उनी रोइन्।
मैले जे भोगेकी छु। जे सहेकी छु। मलाई मात्र थाहा छ। यति भन्दै उनी रोइन्। उनी किन रोइन्?
उनी रोइन्, किनकि उहाँलाई उनीले अरुसँग बोलेकै मन पर्दैन रे।
उनी रोइन्, किनकि आज एकैछिन् अरुसँग बोलेको उहाँले देखि त हाल्नुभो।
उनी रोइन्, किनकि उहाँ साथ दिने साथी होइन, कमजोरी केलाउने काजी होइबक्सँदोरहेछ, दण्ड दिने हुकुम होइबक्सँदोरहेछ।
उनी रोइन्, किनकि विदेशी विश्वविद्यालयमा पढेर आएका उहाँका साथीहरुबीच उनको बौध्दिक स्तर नपुग्दो रहेछ।
उनको नपुगेको बौध्दिक स्तरमाथि उहाँले बारम्बार व्यंग्य गर्नु हुँदो रहेछ।
उनी रोइन्, किनकि उनी मोफसलमा जन्मिएकी हुन्।
सहरको ढंग उनले जानिन छिन्।
समयमै सिक्न सकिन छिन्।
सिक्दासिक्दै त्रुटिहरु गरिछिन्।
उनी रोइन्, किनकि तरकारीमा आज नून कम भएछ।
उनी रोइन्, किनकि उनीसँग भान्सा कोठा छ। मुख धुन पानी छ। आँसु पुछ्न टालो छ।
उनी रोइन्, किनकि आफ्नो देवर, आफ्नो नन्द, आफ्नो आमाजुहरुसँग उनको बोली गुलियो भएन छ।
सासुससुरालाई ढोग्न बिर्सिछिन्।
उनी रोइन्, किनकि उनी दाइजो कम ल्याउने बुहारी परिछिन्।
उनी रोइन्, किनकि उनी असल आमा हुन सकिनछिन्।
उनी रोइन्, किनकि उनी असल ठूलीआमा हुन्।
सानीमा हुन्। आमा होइनन्।
बाँझी हुन्।
उनी रोइन्, किनकि अलग्गै भविष्य उनको पनि हुनसक्थ्यो।
उनी रोइन्, किनकि उनीसँग पनि शैक्षिक योग्यताका प्रमाणपत्रहरु छन्।
गाउन सक्ने गला छ। नाच्न सक्ने कम्मर छ।
उनी रोइन्, किनकि पलंगमा एउटा छेउ छ।
सुँक्क आवाजलाई दबाउन सक्ने सिरानी छ।
आफ्नै श्रीमानबाट बलात्कृत भएको अनुभव छ।
उनी रोइन्, आफ्नो प्रेमलाई सम्झिएर।
उनी जस्तै कसैको सौभाग्य सम्झिएर।
आफ्नो दुर्भाग्य सम्झिएर।
गरीब आमाबुवाको सामाजिक प्रतिष्ठा सम्झिएर।
उनी रोइन्, किनकि आज उनको नानीलाई सानो चोट लाग्यो।
त्यही चोटको बहानामा उनलाई ठूलो चोट लाग्यो।
उनी रोइन्, किनकि उनलाई थप्पड थाहा छ।
लात थाहा छ। मुक्का थाहा छ।
काट्दा नदुख्ने, लुछ्दा दुख्ने कपाल थाहा छ।
उनी रोइन्, किनकि उनी भीडमा पनि एक्लै छिन्।
उनी रोइन्, किनकि उनीसँग सडकमा मागेर खानुपर्ने दिन आउला भन्ने धम्कीले जरा गाडेको मन पनि त छ।
उनी रोइन्, किनकी सहनशीलताको बाँध भत्किएको छैन।
आँसु अझै बाँकी छ।
उनी रोइन्, किनकि उनले आज न्याय माग्ने हिम्मत गरिन्।
उनी रोइन्, किनकि न्याय माग्दा, व्यथा बुझ्ने न्यायमूर्ति पाइनन्।
उनी रोइन्, किनकि थप्पड हान्नु नै अपराध हो, तिमीले न्याय पाउँछौ भनेको सुनिनन्।
उनी रोइन्, किनकि उनलाई उल्टै सोधियो- के त्यो थप्पडले कानको जाली फुटेकै हो त?
उनी रोइन्, किनकि उनीले जे भोगेकी छिन्। जे सहेकी छिन्। उनीलाई मात्र थाहा छ।
(तपाईँहामीबीच भएका सबै ‘उनी’ हरुलाई घरेलु हिंसाबिरुद्ध बोल्ने साहस मिलोस्। साहसी सबैलाई न्याय मिलोस्।)