पिक्चर अभी बाँकी है मेरे दोस्त!

पिक्चर अभी बाँकी है मेरे दोस्त!
+
-

फागुन ११ गते मंगलबार साँझ सर्वोच्च अदालतले एकमतले फैसला सुनाउँदै निर्देश दियो- प्रतिनिधि सभाको बैठक आउने १३ दिनभित्रै अर्थात फागुन २४ भित्र बस्नु पर्छ। भन्नु परिरहेन- सर्वोच्च अदालतले गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटन विरुद्ध परेका मुद्दामा आफ्नो विवेक अनुसार प्रतिनिधि सभा पुनर्स्थापित गर्ने निर्णय सुनायो।

सर्वोच्चको यो फैसला आउनासाथ देशमा एकपटक पुनः शान्ति आएको छ। सड़क संघर्षमा ओर्लेको नेपाली राजनीतिका पुरोधाहरुले एक अर्कालाई लड्डु भोग गराउँदै प्रसन्नता जाहेर गरेका छन्। सड़क संघर्षका तमाम गतिविधि स्थगित भएका छन्। नेपाली जनतालाई यो भन्दा अर्को कुनै सुख चाहिएको छैन  राजनीतिक गणहरुबाट। आशा गरौँ- नाङ्लेपसलदेखि दैनिक ज्यालदारी श्रमिक, काम गरी खाने वर्गलाई केही दिनसम्म राजनीतिको क्षेत्रबाट बाधा व्यवधान आउने छैन।

नेपाली उखान छ- घर झगडाले रडाको निम्त्याउँदै विकराल रूप धारण गर्‍यो भने त्यसको राप-तापले छिमेक मात्र होइन सारा टोल नै आक्रान्त बन्न पुग्छ। केही यस्तै भएको थियो देशमा। देशको सबैभन्दा ठूलो कम्युनिस्ट दलमा आएको विग्रहका फलस्वरूप एउटा पक्षले संसद विघटन गर्ने साहस प्रदर्शित गरेको थियो। अर्को पक्ष भने आफ्नै दल सहकर्मीको यस कृत्यप्रति असन्तुष्ट भई सड़क संघर्षमा ओर्लेको थियो। सर्वोच्चमा विचाराधीन मुद्दामा नेकपाको असन्तुष्ट पक्ष मात्र होइन, ४ जना भूतपूर्व न्याययमूर्तिहरु पनि विचलित बनी वाचाल हुँदै आफ्ना छटपटी पोख्न फुटपाथमा आएका थिए। अब यो नजीर नै बन्नुपर्छ- अदालतमा विचाराधीन मुद्दामा भूपु न्यायमूर्तिहरुले चिनजान, धाकधक्कु र धनबलको कोठे प्रयोग मात्रै होइन, सड़कमै ओर्लेर अदालतलाई प्रभावित गर्ने किसिमका गतिविधि गर्न पाउनुपर्छ।

सम्मानित सर्वोच्च अदालतले आफ्नो फैसलाले देशमा सल्किन सक्ने आगोको ज्वाला त मत्थर पारिदियो तर नेकपाको घरमा सल्केको डढेलो भने अझै पनि सल्कि नै रहेको छ। यसको राप भने अब कम्युनिस्टका घरमा मात्रै सीमित भएको छ। सर्वोच्चले देशमा पुनः अमनचयनको वातावरण बनाइदिएको छ।

नेकपाको घर झगड़ाको परिणाम के हुन्छ, त्यो अझै अनिर्णीत छ, भविष्यको गर्भमा छ। आशा गरौँ- यसको परिणाम जे आए पनि जति ढिलोचाँडो आए पनि यस घरझगड़ाको रापतापले अब देशलाई पोल्ने छैन। अब सम्पूर्ण नेपालीले चियासिगरेट खाई यसबारे निष्फिक्री गफ गर्ने वातावरण र अवसर उपलब्ध भएको छ। यो अवसर उपलब्ध गराईदिनका लागी सर्वोच्च अदालतमा सम्माननीय न्यायमूर्तिहरुलाई साधुवाद नभनी रहन सकिँदैन। कल्पना मात्रै गरिहेरौँ- सर्वोच्चको फैसला योबाहेक कुनै रूपमा आएको भए हिजो साँझदेखि अहिलेसम्म देशमा के के घटित भइसक्ने थियो। धन्यवाद न्यायमूर्तिहरु।

कम्युनिस्टहरुको मूल घरझगड़ाको बैठान कसरी र कुन रूपमा हुन्छ, त्यो उनीहरु बाहेक कसैको टाउकोदुखाइ होइन। मेरा मित्र रामका भाँती तपाईंहरु पनि आनन्द लिनुस्। राम त यसरी रमाउँछन्।

नेकपाको विभाजित समूहमध्येको कुनै समूहको विरोधसभामा शोभा बढाउन आइपुगेका आफ्ना नुवाकोटे गाउँलेलाई हेर्नासाथ मित्र रामले मोटरसाइकिल रोकी सोधे- ऐ होइ, होइन कता, कहिले आएको तँ काठमाडौँ?

‘विरोध सभामा भाग लिन आएको हुँ दाइ।’

‘तेरो दल त दलदलमा फसी फक्रेर दुईवटा मौसमी फूलमा झाँगिएको छ, तँ कुन फूलको भँवरा बनी रस आस्वादन हेतु उपस्थित हुन आइस?’

‘मुलुक प्रतिगमनमा गइसक्यो, संविधान सङ्कटमा परेको छ । यत्रो त्याग, सङ्घर्ष, बलिदान, तपस्याले ल्याएका सारा उपलब्धि खतरामा परेका छन्, म प्रतिनिधि सभा पुनर्स्थापना गर्ने आन्दोलनमा भाग लिन आएको हुँ।’

‘ऐ भाइ म तेरो भोटर होइन, भाषण नगरेर सोझै भन न, माधव – प्रचण्ड समूहको भत्ता खान आएको । तँ गाउँमा आफ्नो पैसाले एक कप चिया त खाँदैनस्, आफै भाडा तिरी त आइनस् होला नि?’

‘भाडाको के कुरा दाइ, पार्टीले यहाँ बस्नेखाने व्यवस्था नै गरेको छ । हाम्रो टोलीमा बीस जना छन् । देशका गाउँगाउँबाट कार्यकर्ता काठमाडौँ आएका छन् । पार्टीले सबैको समुचित व्यवस्था गरेको छ ।’

‘यत्रो पैसा खर्च गर्न नेताहरुले आआफ्नो घरमा नोट छाप्ने मसिन नै लाएका छन् कि क्या हो ?’

‘यो त म जस्ता सामान्य कार्यकर्तालाई के थाहा हुनु नि दाइ ? नेताहरुले कहाँबाट पैसा ल्याउँछन्, उनीहरुको आर्थिक स्रोत के हो ? यो त पार्टीका वरिष्ठ कामरेडहरुलाई मात्रै थाहा हुन्छ । हाम्रो काम त पार्टीको निर्देश पालना गर्नु हो ।’

‘अर्थको कुरा तँ व्यर्थको मानसिक दरिद्रलाई के थाहा हुनु ? ल तँलाई थाहा हुन सक्ने एउटा कुरा सोध्छु, भन्छस्?’

‘थाहा भएको कुरा दाइलाई किन नभन्नु, सोध्नुस् न।’

‘हेर भाइ तँ अहिले सूर्य चिन्ह अङ्कित झण्डा बोकी गाउँबाट माधव – प्रचण्ड समूहको विरोध सभामा भाग लिन आएको छस्, भोलि यदि पार्टी र पार्टीको चुनाव चिन्हमा ओली समूहको अधिकार स्थापित भयो भने तँ यो झण्डा छोड्छस् कि के गर्छस्?’

‘यस्तो कहाँ हुन्छ दाइ ? पार्टी हाम्रा नेताहरुकै कब्जामा रहन्छ । हाम्रा नेताले विदेशी शक्तिको चलखेल, षड्यन्त्र, जालझेललाई पराजित गरी पार्टीमा आफ्नो वर्चस्व राख्छन् ।’

‘तँ ०५३ मा वामदेवको पछाडि जाँदा पनि यस्तै कुर्लिन्थिस् होइन ? भाषण गर्न छाडेर यति मात्रै भन्, यदि पार्टी ओली खेमातिर गयो भने के हुन्छ ? त्यो मात्रै भन् । तँ अहिले त माधव – प्रचण्डका लागि आएको होस् यो कुरा प्रमाणित गरी रहनुपर्दैन, तर चुनाव चिन्ह र पार्टी ओलीले पाए भने कि त तैँले झण्डा छाड्नुपर्ने हुन्छ र छाडिनस् भने तेरो अहिलेको शक्ति प्रदर्शन त ओलीका लागि गरेको ठहरिन्छ नि, होइन र ?’

‘दाइ यो कुरा त ओली समर्थकहरुले भत्ता खाएर झण्डा बोकी गरेको शक्ति प्रदर्शनका लागि पनि लागू हुन्छ, होइन र ?’

‘बल्ल तैँले मेरो कुरा बुझिस्।’

नुवाकोटे भाइ र मेरा मित्रका बीच भएको यो संवाद नै अहिलेको परिस्थिति हो। एक पार्टी, एक चुनाव चिन्ह दुवै खेमामा आधीआधी बाँड्न मिल्दैन। कुनै एउटालाई खाली हात पुर्पुरोमा राखी निर्वाचन आयुक्तको कार्यालय धाउनुपर्ने हुन्छ। माधव – प्रचण्ड खेमाले दिनहुँ करोडौँ खर्च गरेर लहराइएको सूर्यचिन्ह अङ्कित झण्डाले अर्जित गरेको सारा शक्ति र प्रभाव ओलीको प्राणवायु बन्न सक्छ! यसैगरी राज्य र राज्य निकटका समस्त माफियाहरुको लगानीमा दिनहुँ करोडौँ खर्च गरेर गरिएको शक्ति प्रदर्शनले अर्जित भएको सारा छाल र तरङ्ग माधव – प्रचण्ड समूहको ‘न्युक्लियर’ शक्ति हुन सक्ने सम्भावना उत्तिकै प्रबल छ।

रामसँग कफी गफ हुँदै थियो। मित्र सरोजले सोध्नु भयो, अहिलेको समस्याको राजनीतिक समाधान के हुन्छ, के हुन सक्छ?

रामले अट्टहासका साथ भन्नु भयो, राजनीतिले पनि कहिल्यै समस्या समाधान गर्छ र ? यसले त समस्या उत्पादन गर्ने हो । यसले गरेको एउटा समस्या निवारणबाट अर्को थप दसवटा समस्या जन्माउँछ । ए सर, राजनीति समाधानको ‘टुल्स’ होइन, समस्या जन्माउने ‘टुल्स कारखाना’ हो । अहिलेको समस्या के राजनीतिबाहेक अन्य कुनै कारणले उत्पन्न भएको हो र ?

नेपाल समस्याग्रस्त बनेको छ राजनीतिक प्राणीहरुको आँखा र बुझाइमा। सामान्य नेपालीलाई कहिँ, कतै, कुनै समस्या नै देखिँदैन । राजनीतिक वर्गले अथक प्रयास गरेर नागरिकलाई समस्यासँग साक्षात्कार गराउने भगीरथ चेष्टा गरिरहेका छन् । सामान्यजन त सधैँ मन्थराका भाँती गूढबोध आत्सात गरी बाँचेको हुन्छ, ‘कोउ नृप होइ हमहि का हानि’ जो सत्तामा आएर ढुलमुल गरे पनि न हानि, न लाभ ।

राम यस निठल्ला चिन्तकको निठल्ला समूहको परम सुषुप्त – अक्रिय र मनमौजी सदस्य हुन् । उनी उत्तर र समाधानमा विश्वास नै गर्दैनन् । ‘ऐ सर, यस्ता खाले सबै क्रियाकलाप र गतिविधि बौद्धिक वेश्यागिरी हुन्’, उनी बहुधा भन्छन्।

नेपाल समस्याग्रस्त बनेको छ राजनीतिक प्राणीहरुको आँखा र बुझाइमा। सामान्य नेपालीलाई कहिँ, कतै, कुनै समस्या नै देखिँदैन । राजनीतिक वर्गले अथक प्रयास गरेर नागरिकलाई समस्यासँग साक्षात्कार गराउने भगीरथ चेष्टा गरिरहेका छन् । सामान्यजन त सधैँ मन्थराका भाँती गूढबोध आत्सात गरी बाँचेको हुन्छ, ‘कोउ नृप होइ हमहि का हानि’ जो सत्तामा आएर ढुलमुल गरे पनि न हानि, न लाभ ।

पुनर्स्थापित संसदले पनि यही प्रमाणित गरेको छ।

ज्ञानीजन, योगीजन, मुनिजन र सबैखाले सज्जन (मजस्ता!) ले समस्यालाई नयाँ खाले खेल ठानी खेलको आनन्द लिन्छन् । खेलमा संलग्न विभिन्न पात्र र प्रवृत्तिको क्षोभ – विक्षोभ, जाल – झेल, दाऊ – पेच, ‘अटैक – डिफेन्स’, प्रतिद्वन्दी समूहबीच हुने सम्भावित ‘इन्टरट्रान्जेक्सन’ – घुसपैठ – पाला परिवर्तनको रमाइलो क्रियाकलाप हेरी सत्तरी हज़ारवर्ष पूर्व (विज्ञानको दाबीअनुसार) अहिलेको कोरोना भाइरसजस्तै कुनै भाइरसले त्यो बेलाको ‘होमोसेपियन्स’ नामक प्रजातिमा विकसित गरी दिएको बुद्धि – स्मृति र यसको प्राकृतिक गुण र क्षमता (खुराफात गर्ने) लाई प्रणाम गरी आफू यसबाट मुक्त रहिरहौँ भन्ने अभिलाषाले आपूरित हुन्छन्। विदित नै छ त्यस भाइरसले उपलब्ध गराएको क्षमताले नै ‘होमोसेपियन्स’ले आफ्ना समकालीन सबै अन्य प्रजातिको समूल उच्छेदन गरी पृथ्वीमा आफ्नो वर्चस्व स्थापित गरेको थियो ।

अब नेपाली राजनीतिक फिल्मको प्रोड्यूसर जो भए पनि डायरेक्शनको जिम्मा देउवाजीको काँधमा आई परेको छ। देउवाजी यस्ता फिल्मका सफलतम निर्देशक भएको विगतबाटै पुष्टि हुन्छ। पटक पटक यस विषयक पुष्टि भई सकेको छ। देउवाजी कुशल भविष्यवेत्ता हो, उहाँमा राजनीतिक उठापटकको पूर्व अनुमान लाएर ततअनुसार आफू लाभान्वित हुने प्रसस्त क्षमता विद्यमान छ। माधव -प्रचण्ड – देउवाको नयाँ फिल्म चाडै नै नेपालमा ‘रिलिज’ हुनेछ। अफ्रीकाको कुनै जंगलबाट विस्थापित हुँदै संसारभरी स्थापित भएका ‘होमोसेपियन्स’को आधुनिक अवतार यी त्रिमूर्तिको फिल्म हेर्ने प्रतीक्षा सबैलाई हुनु स्वाभाविक नै हो।

एउटा यस्तै अर्को ‘होमोसेपियन्स’को चर्चा गर्न उद्यत भएको छु । यी महान् प्राणीलाई ‘राजनीतिको मौसमविज्ञानी’को उपमा दिनु सार्थक नै हुन्छ। विगतमा कुनै बेला बाबुराम भट्टराईले अन्य ‘होमोसेपियन्स’ मध्ये आफूलाई श्रेष्ठ भएको छद्म अनुभूति राखेर धेरै नै ‘मङ्की जम्प’ गर्नुभएको थियो ।

मलाई समस्या नलागे पनि यदि कसैलाई अहिले नेपाल समस्याग्रस्त भएको अनुभूति हुन्छ भने यो समस्या ल्याउनमा बाबुराम नामधारी विभूतिको अतुलनीय योगदान रहेको नेपाली जनमानसले कहिल्यै पनि विस्मृत गर्न सक्दैनन् ।

अहिलेको उहाँको छटपटी, गतिविधि र क्रियाकलाप हेर्दा उहाँ श्रेष्ठ भए, नभएको प्रमाणित नभए पनि उहाँ कुशल ‘मौसम विज्ञानी’ रहेको झझल्को जोकसैलाई पनि भएको हुनुपर्छ । हालै भूषण दाहालसँगको अन्तर्वार्ताका क्रममा उहाँले आफ्नो यो क्षमता सार्वजनिक गर्नुभएको थियो । पूर्व राजा र हिन्दू धर्मका बारेमा उहाँका अभिव्यक्तिले जवाहरलाल नेहरू विश्वविद्यालयका प्रशिक्षण बिर्सेको अनुभूति जोकसैलाई पनि भयो । के गर्नुहोस् बिचरा उहाँ ! अहिले उहाँलाई प्रशिक्षित गर्ने संस्था आफै टुहुरो एवं पोलियोग्रस्त भएको छ । भारतमा आएको र उदय भएको नयाँ बाहुबलीले ‘लिबरल’, ‘लेफ्ट लिबरल’, ‘मेट्रो नक्सलाइट’, ‘सबाल्टर्न’, भीडवादी, अराजक, अवसरवादी खेमाप्रति अख्तियार गरेको दृढ धारले सबै खाले ‘डाक्टरहरु’मा ‘९ रेक्टर स्केल’को भुइँचालो गएको छ ।

बाबुरामजी राजा र हिन्दूहरुको कित्तामा उभिन आई पुग्नुभएको छ । यसलाई उहाँभित्र रहेको मौसमलाई पूर्वानुमान गर्ने क्षमताका रूपमा बुझ्नुपर्छ । उहाँका नासिकाले गन्ध पाए ‘तुफान सन्निकट छु’, आफ्नो सुरक्षामा संलग्न हुनु नै परम कल्याणकारी उपाय हो । यसै उपायका फलस्वरूप बाबुरामजीको व्यक्तित्वमा ३६० डिग्रीको परिवर्तन आएको हो ।

भारतको राजनीतिमा रामबिलास पासवानलाई ‘राजनीतिको मौसमविज्ञानी’को दर्जा प्राप्त थियो । पासवान जीवनभरि नै राजनीतिक मौसमको पूर्वानुमान गरी सुरक्षित ओत लाग्न पुग्थे । एक हिसाबमा उनको ‘राजनीतिक जीवन’ जीवनभरि नै सफल रह्यो ।

बाबुरामजीका परम मित्र एवं हितैषी बिहारका मुख्यमन्त्री नीतिश कुमारलाई पनि राजनीतिक मौसमको पूर्वानुमान गर्नमा महारत हासिल छ । कहिले मुस्लिमको राजनीति गर्ने दलसँग त कहिले हिन्दूको राजनीति गर्ने दलसँग सहवास गर्नु नीतिशको विशेषता हो । यही विशेषताले उनी विगत लामो समयदेखि बिहारको सिंहासनमा टाँसिएर बस्न सफल भइआएका छन् । उनको आफ्नो दल भने कुपोषणको सिकार भई खिइँदै खिइँदै रसातल उन्मुख नै भइसकेको छ । आज उनी नरेन्द्र मोदीको सदिच्छा, शुभेच्छा र आशीर्वादले मात्रै गद्दीनसीन छन् ।

हाम्रा डाक्टर साहेबमा पनि नीतिशको यो गुण र प्रवृत्ति राम्ररी नै हस्तान्तरित भएको प्रमाणित भएको छ । दक्षिणी हवाको उष्णता र यसले ल्याउन सक्ने आँधीबेरी र हिमपात मध्यनजर गरी उहाँले अविलम्ब काँचुली फेर्ने मनसाय जाहिर गर्नु भएको हो । सौभाग्यले उहाँलाई काँचुली फेर्ने अभिव्यक्ति दिएको केही दिनभित्रमै ‘न्युरो–इन्डोक्राइन ट्युमर’ परीक्षणका लागि नयाँ दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ पुग्ने अवसर अथवा संयोग जुरेको छ।

शीघ्र स्वास्थ्य लाभ होस् भन्ने कामनाका साथ उहाँलाई हिन्दु संन्यासी भएको नाताले दीर्घायुको आशीर्वाद दिन्छु । सम्मानित नेता बाबुरामजी शीघ्र स्वास्थ्य लाभ गरी स्वदेश आउनु होस् । र, सय वर्षसम्म स्वस्थ रही यस जीवनमा घटित भएका सबै क्रियाको फल भोग्नु भई कर्मफलको खातालाई ‘जिरो ब्यालेन्स’ बनाई केही वर्ष विज्ञानको भाषामा ‘मोमेन्टमलेस’ बाँचेर मात्रै यस लोकबाट प्रस्थान गर्नुहोस् । हिन्दू धर्मका सनातन शास्त्र उद्घोष गर्छन यस जीवनमा भएका सबै कृत्यको फलस्वरूप संग्रहित भएका सबै कर्मफल यसै जीवन कालमा भोगी प्रयाण हुनु नै परम सौभाग्य हो। सन्यासी हुनुपुर्वका आफ्ना ‘सगोत्री वशिष्ठ गोत्रीलाई’, गोत्र लगायत सबै कर्म-अकर्मबाट विमुक्त भई ‘मोमेन्टमलेस’ जीवन बाँची रहेको निठल्ला भगवाधारीबाट आफ्ना पुर्वबन्धुलाई यस्तै संयोग वा नियति उपलब्ध होस भन्ने मंगलकामना।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?