झापा २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि व्यवसायी गिरीको उम्मेदवारी घोषणा

Copy to clipboard
Copied!

झापा – झापाको क्षेत्र नं २ का लागि नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाको चुनावमा होमिन एक जना व्यवसायी छत्र गिरीले उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रबार व्यवसायी गिरीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसभित्र क्षेत्र नं २ का लागि उपयुक्त उम्मेदवार खोजी भइरहँदा गिरीले उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसकै तर्फबाट संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटी तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको नाम पनि उम्मेदवारको सूचीमा रहेको चर्चा चल्दै आएको छ ।

तर आफ्नो उम्मेदवारीलाई पार्टी स्वीकार गर्ने विश्वासमा आफूमा रहेको गिरीले बताए ।

रामबाबु प्रसाईं नेपाली कांग्रेसको जिल्ला सभापति हुँदा २०४२ सालमा आफूले जिल्ला सदस्य भएर काम गरेको गिरीले बताए ।

आफूलाई एकपटक राष्ट्रिय सभाको सदस्यमा उठ्ने अवसर प्राप्त भएकोमा त्यस पटक गंगा बाँस्तोलालाई छोडेको गिरीले स्मरण गर्दै पहिलो पटक आफू सार्वजनिक पदमा उठ्न लागेको बताए ।

झापाको क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य चुनावका लागि नेपाली कांग्रेस उपयुक्त उम्मेदवारको खोजीमा छ ।

कोही उम्मेदवार बन्न नचाहेको खण्डमा पूर्वमन्त्री केशवकुमार बुढाथोकीलाई उम्मेदवार बनाउनका लागि कांग्रेसले तयारी थालेको बताइएको छ ।

झापा २ बाट २०७४ सालको चुनावमा एमालेकी पवित्रा निरौला खरेलले जितेकी थिइन्।

भदौ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्