सन्तनेता किसुनजीका यी दुर्लभ गुणहरु

सन्तनेता किसुनजीका यी दुर्लभ गुणहरु
+
-

नेपाली राजनीतिका एक केपी (प्रधानमन्त्री केपी शर्मा ओली) ले असंवैधानिक रुपमा संसद् विघटन गरेर हल्लीखल्ली मच्चाइरहेका बेला अर्का केपी (सन्तनेता कृष्णप्रसाद भट्टराई) को जन्मदिन परेको छ,  पुस ८ गते। उनी बाँचिरहेका भए आज ९६ वर्ष पूरा हुन्थे र नेपाली राजनीतिको यो हविगत देखेर सायद अवाक हुन्थे। नेपाली राजनीतिमा सदाचारको बीउसम्म खोज्न संकट परिरहेको यो समयमा राजनीतिमा निष्काम कर्म र संग्रहरहित जीवनको अभ्यास गरेका किसुनजी भनेर चिनिने सन्तनेता तथा पूर्वप्रधानमन्त्री भट्टराईको सम्झना झन् धेरै सान्दर्भिक बनेको छ।

मैले पत्रकारिता सुरु गर्ने बेला किसुनजीको राजनीतिक जीवनको लगभग अन्त्य भइसकेको थियो। २०५६ साल चैत ३ गते संसदको चर्चित भाषणसँगै किसुनजीको दोस्रो र अन्तिम प्रधानमन्त्रीत्वकालको अवसान भएको थियो। यद्यपि अग्रज युवराज घिमिरे र अमिता कपालीका कारण मैले राजनीतिक रुपमा लगभग निष्क्रिय भइसकेपछि ललितपुरको बाडेगाउँस्थित आश्रममा पूर्णतया: आध्यात्मिक जीवन बिताइरहेका बेला केही वर्ष किसुनजीलाई नजिकबाट भेट्ने अवसर पाएको थिएँ।

सरलता उनको सबैभन्दा ठूलो गुण थियो।

सरलता प्रकृतिको पनि गुण हो। तारा, जुन, आकाश, बादल, हावा कति सरल हुन्छ! दुनियाँमा मानिस सबैभन्दा जटिल प्राणी बनेको छ। सरल बन्नु अवगुणका रुपमा मानिसले सिकेका छन्, आम रुपमा। नेपाली राजनीतिमा पनि सरलता एउटा दुर्लभ गुण बनेको छ।

आध्यात्मिक किसुनजीको सरलताले मलाई धेरै प्रभावित गरेको थियो। एक साधारण व्यक्ति र प्रधानमन्त्रीसँग उनले गर्ने व्यवहार फरक हुँदैन थियो। तपोवनका आचार्य आनन्द अरुण पटकपटक भन्छन्- सबैलाई आफ्नो महसुस गराउनसक्ने गुण उहाँमा थियो।

त्यही सरलताकै कारण।

सरल बन्नु आवरणरहित बन्नु हो। मखुण्डोरहित। नेपाली नेताहरु मखुण्डै मखुण्डोले पुरिएका छन्। किसुनजीसँग लुकाउनुपर्ने केही थिएन। उनी आवरणरहित थिए।

बाडेगाउँ आश्रममा रहेको किसुनजीको कोठामा उनले नित्य पाठ गर्ने गीताको एउटा पुस्तक थियो। त्यो पुस्तक बाडेगाउँ आश्रममा अद्यापि छँदै छ। गेरु कपडाले बेरेको त्यो गीताको पुस्तक ७० वर्ष पुरानो थियो, त्यही बेला। किसुनजीले आफूले पाएको गीताको पुस्तक त्यही बेलादेखि जोगाएर राखेका थिए। हरेक दिन उनी गीताको एक अध्याय पाठ गर्थे।

आध्यात्मिक अभ्यास र नियमित गीतापाठका कारण सत्यवादिता उनको अर्को गुण बनेको थियो। सायद कर्म, प्रारब्ध र संस्कारले पनि उनले सत्यवादिताको अभ्यास गर्न प्रेरणा पाएका थिए। झुटो नबोल्नु मानव जीवनको सर्वाधिक आवश्यक तर कठीन अभ्यास हो। नेताहरुमा यो अभ्यास झनै आवश्यक हुन्छ। यद्यपि हामीले झुटो नबोल्ने नेपाली नेताहरुको बीउ खोज्यौँ भने अहिले पाउन सक्दैनौँ। नेताहरु झुटका पर्याय बनेका छन्। जनता, सहकर्मी र विपक्षीहरुसँग नित्य झुट बोल्ने नेपाली नेताहरुले यो हेक्का राख्न सक्दैनन् कि उनीहरु ईश्वर र आफैँसँग पनि झुट बोलिरहेका छन्।

किसुनजीले जीवनकालभरि अभ्यास गरेको र पारंगत भएको अर्को गुण हो – अपरिग्रह। हिजोआज हामी सामाजिक सञ्जाल वा मिडियामा ‘मिनिमलिस्ट’ भन्ने एउटा शब्द देख्छौँ। यो एउटा पश्चिमी अवधारणा हो जुन आवश्यकमात्र सामग्रीमा गुजारा गर्ने अभ्यास हो।

झुटो नबोल्नु मानव जीवनको सर्वाधिक आवश्यक तर कठीन अभ्यास हो। नेताहरुमा यो अभ्यास झनै आवश्यक हुन्छ। यद्यपि हामीले झुटो नबोल्ने नेपाली नेताहरुको बीउ खोज्यौँ भने अहिले पाउन सक्दैनौँ। नेताहरु झुटका पर्याय बनेका छन्। जनता, सहकर्मी र विपक्षीहरुसँग नित्य झुट बोल्ने नेपाली नेताहरुले यो हेक्का राख्न सक्दैनन् कि उनीहरु ईश्वर र आफैँसँग पनि झुट बोलिरहेका छन्।

यद्यपि पूर्वीय समाजमा अपरिग्रह भनिने हजारौँ वर्ष पुरानो अभ्यासको बीउ हिमालयहरुमा अझै जीवित छ जहाँ व्यक्तिले संग्रह गर्दैन। लोभरहित मानिसले मात्र संग्रह गर्दैन। किसुनजी अपरिग्रहको दुर्लभ गुण साधना गर्थे। उनी आफ्नो ट्यांका, सुराही र छाता प्रयोग गर्न नमिल्ने भएसम्म फेर्दैन थिए। सहयोगी अमिता कपाली सम्झन्छिन्- एकपटक सुराहीमा सानो प्वाल पारेपछि नयाँ लिन खोज्दा किसुनजीले गाली गरेका थिए उनलाई। अमिताले त्यही पुरानो सुराही टालेर काम चलाएकी थिइन्। त्यही सुराहीको तस्बिर यो आलेखमा पनि प्रकाशित छ।

सत्ता, सम्पत्ति र शक्तिबाहेक अरु भाषा नबुझ्ने नेपाली नेताहरुमध्ये साह्रै कमले ‘अपरिग्रह’ शब्द सुनेका होलान्। यो शब्दको अर्थ त झनै कमले बुझेका छन्। यद्यपि जनता र राष्ट्रका लागि काम गर्ने नेताहरु लोभरहित हुनु आवश्यक हुन्छ। लोभ भएन भने मात्र नेताहरुले सबै ध्यान निस्वार्थ र निष्काम कर्ममा केन्द्रित गर्नसक्छन्। संग्रह गर्ने, लोभ गर्ने र सत्तामोह भएकाहरुले अपरिग्रहको अभ्यास गर्नसक्दैन।

गीतामा श्रीकृष्णले अर्जुनलाई निष्काम कर्मको महत्त्व सिकाएका छन्। जीवनको ७० वर्षदेखि एउटै गीताको किताब पढिरहेका किसुनजी निष्काम कर्मको अभ्यास गर्थे। उनी पद र सम्पत्तिको लोभ गर्दैन थिए। लोभको गुण त उनको मस्तिष्कमा थिएन। जीवनकालभरि घरविहीन भएर बाँचेका किसुनजीलाई जीवनको उत्तरार्द्धमा सरकारले एउटा निवास उपलब्ध गराएको थियो।

निष्काम कर्म जीवन बाँच्ने सबैभन्दा उन्नत शैली हो। अहिले पद र शक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गरेका छन्। निष्काम कर्मको अर्थ उनले सायदै बुझ्न सक्छन्।

सन्तनेता किसुनजीले भने जीवनभरि त्यही अभ्यास गरिरहे।

किसुनजीको कोठामा उनको जन्मदिनमा चढाइएको पान र लड्डु। उनले पढ्ने गीता गेरु रंगको कपडाले बेरेर अझै त्यहीँ राखिएको छ।

नेपाली राजनीतिका सम्झनलायक नेताहरुको सूचीमा सायद किसुनजी, बिपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी अग्रपंक्तिमा आउँछन्। तीमध्ये पनि आदर्श र निस्वार्थ अभ्यासका कारण मेरो पहिलो रोजाइ किसुनजी नै बन्छन्। उनी ईश्वरत्वको यात्रामा थिए र राजनीतिलाई त्यही यात्राको एउटा भाग सम्झन्थे।

किसुनजीका आदर्श र मूल्यमान्यताहरु अहिले इतिहास बनिसकेका छन्। यद्यपि त्यसका सम्झनाहरु छन्। बाडेगाउँको आश्रमका कुनाकाप्चातिर भने अझै किसुनजीका पदचापहरुसँगै जीवित छन् उनका मूल्यमान्यताहरु।

भन्नैपर्छ- उनी व्यक्तिगत रुपमा खोटरहित थिएनन्। मानवीय खोटहरु उनमा पनि थिए। खानपिन र रमाइलोमा उनी चाख राख्थे। जीवनलाई सम्पूर्ण रुपले बिताउनुपर्छ भन्ने मान्यता राख्थे। उनी आफ्ना कमजोरीहरु स्वीकार्थे पनि।

उनले जीवनको अन्त्यमा लेखेका पनि छन्- मेरा सबै गुणहरु ईश्वरका सम्पत्ति हुन्। यसका लागि ईश्वरलाई धन्यवाद। मेरा कमजोरीहरु चाहिँ मेरा हुन्। यसको सम्पूर्ण जिम्मा म लिन्छु।

आज (पुस ८ गते) किसुनजीको जन्मदिन। सरलता,  सत्यवादिता, अपरिग्रह र निष्काम कर्मयोगलाई आफ्नो जीवनको अभ्यास र साधना बनाएर किसुनजीका चरित्रहरु समाजमा दुर्लभ बनेका छन्।

बाडेगाउँ आश्रममा किसुनजीले जीवनको उत्तरार्द्ध बिताएको कोठामा सुगन्धी धूपको बासना चलिरहेको छ। किसुनजीको ओछ्यान उसैगरी सफा र चिटिक्क पारेर राखिएको छ। उनले पढेका किताबहरु जस्ताको तस्तै छन्। उनले प्रयोग गरेको छाता र लौरो भित्तामा टाँगिएका छन्। नजिकै उनले प्रयोग गरेको टीनको ट्यांका। उनको सम्पूर्ण सम्पत्ति यत्ति नै थियो।

डडेलधुराका कांग्रेस नेता कर्ण मल्लले बिहानै बाडेगाउँ आश्रम पुगेर उनको कोठामा पान, लड्डु र फूल चढाएका छन्।

केही शुभचिन्तक र नेताहरु पुगेर उनको प्रतिमामा फूल चढाएर उनलाई सम्झिएका छन्। कोरोना भाइरस महामारीका कारण यसपटक किसुनजीको सम्झनामा कुनै औपचारिक कार्यक्रम भएन। यद्यपि रामहरि खतिवडा, राजन केसी, धर्मराज गौतम, देवेन्द्र सिटौला, बालकृष्ण खाँडसहित केही नेता र शुभचिन्तकहरुले बाडेगाउँ आश्रम पुगेर उनको सम्झना गरे।

निश्चय नै भौतिक सम्झनाहरुको पनि केही अर्थ हुन्छ। तर सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका यी चार नीतिहरु: सरलता, सत्यवादिता, अपरिग्रह र निष्काम कर्मलाई एउटा मानवका रुपमा र एउटा नेताका रुपमा जीवनमा कुनै न कुनै रुपमा अभ्यास गर्ने हो भने मात्र उनको वास्तविक सम्झना हुनेछ। उनीप्रति साँचो श्रद्धाञ्जलि पनि त्यही हुनेछ।

किसुनजीको सुत्नेकोठामा राखिएको तस्बिर।

किसुनजीले प्रयोग गरेका छाता र लौरो।

किसुनजीले प्रयोग गरेको सुराही। प्वाल परेपछि उनले टालेर प्रयोग गरेका थिए।

किसुनजीको टीनको ट्यांका।

किसुनजीको कोठामा उनको तस्बिर।

तस्बिरहरु: मनोज दाहाल

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?