काठमाडौं– फरार रहेका पुर्व डीआईजी नवराज सिलवाललाई खोज्नकै लागि प्रहरीको एक टोली ललितपुरको भट्टेडाँडामा पुगेको समाचार आधारहिन रहेको ललितपुर प्रहरीले जनाएको छ।
ललितपुर प्रहरी प्रवक्ता नरेन्द्र चन्दले नियमित ‘सर्च एन्ड स्विप’ अप्रेसनअन्तर्गत आइतबार प्रहरीको ठुलो टोली भट्टेडाँडा क्षेत्रमा खटिएको बताए।
‘यो हाम्रो नियमित अप्रेसन हो। आज त्यस क्षेत्रमा परेको मात्र हो। सिलवाललाई खोज्नकै लागि यो अप्रेसन गरिएको होइन’, डीएसपी चन्दले भने।
उनले अप्रेसनअन्तर्गत एक सयभन्दा बढी प्रहरी त्यस क्षेत्रमा परिचालन गरिएको बताउँदैं जिल्लामा शान्ती सुरक्षा कायम गराउन यसकिसिमका अप्रेशन सन्चालन गरिने गरेको जानकारी दिए।
सिलवालले केही दिनअघि आफु भट्टे डाँडामा रहेको सन्चार माध्यमलाई बताएका थिए। कार्य सम्पादन मुल्यांकन (कासमु) फाइल कीर्ते गरेको आरोपमा काठमाडौं प्रहरी परिसरले डीआईजी सिलवाललाई बयानका लागि खोजिरहेपनि पक्राउ पर्न सकेका छैनन्।
सिलवाल ललितपुर क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत हुन्।