कमाउन गएका छोराको किरियाखर्च पनि भएन

परदेशमै तीन छोरा गुमाएका आमाबुवाको बिचल्ली

परदेशमै तीन छोरा गुमाएका आमाबुवाको बिचल्ली
वैदेशिक रोजगारमा तीन छोरा गुमाएका आमाबुबा। तस्बिरहरु: हरिकृष्ण गौतम
+
-

२०७४ चैत ५ गते। म्याग्दीको मालिका गाउँपालिका २ बेलीका धनबहादुर र लिलामती रोकाको खुशीको सिमानै थिएन। रोजगारीका लागि मलेसिया पुगेको साहिँलो छोरा थमबहादुर तीन वर्षपछि घर फर्किएका थिए। परिवारका चारै भाइ छोरा वैदेशिक रोजगारीमा गए पनि सकुशल फर्किने पहिलो छोरा उनी नै बने थमबहादुर। त्यही खुशीमा रमाइरहेका रोका परिवार। तर, उनीहरुको त्यो खुशी पखाल्न ११ गते बिहान आएको एउटा टेलिफोन काफी बन्यो।

सकुशल फर्किने थमबहादुर नै रोका परिवारको अन्तिम छोरा बने। कान्छो छोरो धर्मबहादुर फर्किन बाँकी नै थियो। नेपाल आउनु दुई दिनअघि भाइलाई भेटेका थमबहादुरले उनको राम्रै खबर सुनाए पनि झुटो सावित भयो। ‘कान्छो दशैंमा आउँछ, अनि विवाह गरेर मात्रै जान्छ,’ थमबहादुरले यही खबर लिएर आएका थिए।

रोग र बुढेशकालले थलिएका धनबहादुर र लिलामती यही कुरा पत्याएर मलेसियामा भएको कान्छो छोराको पर्खाइमा बसिरहेका थिए।

साहिँलो फर्किएपछि परिवारको पर्खाई कान्छोमा थियो। थमबहादुर आएदेखि नै गाउँले साथीभाइ र आफन्त खुसी साटासाट गरिरहेका थिए।

चैत ११ गते चैतेदशैंको रमाइलो बेग्लै थियो। लामो समयपछि परदेशबाट फर्किएको छोरासँग चाडबाड मनाउने तयारीमा थियो परिवार।

बिहानै मलेसियामै कार्यरत ज्वाइँले फोन गरेर भने, ‘कान्छाको खबर राम्रो छैन, त्यही पनि हामी बुझ्दै छौं के भएको हो।’ यता हल्लाखल्ला हुन नपाउँदै फेरि फोन आयो, ‘कान्छो अब रहेन।’

धर्मबहादुरको मलेसियामा सुतिरहेकै ठाउँमा ज्यान गएको थियो। रोका परिवारले १० वर्षको बीचमा अर्को सन्तान गुमायो। उनीहरुले यसअघि दुई सन्तान परदेशमै गुमाइसकेको थिए।

गाउँमा शव पुर्‍याइँदै।

झण्डै १२ वर्षपहिले रोजगारीका लागि कतार पुगेको माइलो भक्तबहादुर फर्किएनन्। उतै ज्यान गयो। त्यसपछि नै धनबहादुर र लिलामतीलाई परदेश निको लागेको थिएन। तर उनैका चाहिँ कुनैपनि छोरा गाउँमा अडिएनन्। चारै भाइले एकपछि अर्को गर्दै परदेश नै रोजगारीको विकल्प ठाने। माइलाको काजकिरिया सकेको केहि दिनमै जेठा टमबहादुरले वैदेशिक रोजगारीका लागि प्रक्रिया सुरु गरे। ६ महिनापछि मलेसिया उडेका टमबहादुर पनि लामो समय रहेनन्। पुगेको डेढवर्षमै मलेसियाले उनको उतै ज्यान लियो।

त्यतिबेला त बुबाआमा पनि हट्टा कट्टै थिए। छोराको दाह संस्कार गर्न काठमाडौं आए। अहिले त दुबैजना रोगले थलिएका छन्। रोगको त औषधी खाँदै छन्। तर, त्यो भन्दा ठूलो पीडा कहिल्यै निको नहुने सन्तान वियोगमा छन्। अब उनीहरुलाई सम्झाउन कुनै शब्द नै छन्, न औषधी नै।

धनबहादुर ७२ र लिलामती ६८ वर्षकी भइन्। उमेरले भन्दा बढी उनीहरुलाई पीडाले थिच्यो। आफूलाई हेरचाह गर्लान्, बुढेसकालको सहारा बन्लान् भनेका लक्का जवान एकपछि अर्को गर्दै गुमाउँदाको पीडा!

शवको बाकस खोल्दै आफन्त।

आफन्तको रुवाबासी।

दलालदेखि दैवसम्मको यात्रा
दुई दाजुको मृत्युपछि धर्मबहादुरलाई बुबा आमाले यहिँ केही गर्न सुझाएका थिए। वर्षभरि खान पुग्ने जग्गा जमिन नभएपछि यो परिवारको गर्जो टार्न अरु उपाय खोज्नैपर्ने बाध्यता नै थियो। उनलाई के थाहा, आफ्नो परिवारलाई विदेश नफाप्ला भन्ने। लाहुरेहरुको जिल्ला भनेर चिनिने म्याग्दीका पनि विरलै घर छन्, जसका सन्तान परदेश नगएका हुन्।

साथीभाइ र आफन्तले त्यही विदेशको कमाइले उन्नति गरेको देख्दा रोका दम्पतिका सन्तानको पनि किन अडिन्थ्यो र मन नेपालमा? एकपछि अर्को गर्दै सबै परदेश लाग्न थाले। जसरी एकपछि अर्को गर्दै घर छाडेर परदेश लागे, परदेशबाट उसैगरी घर फर्किएनन्।

एकहप्ता पहिले ज्यान गुमाएका धर्मबहादुरले साढे चार वर्ष पहिले रोजगारीका लागि मलेसिया रोजेका थिए।  १० वर्षअघि  जेठा दाइ मलेसियामा नै बितेका थिए।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याँक अनुसार वैदेशिक रोजगारीमा जाने मध्य दिनहुँ तीन देखि चार जनालाई परदेशले निल्छ। वर्षेनी एक हजार जनाले ज्यान गुमाउँछन् परदेशमा। यही तथ्याँकमा समेटिएका थिए धर्मबहादुरका दुई जना दाइ।

शोकविह्वल नानीहरु।

अन्तिम संस्कारको तयारी गरिँदै।

शोकविह्वल आफन्तहरु।

तर, दिनहुँ सरदर १२ सय जनाले रोजगारीका लागि नेपाल छाड्छन्। सरकारले रोजगारीका लागि एक सय १० वटा देश खुल्ला गरे पनि यी बाहेकका देशमा पनि नेपाली श्रम गर्न पुगेका छन्। तीनै देशको कमाइले धेरैले उन्नति गरेका छन् । धर्मबहादुरको पनि आशा त्यस्तै थियो सायद।

ड्युटी गर्दागर्दै धेरै थाकेका धर्मबहादुरले कुर्सीमै ज्यान गुमाएका थिए।

चार वर्षपहिले सुरक्षागार्डको काममा क्वालालम्पुर पुगेका धर्मबहादुरले झण्डै चार लाख रुपैयाँ घरमा पठाएका पनि थिए। तर आमाबुबाको उपचार गर्दै ठिक भयो, बचेन। धेरै कमाउने लालच अरुलाई जस्तै उनमा पनि थियो।

‘सुरक्षा गार्डको काममा उभिँदाउभिँदा उनलाई दिक्क लागेर होला’, दाजु थमबहादुरले अनुमान लगाए, ‘एकपल्ट क्यानडा जाने लाभमा फस्यो।’

५ महिना पहिले दलालले धर्मबहादुरलाई क्यानडा पुर्‍याएर रोजगारी दिलाउने भन्दै प्रलोभनमा पारे। क्यानडा जाने लोभमा धर्मबहादुरले दलाललाई ५ लाख रुपैयाँ बुझाए। तर दलालले उनलाई क्यानडा पुर्‍याएनन्। बैंककमा पुर्‍याएर अलपत्र पारे। क्यानडा पुर्‍याउँछौँ भन्ने दलाल भागेपछि रोजगारी त परको कुरा मलेसिया फर्किनै उनलाई गाह्रो पर्‍यो। दलालले ५ लाख रुपैयाँ ठगे पनि उनी मलेसिया फर्केर काममा लागे। तर, उनका लागि दलालभन्दा कठोर दैव बन्यो। जसले सधैंका लागि ठग्यो, कहिल्यै नफर्किने गरी।

न आमाबाबुको उपचार, न आफ्नै किरियाखर्च

विवाह गरेपछि सबै छोरा छुट्टै बस्दै आएका थिए। कान्छा धर्मबहादुर बुबा आमासँग बस्थे। जेठो र माइलो विदेश जानु पहिले नै छुट्टिएका थिए। उनीहरु नफर्किएपछि रुम गाउँमा जेठी र माइली बुहारी आफ्ना सन्तान स्याहारेर बस्छन्। जेठी गाउँमै किराना पसल चलाएर दुई छोराको पढाइखर्च जुटाउँछिन्। यही पसलको कमाइले परिवारको खर्च धानिएको छ।

माइलीका पनि एउटा छोरा छन्। उनी पनि छुट्टिएपछि रुम गाउँमै बस्छिन्। उनको कमाउने बाटो भने छैन। घर खेतीले अफ्नो ज्यान पाल्छिन्। उनको एउटा छोरा छन् जो एसएलसी पास गरेपछि पढ्नका लागि भारत गएका छन्। आउने बाटो नभएपछि उनी उतै काम गर्दै आफ्नो खर्च आफैं जुटाउँदै पढ्छन्।

साइलो र कान्छो बेलीमा बस्छन्। साइँलोका दुई छोरा छन्। उनको पनि परिवार परदेशकै कमाइले चलेको थियो जुन अब टुटेको छ। कमाउने बाटो टुटेपनि अब उनलाई दायित्व बढेको छ। कान्छाको सहारामा बस्दै आएका बुबा आमाको औषधीखर्च उनैका काँधमा थपिएको छ। परिवारको अवस्था दर्दनाक छ। भाइको किरियाखर्च समेत सहयोग उठाएर गर्दैछन्।

बुबा प्याराालाइसिस र आमा ग्यास्टिक तथा मुटुको बिरामी छिन्। मासिक ३/४ हजार रुपैयाँ ओषधीका लागि चाहिन्छ। मलेसियाबाट फर्किएका थमबहादुरको परिवार अब कहिल्यै परदेशको नाम सम्झिन समेत चाहँदैन।

धर्मबहादुरको काजकिरिया र आमाबाबुको उपचारको लागि परिवारले सहयोग गर्न आग्रह गरेको छ। गाउँले र आफन्तको सल्लाहमा गरिमा विकास बैंकको दरबाङ शाखामा खाता खोलेर सहयोग संकलन गर्न थालिएको हो। ‘किरिया खर्च गर्न नै उपाय छैन, कहाँबाट गर्नु आमा बाबुको उपचार ?’ थमबहादुरले भने, ‘सहयोग पाइन भने आमा बुबा पनि बचाउन सक्दिन होला!’

शोकमा डुबेका आफन्तहरु।

शवमाथि डाँको छोडेर रुँदै आफन्तहरु।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?