सूर्यबहादुर थापाको आत्मकथाकाे आवरण सार्वजनिक

काठमाडाैँ – पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशकः पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’को आवरण सार्वजनिक भएको छ।

राजधानीमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापा र पुस्तकका सम्पादक हरिबहादुर थापाले पुस्तकको आवरण लोकार्पण गरेका हुन्। पुस्तकको आवरण सचिन यगोल श्रेष्ठ र उमेश काफ्लेले डिजाइन गरेका हुन्।

०६५ सालबाट करिब चार वर्ष ३१० घण्टा कुराकानी गरी पुस्तक तयार पारिएको पुस्तकका ट्रान्स्क्राइबर गनेश पौडेलले बताए। पत्रकार केदार शर्मासँग सहकार्य गर्दै पुस्तक लेखनको काम गर्दाका समयलाई स्मरण गर्दै उनले भने, ुराणाकालको अन्तिम दशकदेखि दोस्रो संविधानसभाको सभाध्यक्षसम्मको नेपाली राजनीतिको लामो कालखण्डलाई यस पुस्तकमा सूर्यबहादुर थापाको दृष्टिकोणबाट भन्ने कोसिस गरिएको छ।’

नेपाली राजनीतिको अति महत्त्वपूर्ण कालखण्ड मानिने पञ्चायतकालका छुटेका र महत्त्वपूर्ण विषयहरू पुस्तकमा समावेश भएको सम्पादक हरिबहादुर थापाले बताए ।

ु२०१७ साल पुस १ गतेको राजा महेन्द्रको पञ्चायत घोषणाको भाषणको ड्राफ्ट गरेका कुरादेखि राजा, दरबार र सत्ता दाउपेचका पहिला कतै नसुनिएका कुराहरू पनि यस पुस्तकमा छन्,ु थापाले भने, ुयति इमानदारीपूर्वक आत्मकथा कमै मात्रामा लेखिएका छन् र यो पुस्तक नै नेपाली राजनीतिको लामो कालखण्डको बयान भएको पहिलो पुस्तक हो ।ु

सूर्यबहादुर थापाकी बुहारी एवम् प्रसिद्ध चित्रकार सङ्गीता थापाले सूर्यबहादुर थापा र मदन पुस्तकालयका संस्थापक कमलमणि दीक्षितको गुरुयोजनाअन्तर्गत किताब लेखनको काम सुरु भए पनि देशमा भएको राजनीतिक परिवर्तन तथा उहाँहरू दुवै जनाको देहावसानका कारण पुस्तक प्रकाशनमा ढिला भएको बताइन् ।

पुस्तक लेखनको करिब १४ वर्षपछि बुबाको आत्मकथा प्रकाशन हुन लागेकोमा सुनीलबहादुर थापाले खुसी व्यक्त गरे ।

भदौ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्