कैलालीमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु

धनगढी – नेपाली कांग्रेस कैलालीले जिल्लामा ‘जनताको साथमा कांग्रेस’ अभियान शुभारम्भ गरेको छ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनलाई लक्षित गर्दै पार्टीले पहिलो चरणअन्तरगतको अभियान शुभारम्भ गरेको हो।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट शुरु गरिएको अभियानको नेपाली काँग्रेस नेता एनपी साउदले समुदघाटन गरेका हुन। शुक्रबारदेखि शुरु भएको पहिलो चरणको अभियान भदौ २४ अर्थात विपी जयन्तीका दिन समापन हुने पार्टीका जिल्ला सचिव नृप सुनारले जानकारी दिए।
अभियानको समुदघाटन गर्दै नेता साउदले पार्टीले अभियान थाल्नुका चारवटा उद्देश्य रहेको बताए। उनले सम्पूर्ण मतदातालाई लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै मतदान गर्न अपिल गरे। उनले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न आग्रह गर्दै ‘जनताको घर–घरमा जानुहोस। जनताको भावना सुन्नुहोस। सो भावनाअनुरुप रुपान्तरणका परियोजनाबारे छलफल गर्नुहोस र पार्टीले लिएका नीति, पार्टीको नेतृत्वमा भएको परिवर्तन, उपलब्धी, विकासका एजेण्डा जनतामाझ सुनाउनुहोस।’
उनले संविधानको रक्षा गर्न, देशलाई विकासको बाटोमा डोर्याउन लगायतका कारण निर्वाचनमा अन्य दलसंग तालमेल गर्नुपर्ने अवस्था आएको बताए। उनले आम जनतालाई अन्य दलसंग तालमेल गर्नुको बस्तुस्थिति, पार्टीपंक्तिका समस्याबारे जनतामाझ विचार व्यक्त गर्न आग्रह गरे। उनले मंसिर ४ गते हुने निर्वाचनमा काँग्रेस र गठबन्धनका दललाई विजयी गराउन पनि आग्रह गरे।
सो कार्यक्रममा काग्रेस नेता रामजनम चौधरी, कमल शाह, फकिरसिंह कठायत, बुद्धिसागर चौधरी, पार्टीका उपसभापति जनक चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कैलाली क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति प्रकाश शाहको अध्यक्षतामा भएको कार्यक्रमबारे परशु महतोले जानकारी दिएका थिए भने कार्यक्रमको सञ्चालन क्षेत्रिय सचिव धन्नजय रिमालले गरेको पार्टीका जिल्ला सचिव नृप सुनारले जानकारी दिए।