत्वलाई त्यसतर्फ अघि बढ्न आग्रह गरे।

सरकारका क्रियाकलाप संवैधानिक संस्थाहरू भत्काउन उद्यत रहेको र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि संस्था भत्काउने प्रयासस्वरूप आएको भन्दै उनले सरकारका त्यस्ता क्रियाकलापविरुद्ध कांग्रेस उत्रनुपर्ने आवश्यकता औँल्याए।

उनले निर्वाचनमा जाँदै गर्दा इतिहास रटेर नभई तथ्यगत रूपमा एजेन्डासहित जनतामाझ जान पनि सुझाए।

उनले भने, ‘यो पटक कांग्रेस निर्वाचनमा जाँदै गर्दा मेरा बा ले घ्यू खाएका थिए। हात सुँघ–सुँघ भनेर गएर हुँदैन। ५ वर्ष मौका पाउँदा के–के गर्छौं भनेर औँला भाँचेर भन्नुपर्छ।’

उनले निजामती कर्मचारी युनियनलाई आफ्ना समस्या र मागलाई लिपिबद्ध गर्न र अनुकूल ढंगले विधान संशोधन गर्न सुझाव दिए। उनले सबै सेवाग्राहीलाई समान सेवा दिन र राजनीतिक दल हेरेर व्यवहार नगर्न पनि सुझाव दिएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?