गठबन्धनप्रति ओलीको विश्लेषणः तत्कालका लागि चुनौती, दीर्घकालमा सकारात्मक

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन तत्कालका लागि चुनौतीपूर्ण भए पनि दीर्घकालमा यसले फाइद पुग्ने विश्लेषण गरेका छन्।
शुक्रबार सुरु भएको केन्द्रीय कमिटि बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा गठन्धन कमजोर मानसिकताका साथ अघि बढेको टिप्पणी गरेका छन्।
उनले गठबन्धप्रति एवं राजनीतिक धु्रविकरणप्रति लक्षित गर्दै भनेका छन्, ‘तत्कालका लागि यो चुनौतीपूर्ण भए पनि दीर्घकालीन हिसाबले यो सकारात्मक छ।’
ओलीले सत्ता गठबन्धनमा दलहरु थपिदै जानु कमजोर मानसिकताको उपज भएको उल्लेख गरेका छन्। शनिबार पनि चल्ने बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीले भनेका छन्, ‘आज गठबन्धनका दलहरू जसरी एमालेसँग एक्लै लड्न डराइरहेका छन् र जसरी पाँच दलमाथि नयाँ दलहरू थपेर हामीलाई एक्ल्याउने कोशिस गरिरहेका छन्, यसले उनीहरूको शक्ति, सामथ्र्य र मनोबललाई होइन, कमजोरी, निरीहता र घरमराइरहेको आत्मविश्वासलाई प्रतिबिम्बित गर्छ । हाम्रो शक्तिका स्रोत आमजनता हुन्, समूहहरूका टाउकाहरू होइनन्।’
ओलीले तत्काल एमालेको विपक्षमा माहोल बने पनि पार्टीका विरुद्धमा भएको घेराबन्दी कमजोर बन्दै जाने भविष्यवाणी गरेका छन्।
स्थानीय तहको चुनावमा पनि पार्टीविरुद्ध अरु दल एक जुट हुँदा प्राप्त गरेको सफलता महत्वपूर्ण रहेको बताउँदै ओलीले राजनीतिक रुपमा एमालेलाई अरुले पराजित गर्न नसक्ने दाबी गरेका छन्।
ओलीको राजनीतिक प्रतिवेदनको निष्कर्षमा लेखिएको छ, ‘ तत्कालका लागि देखिएको प्रतिकूल शक्ति सन्तुलन, हाम्रा विरूद्धको घेराबन्दी र बृहत् षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिए पनि कान्ति अभेद्य छैन।’
अध्यक्ष ओलीले जनताको बीचमा पार्टीलाई अझ दृढतापूर्वक स्थापित गर्न, भ्रमहरू चिर्ने, पार्टीको आन्तरिक एकतालाई थप सुदृढ गर्न, अरु पार्टीबाट कार्यकर्ता प्रवेश गराउन निर्देशन दिएका छन्।
उनले पार्टीपक्ति एउटै लयका साथ अगाडि बढे हामी सफलता हासिल हुने उल्लेख गर्दै भनेका छन्, ‘चुनौतीमाथि सहजै विजय हासिल गर्न सक्छौं यात्रामा अगाडि बढ्दै जाँदा राष्ट्रिय हितको रक्षा, लोकतन्त्रको सुदृढीकरण, जनताको खुशियाली र राष्ट्रको समृद्धि, सुशासन तथा राजनीतिक स्थायित्वका उद्देश्यमा सहमत सहयात्रीहरूसँग सहकार्य हुनसक्ने सम्भावनालाई खुल्लै राखेका छौ, तर हामीमा एक्लै पनि सफल हुन सक्छौं भन्ने आत्मविश्वास छ।’