धनगढी- भुटानको ड्रुकस्टार क्लबलाई ३–२ ले हराउँदै अग्नि रुपन्देही ११ धनगढीमा जारी खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
पहिलो हाफमा २–० ले अग्रता लिएको रुपन्देही ११ ले दोस्रो हाफमा थप १ गोल गर्यो भने २ गोल खायो। रुपन्देही ११ का लागि अमर डङ्गोलले पहिलो हाफको २२ औँ र ३८ औ मिनेटमा गोल गरेका हुन्। मनिष थापाले दोस्रो हाफको ६९ औँ मिनेटमा तेस्रो गोल गरे।
भुटानको ड्रुकस्टार क्लबको तर्फबाट ५८ औँ मिनेटमा क्विन्गा चव्गे र अतिरिक्त समयको दोस्रो मिनेटमा एसी दोर्जीले गोल गरे।
भुटानले अन्तिम समयमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा हार ब्यहोर्नु परेको हो। खेलका म्यान अफ द म्याच रुपन्देहीका अमर डङ्गोल भए।
पहिलो संस्करणमा पनि सहभागी भएको ड्रुकस्टारले त्यस बेला वेस्ट काठमाडौँलाई पहिलो खेलमा ४–१ ले हराएको थियो भने दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङदीसँग २–० ले पराजित भएको थियो। अघिल्लो संस्करणको भन्दा राम्रो टिम ल्याउँदा पनि खेलाडीहरुले यसपालि सोचेअनुसार खेल्न नसकेको ड्रुकस्टारका प्रशिक्षक कोता नाम्भेले बताए।
अग्नि रुपन्देही ११ का प्रशिक्षक दयाराम सापकोटोले टिमले सोचेअनुसारको खेल्न नसकेको प्रतिक्रिया दिँदै अर्को खेलमा अझ सुधार गरेर खेल्ने बताए।
क्वाटरफाइनलमा अब रुपन्देही ११ बाई पाएर क्वाटरफाइनलमा पुगेको मनाङ मर्स्याङ्दीसँग पुस २८ गते भिड्ने छ। बुधबार सेमिफाइनल प्रवेशका लागि सिएमजी संकटा र एपीएफबीच प्रतिस्पर्धा हुने छ।
यो पनि पढ्नुहोस्…