राहदानी विभाग भन्छः आइतबारदेखि बेसमेन्टमै पार्किङ हुन्छ

काठमाडौँ–त्रिपुरेश्वरस्थित राहदानी विभागले अण्डरग्राउण्डमा रहेको होल्डिङ एरियामा पार्किङ खुला गर्ने भएको छ।
बेसमेन्टमा रहेको प्रतीक्षा कक्ष हटाउन भन्दै काठमाडौं महानगरपालिकाले शुक्रबार बेसमेन्ट खाली गरेपछि विभागले सूचना जारी गर्दै खुला गर्ने बताएको हो।
आइतबारबाट बेसमेन्ट खुल्ला गर्ने भन्दै विभाग बाहिर सडकमा पार्किङ नगर्न र कार्यालयमा सेवाग्राही मात्रै आउन विभागले अनुरोध गरेको छ।
तयार भएका राहदानी लिन सेवाग्राहीलाई साविककै गेट नं २ बाट प्रवेश गर्न र विभाग बाहिरको सडकमा अनावश्यक भीड नगर्न आग्रह गरिएको छ।
यसअघि शुक्रार नै काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउण्ड खाली गराएको थियो। महानगरको एक टोली शुक्रबार त्रिपुरेश्वरस्थित कार्यालय पुगेर पार्किङ क्षेत्रमा राखिएका सामग्री अन्यत्र सारिदिएका हुन्।
पार्किङका लागि बनाइएको ठाउँमा राहदानी विभागले सेवाग्राहीलाई बस्न दिने ठाउँ बनाएको थियो।