धनगढी उपमहानगरमा प्लाष्टिजन्य सामग्रीमा राेक

धनगढी – धनगढी उपमहानगरपालिकाले पलाष्टिजन्य सामाग्रीमा राेक लगाएकाे छ । असोजदेखि प्लाष्टिकजन्य सामग्री निषेध गर्ने भएको हाे ।
उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा घोषित सरसफाई वर्षलाई लक्षित गर्दै उपमहानगरपालिकाले आफनो क्षेत्रमा प्लाष्टिकजन्य सामाग्रीहरु निषेध गर्ने निर्णय गरेको हो।
उपमहानगरपालिकाले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ –‘सुर्तीजन्य पानपराग, गुटखा, प्लाष्टिकजन्य गिलास, कप, प्लेट झोलाहरुलाई विस्थापित गर्न अति आवश्यक भएकोले ती वस्तुको प्रयोगमा असोज १ गतेदेखि लागु हुने गरि निषेध गर्ने र यस कार्यका लागि सहयोग पुर्याउन सबै सरोकारवाला पक्षहरु र आम नगरबासीहरुमा आव्हान गर्ने निर्णय गरियो ।’
उपमहानगरपालिकाले जथाभावी सार्वजनिक क्षेत्र, सडक, नालीहरुमा फोहोर फ्याक्ने खोला नालाहरुमा ढल मिसाउन नदिने जनाएको छ ।
उपमहानगरपालिकाका अनुसार खोलानालामा ढल मिसाएमा प्रथम पटक दश हजार जरिवाना गर्ने र दोस्रो पटक संरचना भत्काउने छ । अन्य फोहोर फ्याक्नेहरुलाई पहिलो पटक एक हजार, दोस्रो पटक तीन हजार र तेस्रो पटक पाँच हजार रकम जरिवाना गराउने छ ।
साथै उपमहानगरपालिकाले सडकमा निर्माण सामाग्री नराख्न, ठेला पसलहरु नराख्न र सडकमा पशु चौपाया बाधी राख्न नदिनका लागि निश्चित अवधिसम्म सबैमा आह्नवा गरेको छ ।