नेपालको राजनीतिमा कन्फर्मेसन बायसको मुद्दा 

+
-

चर्चित सेलिब्रेटी होस् या कुनै क्षेत्रमा चर्चा हासिल गरेको व्यक्तित्व या राजनीतिक नेताहरु हुन्, सबैका बारेमा समाजमा तीन तहका जनमतहरु प्रकट हुन्छन्। पहिलो तह, उनीहरुलाई मानिसले जस्तो रुपमा देख्न चाहन्छन्, सधैँ त्यस्तै देखिरहन्छन्। दोश्रो तह भनेको उनीहरु भन्दा बाहेक अर्को कसैले त्यो वा त्यस्तै काम गरेर चर्चामा आए भने त्यो ‘फ्यान फलोइङ’ सिफ्ट हुन्छ र अर्कैमा सर्छ। तेस्रो तह भनेको उनीहरुले जे गरे पनि नकारात्मक नै बनिरहने या, सोझो भाषामा उनीहरुलाई देख्न नचाहने खालको जनमत हुन्छ।

दोश्रो तहको जनमतलाई सापेक्ष रुपमा हेर्दा विवेकशील जनमत भन्न सकिन्छ। तर जे गरे पनि स्विकार्ने र केही गरे पनि पनि नस्विकार्ने पहिलो र तेस्रो प्रवृत्ति सतहमा बहुमत जस्तो देखिन्छ। त्यो दुईवटै प्रवृत्तिभित्र निश्चित स्वार्थको घेराले काम गरेको हुन्छ। जे गरे पनि स्विकार्ने भनेको फाईदा पाइसकेका या पाउने आशा राखेका हुन्छन् या नेपालको पछिल्लो परिप्रेक्ष्यमा हेर्ने हो भने समान जातिविशेष, समान धर्मबिशेष पनि त्यो धारणा फैलिरहेको छ। यसको उदाहरणको रुपमा नेपाल आइडलका उदाउँदा कलाकारहरुलाई हेर्ने फरकफरक दृष्टिकोणमा पनि पाइएको थियो।

लण्डनको किङ्ग्स कलेजका प्राध्यापक डा. एलिस इवांस भन्छन्, ‘माथि भनिएको पहिलो तहको जनमत कन्फर्मेसन बायसको मामिला हो।’ कन्फर्मेसन बायस अर्थात त्यो स्थिति, जसमा मानिस त्यही देख्छ, जो उनीहरु देख्न चाहन्छन्। हरेक जानकारी, हरेक तथ्यको त्यसरी नै ब्याख्या गरिन्छ, जसमा उनीहरुको पहिल्यै धारणा बनेको हुन्छ।

चुनावको बेलामा ‘कन्फर्मेसन बायस’को मामिला सबैभन्दा सतहमा आएको छ। आफूले मन पराएको उम्मेदवारलाई गुण र दोषको आधारमा राम्रो या नराम्रो भन्नु पर्नेमा, उसको हरेक आनिबानीलाई आम मान्छेले देख्न चाहने स्तरमा प्रचार गरिन्छ। मानिस शतप्रतिशत पूर्ण हुँदैन र शतप्रतिशत अपूर्ण पनि हुँदैन भन्ने तथ्यलाई बिर्सिएर उसका हरेक गतिबिधिलाई शतप्रतिशत पूर्ण, कल्याणकारी र सही मान्ने जमातले आम मिडियामा त्यही तरिकाले प्रचार गर्छ।

पंक्तिकार एउटा उदाहरण दिन चाहन्छ, देश टुक्र्याउने अभियानमा हिँडेका एकजना व्यक्ति सिके राउतको जानकारी दिन केही समय पहिला एउटा भिडियो सामाजिक सञ्जालमार्फत बाहिर आएको थियो। त्यसमा सिके राउतलाई दैवीशक्ति भएको एउटा अलग्गै र अभूतपूर्व क्षमता जुन आम मानिसमा हुँदैन, त्यस्तो भएको मान्छे भनेर प्रचार गरिएको थियो। त्यो पनि ‘कन्फर्मेसन बायस’लाई नै आधार बनाएर गरिएको एउटा प्रचारशैली थियो। नेतालाई भगवानको रुपमा प्रचार गरेदेखि जनताको सकारात्मक राय अझ प्रगाढ हुन सक्छ भन्ने मान्यता हो त्यो। एउटा आम मानिसले अर्को आम मानिसमा ‘क्षमता’ देख्न सक्छ तर दैवीय या अलौकिक गुण देख्न सक्दैन। समाज कति वैज्ञानिक र विकसित छ भन्ने तथ्यले देवत्वकृत गरिएका त्यस्ता मामिलाहरुलाई कुन भूमिकामा राख्न मदत गर्छ भन्ने कुराको निर्क्यौल गर्छ।

‘कन्फर्मेसन बायस’ भन्ने धारणा निराशाले उत्पन्न गराउने राजनीतिक, धार्मिक या आर्थिक अराजकता हो। जब मानिसलाई सबै कुरा भताभुङ्ग भयो, डुब्यो, अब कहिल्यै त्यो कुरा त्यही रुपमा प्राप्त हुँदैन भन्ने लाग्छ, तब मानिसले दैवीशक्ति भएको कुनै एउटा पात्रको परिकल्पना गरेर आनन्द महशुस गर्न थाल्दछ। उसले त्यस पात्रमा अलौकिक गुण भएको महशुस गर्न थाल्दछ। त्यो पात्रको एक शब्दले सबै मौन हुने र एक कदमले बिग्रिएको सबै कुरा तततत स्थानमा फर्किने कुराको कल्पना गर्न थाल्दछ। उसले त्यो पात्रलाई कुनै एउटा आम मानिस भन्दा अलग्गै, सांसरिक गुण भन्दा फरक र अलौकिक मानेर प्रचारशैली शुरु गर्दछ। त्यो पात्रलाई हेर्ने बिपक्षी आँखाको लागी उसका ब्यबहारहरु खुर्सानीको धुलो बराबर हुने गर्दछ। तर यो साँचो हो कि जब मान्छेले आफ्नो वरिपरि केही कुरा ठीक भएको देख्छ र आशावादी बन्न शुरु गर्छ, उसमा ‘कन्फर्मेसन बायस’को मात्रा कम हुँदै जान्छ।

सत्य कुरा के हो भने, यसको शिकार सबै हुन्छन्, कमसेकम जिन्दगीमा एकपटक या बारबार। जब कालो बादलको घेरामा चाँदीको अंश देखा पर्न थाल्दछ, यस्तो धारणा हट्दै जान्छ।

नेपालको राजनीतिमा हेर्ने हो भने यस्तो ब्यबहारको कारण जनता र देशले पटक पटक अस्थीरताको सामना गरिरहनु परेको छ। नेपालको राजतन्त्रमा धेरै मानिसले आफूले देख्न चाहेको कुरा मात्र देख्थे गलत कुरा या त लुकाइन्थ्यो, या त अर्कैको थाप्लोमा हालिन्थ्यो। ‘द इन्टरभ्यु’ भन्ने अंग्रेजी फिल्ममा उत्तर कोरियाका शासक किम जोङ उनले कहिल्यै पाद्दैनन भन्ने कुरा जनतालाई बताइएको देखाएको छ। जब लाइभ अन्तर्वार्ताको क्रममा उनले पाद्छन् र जनताले त्यो देख्छन, धेरै मान्छेले बिश्वास नगरेको देखाइन्छ। कुनै बेला प्रचण्डलाई लिएर धेरै मान्छेहरु ‘कन्फर्मेसन बायस’को शिकार भए। ओलीको प्रधानमन्त्रीकालमा भारतको नाकाबन्दीको सामना गरेको देखियो भनेर केही मान्छेहरुले आम जनतालाई ‘अप्टिकल इलुजन’को शिकार बनाए जबकि ओलीले एउटा प्रधानमन्त्रीले गर्नुपर्ने भन्दा बढी केही काम गरेका थिएनन्। बाबुराम भट्टराईले टुँडिखेलमा एकलाख जनतालाई उतारेर नयाँशक्तिको सपथ खुवाउँदाताका सामाजिक संजालमा हेर्नै नसकिने खालको देवत्वकरण देखिएको थियो, उनी अहिले कुन स्थितिमा छन् प्रष्टै छ। आउँदै गरेको चुनावमा पनि काठमाडौ क्षेत्र नम्बर एक बाट उठेका पूर्वसञ्चारकर्मी रवीन्द्र मिश्रलाई एक चुट्कीमा समस्या समाधान गर्न सक्ने अलौकिक भनेर प्रचार गरिँदैछ। उनको प्रचार बढी भएको कारण उनको मिडिया ब्याकग्राउन्ड भएर पनि हो। यो सबै ‘कन्फर्मेसन बायस’को नतिजा हो।

नेतृत्व आम जनताको बीचबाट आएको हुन्छ र जनताले गर्न नसक्ने त्यस्तो कुनै काम छैन जुन नेतृत्वले गरोस्। अलौकिकीकरण गरेर क्षणिक लाभ प्राप्त त होला, तर जब मान्छेहरुले उसको मानवीय नियतको बारेमा जान्दछन्, तब त्यो एक सय असीको डिग्रीमा घुमेर प्रत्युत्पादक बन्न सक्छ। जसरी बेलायतमा राजतन्त्र फ्याँकेर हिरो बनेका ‘ओलिभर क्रमवेल’को शासनकालमा उनी राजतन्त्र भन्दा बढी शोषक र सामन्ती देखिएपछि जनताले टाउको काटेर फुटबल खेलेका थिए, स्थिति त्यो हदसम्म प्रत्युत्पादक बन्न ‘कन्फर्मेसन बायस’ले ठुलो भूमिका खेल्न सक्छ। त्यसैले सचेत र सजग रहौं।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?