जापान जाने चक्करमा मेरो जिन्दगी नै डुब्यो

जापान जाने चक्करमा मेरो जिन्दगी नै डुब्यो
+
-

म गोरखाको एउटा साधारण परिवारमा जन्मिएकी हुँ। गरिब परिवारकी छोरी भएकै कारण पनि सानैदेखि कडा मेहनत गर्नुपर्‍यो। संघर्ष र परिश्रम गर्ने मलाई सानैदेखि बानी नै परिसकेको थियो ।

२०५८/०५९ सालतिर गाउँमा बसिसक्नु थिएन। त्यतिबेला सौरपानीमा भएको राजनीतिक द्वन्द्वकै कारण मेरो परिवारले गाउँ छाड्यो। हामी काठमाडौं आयौं।

काठमाडौं आएको तीन वर्षपछि मुटु रोगका कारण बाबा बित्नुभयो। त्यसपछि मैले पढाइलाई निरन्तरता दिन सकिन। ठूला भनेका आमा र म मात्रै थियौं। भाइबहिनी पाँचै जना साना थिए।

मेरो त पढाइ बिग्रिसकेको थियो। तर म चाहन्नथें उनीहरुको पढाइ नरोकियोस्। यही कारण मैले गार्मेन्ट उद्योगमा काम थालें। बिहान ६ बजेदेखि राति ९ बजेसम्म काम गर्दा मैले दिनको ५ सय रुपैयाँ कमाउथें।

६ वर्ष यसरी काम गर्दा भाइबहिनीको पढाइले निरन्तरता पायो। खर्च गरेर केही रकम बच्यो पनि। त्यो भन्दा ठूलो कुरा त त्यहाँ काम गर्दा मलाई आफैं केही गर्न हिम्मत पलायो। २०६७ सालमा आफ्नै नाममा अमृत फेशन कलेक्सन प्रा.लि दर्ता गरेर आफैं काम सुरु गरें।

पेशाले म महिला उद्यमी हुँ। गार्मेन्ट फ्याक्ट्रीमा मात्रै सीमित भइन। २०७० सालको वैशाख २६ गते काठमाडौंको सातघुम्ती ठमेलमा रहेको अन्नपूर्ण बजारमा अमृता फेसन नामको पसल खोलें। १८/२० जना जति गार्मेन्टमा काम गर्थे। हामी दिदी बहिनी पालैपालो पसलमा बस्थ्यौं।

मेहनत गरे अनुसार पसल राम्रै चलेको थियो। त्यो भन्दा राम्रो त हाम्रो परिवार खुशी थियो। काम गर्नेक्रममा सधैं कसैलाई पनि राम्रै राम्रो हुँदैन। सधैं खुशी मात्रै मिल्दैन नै। म जहिले पनि आशावादी भएर सकारात्मक नै सोच्थें।

तर आज म त्यो अवस्थामा छैन। निराशावादी मनस्थितिले मलाई सताउन थालेको छ। २०७२ वैशाख १२ गतेको भूकम्पले बास बस्ने घर र गरिखाने फ्याक्ट्री क्षतविक्षत बनायो। त्यो पनि केही थिएन, जस्ताकाे छाप्रोबाटै भएपनि पुरानै कामलाई निरन्तरता दिएका थियौं। यसले निरन्तरता पाएको केही महिनामै मेरो जीवनमा भने अर्को उक्सिनै नसक्ने खालको भूकम्प आयो।

२०१५ नोभेम्बर पहिलो हप्तातिर पसलमै हुँदा विदेशबाट एउटा अपरिचित व्यक्तिको फोन आयो। त्यसअघि नै फेसबुकमा ‘रिक्वेस्ट’ आएको थियो, डा. कृस त्रिपाठीका नाममा। फोन उसैको आएको रहेछ। फेसबुकमा आएको ‘रिक्वेस्ट’ मैले डिलिट गरेको थिएँ।

अपरिचित ऊ मेरो काम बारे अपरिचित नै थियो। उसले के गर्नुहुन्छ ? भनेर सोध्यो। सँगै आफ्नो परिचय पनि दिँदै गयो। ‘म जापान टोकियोमा बस्छु । एसटी लक्स इन्टरनेशनल हस्पिटलको सिनियर डाक्टर।’

उसले त्यसपछि दैनिक फोन गर्न थाल्यो। म व्यस्त हुन्थें, गार्मेन्टमा काम गर्ने मान्छेको डाक्टरसँग के नै काम हुन्थ्यो र! मैले फोन नगर्नुभन्दा पनि उताबाट फोन आउन छाडेन। अनि, मैले ‘रिसिभ’ गर्न छाडें।

त्यसको ठिक एक हप्तापछि फेरि नेपालको नयाँ नम्बरबाट फोन आयो। म व्यापारी भएको नाताले आएका प्रायः फोन उठाउँथें। त्यो पनि उठाएँ। नम्बर नयाँ भएपनि मान्छे उही पुरानै परिचयको रहेछ, ‘डा. कृस।’ उसको व्यवहार पुरानो थिएन। सुरुमै भन्यो, ‘म नेपाल आइसकें, एयरपोर्टमा लिन आउ।’

 दैनिक फोन गर्न थाल्यो। म व्यस्त हुन्थें, गार्मेन्टमा काम गर्ने मान्छेको डाक्टरसँग के नै काम हुन्थ्यो र! मैले फोन नगर्नुभन्दा पनि उताबाट फोन आउन छाडेन।

अपरिचित मान्छे लिन जान चाहिँन। त्यसमा पनि मसँग लिन जाने पुर्‍याउन जाने समय पनि हुँदैनथ्यो। तर त्यसको केही समयपछि बिनालोकेसन ‘डाक्टर कृस’ मेरो पसलमा आइपुगेछ। कालो टोपी, माक्स र चस्माले ढाकेको फेस। बाइकमा आएको उसले भन्यो, ‘म डा.कृस।’

त्यो दिन २० मिनेट जति पसलमा बस्यो र बानेश्वरमा घर छ भन्दै फर्कियो।

अनि, बुढानीलकण्ठमा अर्काे घर बनाउँदै गरेकाले बुबा उतै भएको र त्यहाँ जाँदा मेरो पसलमा पसेको भन्यो। ‘१३ वर्ष अघि देखि त्रिवि शिक्षण अस्पतालबाट डा. नाम निकालेर टोकियो स्टलक्समा कार्यरत छु। नेपाली नागरिकता त्यागेर जापानको नागरिक भैसकें,’ उसले यस्तै गफ दिएर गयो।

नेपालमा बाबा–आमा हुनुहुन्छ। एकजना दिदी र आफु जापानमै भएको। जापनकै केटी बिहे गरेर छाडेको बतायो। अनि अहिले काठमाडौंको म्हेपीकी घिमिरे थरकी केटीसँग इन्गेजमेन्ट गरेर बिहेको तयारीमा रहेको कुरा मात्रै सुनाएन। डा. कृसले उसको फोटो हो भन्दै देखायो।

त्यो दिन २० मिनेटजति बसेर आफ्नो परिचय दिएर फर्कियो। यतिमै ऊ सीमित रहेन। हप्तामा ३/४ पटक आउने, हरेक पटक १०/१५ मिनेट बसेर फर्किन थाल्यो। त्यसको केही दिनपछि ऊ जापान फर्कियो।

जापान गएपनि म्यासेज र फोन गर्न छाडेन। ‘तिम्रो व्यापार राम्रो छ, जापान आउ’ भन्थ्यो। मेरो विदेश जाने शोख थिएन, उसलाई पनि त्यही भन्थें। मेरो सोच भनेको पसललाई अझै व्यवस्थित गर्ने सामान थप्दै जाने व्यापार बढाउने नै थियो।

ऊ भने महिनामा चार पटकसम्म जापान आउजाउ गर्न थाल्यो। मासिक तलव ३५ लाख, सिनियर डाक्टर भएकाले काम गर्नु पर्दैन अह्राउने मात्रै हो भन्थ्यो। नेपालका पूर्व राष्ट्रपति र सिनियर नेताको उपचार गरेको, ३८ वटा देशमा काम गर्ने देखि एनआरएनएका अध्यक्ष भवन भट्टसँगै बीबी एयरवेजमा लगानी रहेको पनि बतायो।

उसले यी सबै गफ मात्रै दिएको थिएन। मलाई पनि जापान लगिदिने बतायो। मलाई जापान जानकै लागि उसको सहयोग चाहिंदैनथ्यो। फेरि म जापान जान तयार पनि थिइन। तर कृसले उ मार्फत जापान जाँदा व्यवसायमा पनि सहज हुने बताएपछि म उसको भरपर्दै गएँ।

भूकम्पपछि व्यवसाय खासै राम्रो थिएन। यस्तो बेलामा मलाई उसको कुराले लोभ्याएको थियो। उसको कुरा सुन्दा मैले शंका गर्ने ठाउँ पनि देखिन।

२०७२ सालको मंसिर पहिलो हप्ता मैले डकुमेन्ट पठाएँ। उसले एक हप्तामै मेरो एप्लाई लेटर भनेर भाइवरमा पेपर पठायो। अब ४५ दिनमा भिसा आउँछ भनेको थियो। एप्लाइ लेटर पनि पाएपछि मलाई अब काम हुने भयो भने लागेको थियो।

२०७२ पुस ६ गते उसको दिदीले अष्ट्रेलियाबाट जापान पठाइदिएको र त्यसको ट्याक्स नेपालबाट तिर्नुपर्ने भन्यो। उसले भने अनुसार पत्याएँ। केही सोधिखोजी नगरी उसको दिदीको आफन्तको आइएमई पोखरामा पठाए प्रशान्त भट्टराईको नाममा २ लाख ८३ हजार ९ सय ६७ रुपैयाँ। आधा घण्टामा पठाउन भन्दै मलाई अतल्याएकाे थियाे।

मैले पैसा लाग्दैन भनेको हैन र? भनेर सोधेको पनि हो। तर उसले जसरी भएपनि पठाउनु, केही दिनमा १०/१५ हजार बढी दिने गरी काढेर भएपनि दिनू। म पठाइदिन्छु भनेको थियो।

नभन्दै भोलिपल्ट स्ट्यान्डर्ड चार्टर बैंकमा खाता खोल्न लगायो। खाता खोले‌ं। पैसा अनलाइनबाट पठाएकाले खातामा जम्मा हुन ४ दिन लाग्ने बताएको थियो। तर चारदिनमा पैसा आएन, उ आफैं नेपाल आयो।

पसलमा आएर ४५ दिनमा भिसा आउँछ, इमिग्रेसनबाट नाम निस्किएको छ भन्यो। बस्दाबस्दै उसको मोबाइलमा फोन आयो। जापानिज भाषामा ‘लाउड स्पिकर’मा उसले कुरा गर्‍यो।

फोन होल्ड गरेर उसले मेरा दुई जना बहिनीहरुको पनि डकुमेन्ट माग्यो। आमालाई एक्लै छाडेर हामी तीनै बहिनी जान मिल्दैन भनेपछि उसले सँगै काम गर्ने हस्पिटलको साथीको बाबुको कम्पनीमा ३ जना मान्छे चाहिएको छ भन्यो।

पसलमा आएर ४५ दिनमा भिसा आउँछ, इमिग्रेसनबाट नाम निस्किएको छ भन्यो। बस्दाबस्दै उसको मोबाइलमा फोन आयो। जापानिज भाषामा ‘लाउड स्पिकर’मा उसले कुरा गर्‍यो।

लागत ५ लाख ८५ हजार। खाने बस्ने व्यवस्था कम्पनीमै। तलव मासिक तीन लाख भनेपछि हामी उसको कुरामा राजी भयौं। उसले अरुको लागि यस्तो काम नगरेको र ४५ दिनमा काम नभए ७ हजार रुपैयाँ ट्याक्स काटेर सबै पैसा फिर्ता गर्ने भनेको थियो। यही कुरा पत्याएर तीन जना भाइहरु र मैले २२ लाख ७५ हजार ५ सय रुपैयाँ बुझाएका थियौं।

केही दिनमै फिर्ता गर्छु भनेकाले मैले त्यहीअनुसार आफन्त साथीभाइसँग पैसा जुटाएर कृसलाई बुझाएको थिएँ। कृस पैसा लिएर दामोदरसँग गयो। त्यसपछि उसले जापान गएँ भनेर फोन गर्‍यो।

उसले यसपटक पनि मेरो पैसा फिर्ता दिएन। मैले केही दिनमा तिर्छु भनेर काढेको पैसाले समस्या बनायो। उसको भने बहाना रोकिएन। चार जनाको भिसा आउट भएको बताएको कृसले मेरो भने फेरि पनि नाम बिग्रिएको बतायो। नाम सच्याउनका लागि फेरि ६० हजार रुपैयाँ माग्यो त्यो पनि १५ मिनेट भित्रमा पठाउनु पर्ने।

तत्काल नपठाए कि फेरि एप्लाई गर्नुपर्ने। कि सबै पैसा डुब्ने बतायो। मैले पटक पटक गरेर पोखरामा प्रसान्त भट्टराईलाई ७ लाख ४१ हजार ९ सय १९ रुपैयाँ पठाएको छु। यसपछि अर्को ४५ दिन कुर्न लगायो।

मेरो लागि जापानमा पसल तयार गर्दिन भनेर मेरो गार्मेन्टको १४ बोरा सामान पनि मगायो। इमिग्रेसनलाई भनेर ५ वटा खालि बीलमा सहि गर्न लगाएर मगायो। यी सबै मैले पठाएँ। उसले यी सामान राखेर सेटिङ गरेको पसलको फोटो पनि पठाएको हो। पसलको नाम एनजीएन इनरप्राइजेज।

अमृता फेसनको ब्रान्च किन एनजीएन? भन्दा कम्पनी र पसलको नाम एउटै राख्न मिल्दैन भन्यो। २०७२ चैत ८ गते टिकट पनि निश्चित गरेको बतायो। त्यसको केही दिनमा फेरि ९ लाख ५१ हजार रुपैयाँ माग्यो। आधा घण्टामा प्रसान्तलाई पैसा नपठाए वकिलले कारबाही गर्ने र उसको इजतको पनि सवाल छ भन्दै धारिलो हतियार घाँटीमा राखेर म्यासेन्जरमा फोटो पठायो।

त्यसपछि म कृसको पागलपन देखेर आजित भएँ। डर लाग्यो। म प्रहरीकहाँ पुगेर निवेदन दिएँ। त्यसपछि उसले मलाई गाली गर्न, धम्की दिन थाल्यो। म्यासेजमा पनि तिमी को हौ? को जापान भन्न थाल्यो।

तर एक जना महिलाले म डाक्टरको दिदी हो। तिमीले पैसा नपठाउँदा यहाँ डा. कृसलाई वकिलले समस्यामा पारेका छन्। पैसा पठाऊ भन्दै थिइन्। मलाई पैसा र सामान बुझाएपछि उनीहरुको नियतमाथि शंका थियो।

पहिले पैसा पठाएको प्रसान्तलाई खोज्न पटक पटक पोखरा गएँ। २०१६ अप्रिल १४ देखि डा. भाइवर, फोन केहीमा पनि सम्पर्क थिएन। मैले पैसा पठाएको प्रत्येक ठाउँमा गएर प्रसान्तको आइडी र फोन नम्बर लिएँ। पटक पटक गरेर मैले ३१ लाख ७ हजार ५ सय ८ रुपैयाँ बुझाइसकेको थिएँ ।

प्रसान्त पोखराबाट काठमाडौँ आएको रहेछ। २०७३ जेठ १८ गते खाजेको प्रसान्त असार १४ गते सिंहदरबारमा सोह्रखुट्टे प्रहरीको सहयोगमा फेला पर्‍यो।

उसलाई पक्रेपछि थाहा भयो, दामोदर नै प्रसान्त भट्टराई रहेछ। कृस र ऊ मामाभान्जा रहेछन्। अनि डा. कृसको पनि सक्कली नाम थाहा भयो। उसको नाम पनि गोविन्द तिवारी रहेछ। उ पनि पोखराकै रहेछ। दिदी बनेर फोन गर्ने पनि गोबिन्दकी श्रीमती भएको पत्ता लाग्यो।

यी सबै पत्ता लागिसकेपछि पनि प्रहरीले खै किन हो गोविन्दलाई विश्वास गर्‍यो। प्रहरीले नै भन्यो हामीलाई– यतिको मान्छेले तपाईहरुको पैसा खाँदैन। सबै कागजातसहित पैसा फिर्ता गर्छु भनेको छ। प्रहरीको सम्पर्कमा भएका उनीहरु पछि सम्पर्कबिहिन भए। प्रहरीले तारेखमा छाडेको रहेछ। यतिका दुःख गरेर पत्ता लगाएका मान्छेलाई पनि प्रहरीले नै भगायाे। प्रसान्तलाई तारेख लगाएपनि गोविन्दलाई प्रहरीले पनि केहि गर्न चाहेन वा सकेन।

त्यसपछि म वैदेशिक रोजगारीका क्रममा पीडित भएकालाई निशुल्क कानूनी सहयोग गर्ने संस्था पिपुल फोरममा गएँ। त्यहाँ पुग्दा मलाई लागेको थियो यो एउटा संस्था मात्रै हैन पीडितहरुका लागि न्यायालय नै हो भन्ने।

पिपुल फोरमकै सहयोगमा २०७३ असोज २० गते मैले वैदेशिक रोजगार विभागमा प्रसान्त भट्टराई र गोविन्द तिवारीको विरुद्धमा मुद्दा दर्ता गरें। त्यसपछि पनि म माथि गोविन्दको हमला रोकिएन। मलाई गुण्डा प्रयोग गरेर मार्ने समेत कोसिस गर्‍यो। त्यतिमात्रै होइन, उसका आफन्त हुँ भन्नेहरुले पनि उसलाई कसैले केही गर्न नसक्ने, ऊ नेताको मान्छे रहेको र यस्ता पीडित धेरै भैसकेको समेत बताए।

यी सबै सुनेर पनि म भने चुप लागेर बस्न सकिन। मलाई यसरी लुटिएर चुपचाप बस्नु ठिक लागेन।

हो म एउटा निवेदन लेख्न वकिललाई दिने खर्च समेत नराखि लुटिएकी छु। पिपुल फोरमबाट निशुल्क कानुनी सहयोग पाएपछि लुटेराका विरुद्ध लड्ने साहस थपियो।

वैदेशिक रोजगार विभागमा निवेदन दिएपछि प्रसान्तलाई ४५ दिन थुनामा राखियो। यो बिचमा गोविन्द तिवारी खोजीगरिदिन निवेदन गर्दै म केन्द्रीय अनुसन्धान व्युरो सिआईबीमा पनि गएँ। तत्कालिन डिआइजी नवराज सिलवाललाई भेटेपछि थाहा भयो त्यो भन्दा ६ महिना पहिले नै डा. कृष्ण त्रिपाठी भनेर दमककी सुमिता राईको २५ लाख ठगिसकेको रहेछ।

सुमिताले पनि सिआइबीमा निवेदन दिएकी रहिछन्। उनलाई पनि श्रीमान बच्चासहित जापान लगिदिने भनेर ढाँटेको रहेछ। उसको पनि पैसा बुझ्ने उही प्रसान्त नै।

वैदेशिक रोजगार विभागले ५० प्रतिशत हर्जना मागसहितको मुद्दा २०७३ मंसिर ९ गते न्यायाधिकरणमा पठायो। १० गते न्यायाधिकरणमा प्रसान्तले पैसा लिएको तर पैसा सबै मामा गोविन्द तिवारीलाई बुझाएको भनेपछि उ साधारण तारेखमा छुट्यो।

यो समुहले नेपालमा धेरैलाई ठगिसकेको छ। इन्टरपोल, एयरपोर्ट देखि विभिन्न ठाउँमा रहेका प्रहरीलाई पक्रिनु भनेर पक्राउ पूर्जी पनि विभागले जारी गरेको छ।

मलाई ठग्दै गर्दाको चार महिनामा उ १६ पटक नेपाल आउजाउ गरेको रहेछ । उसले ६ महिनामा १६ वटा मोवाइल नम्बर फेरिसकेको छ। जापान लान्छु भनेर ठगिएका २३ जनालाई त मैलेनि भेटिसकेको छु। अरु पनि होलान् जो मेरो सम्पर्कमा नभएका।

पीडितमात्रै धेरै छैनन् पीडिक पनि उतिकै छन्। गोविन्द तिवारीको भान्जा प्रसान्त भट्टाराई र उसको सालो रविन्द्र पौडेल जसले २०७० मा कल्पना थापालाई जापान पठाउछु भनी पैसा लिएको छ। श्रीमती नरमाया पौडेलले सन्जय सापकोटालाई जापान पठाउछु भनी पैसा लिएको छ। गोविन्दको निर्देशनमा पैसा रिसिभ गर्नेमा उसको भाइ खेमराज तिवारी, तिलकराज सुवेदी, अमर घर्ती मगर, सुदर्शन मल्ल, कविता ढकाल, गिता शर्मा, रेखा घिमिरे र भेष विक्रम थापा पनि रहेको पाइएको छ । यो घट्नालाई ढिसमिस पार्न निरन्तर रुपमा सुवास विक सक्रिय छन्।

एकजना व्यक्तिका कारण हामी यति धेरै लुटिएका छौं। तर लुटेरालाई कारबाही गर्न कुनै पनि निकायले सकेका छैनन्। केही पीडित साथीहरु डिप्रेसनमा परेका छन्। केही घरपरिवारबाटै लखेटिएका छन्।

यो समुहले नेपालमा धेरैलाई ठगिसकेको छ। इन्टरपोल, एयरपोर्ट देखि विभिन्न ठाउँमा रहेका प्रहरीलाई पक्रिनु भनेर पक्राउ पूर्जी पनि विभागले जारी गरेको छ।

गोविन्दले छाडा म्यासेज पठाउने, बच्चा अपहरण गर्नेदेखि मार्ने सम्मका धम्कीले हैरान बनाएको छ। धेरै साथीहरु प्रहरीले पनि केही गरेन भन्दै आउँछन्। म आफैं पनि पीडित छु। उसले पटक पटक मार्ने कोशिस गर्दा पनि बाँचेकी पीडित।

गोविन्द तिवारी १५/१५ दिनमा नेपाल आएको छ। यतिका गल्ती गरेर पनि ऊ च्यालेन्ज गरेर हिँडिरहेको छ। किन समातिँदैन गोविन्द तिवारी? के कानून सबैका लागि समान हैन र!

दुनियाँको घरबारविहिन बनाएको छ। हामीसँग पैसा बुझाएको प्रमाण छ। पैसा बुझ्नेहरुले उसलाई बुझाएको भनेका छन्। २०७० सालमा पोखरा प्रहरी कार्यालयमा नागरिकता धरौटीमा राखेर कुनै राजनीतिक दलका नेताको जिम्मामा छाडिएको छ। २०७३ असार १५ र १६ गते सोह्रखुट्टे प्रहरीचौकीमा कन्ट्याकमा भएको मान्छे भागेको छ। के पीडित आफै प्रमाण होइनौं?

प्रहरीले, न्याय दिने निकायले हामीलाई न्याय दिएर पीडकलाई सजाय दिन सकेका छैनन्। बरु उल्टै बचाउन लागेका छन्। हामीले बुझ्न नसकेको अपराधीलाई जागाउनुको रहस्य के छ?

एउटै व्यक्तिले २३ जनाका परिवारमा रुवाबासी चलाएको छ। हामी सुमिता राई (दमक), अमृता ढकाल, जिवन पाण्डे, देवी प्रसाद ढकाल (गोरखा), किशोर शर्मा, संजय सापकोटा, किरण नापित (बर्दिया), पुरुसोत्तम आचार्य, रविन दहाल, सानु माया आचार्य, प्रदिप रेग्मी, कल्पना पाठक, अनिता राना (चितवन), लक्ष्मी आचार्य, शर्मिला तिमिल्सिना, रेजिना क्षेत्री, गौमाया भण्डारी, विनिता आचार्य वली (पोखरा), कल्पना थापा मगर धादिङ, नारायण भुसाल, मिरा ढुंगेल लगायत उबाट पीडित भएका छौं।

तर पनि प्रहरीले, न्याय दिने निकायले हामीलाई न्याय दिएर पीडकलाई सजाय दिन सकेका छैनन्। बरु उल्टै बचाउन लागेका छन्। हामीले बुझ्न नसकेको अपराधीलाई जागाउनुको रहस्य के छ?

(उजिर कार्कीसँग कुराकानीमा अाधारित)

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?