राष्ट्रपतिले सेनाका उच्चपदस्थलाई भेट्दैमा गम्भीर संकट आउने स्थिति म देख्दिनँ: प्रचण्ड

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाका उच्चपदस्थलाई भेट्नु स्वभाविक नदेखिएको बताएका छन्।

विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष दाहालले सेनासँगको छलफल र भेटघाट स्वभाविक नदेखिएको भएपनि भोलीका दिनमा यसले खासै गम्भीर स्थिति नल्याउने बताए।

राष्ट्रपतिले सेनाका पूर्वउच्च पदस्थलाई भेट गरेको सम्बन्धमा उनले भने,‘अब यी केही कुराहरु स्वाभाविक पक्कै पनि देखिएनका छैनन्। तर त्यसले गम्भीर संकट ल्याउने स्थिती चाहिँ म देख्दिनँ। नागरिक विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा पारित हुन्छ। राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ।’ अध्यक्ष दाहालले आउँदो निर्वाचनमा दलीय गठबन्धन लचिलो जिम्मेवार र उदार भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने,‘१६५ निर्वाचन क्षेत्रमा मिलाएर गठबन्धनले काम गर्नेछ। यसका लागि कार्यदलले समेत काम गरिरहेको छ। जित्ने संभावना भएको स्थानमा काम हुँदैछ।’

निर्वाचनको लागि सिटका विषयमा उनले भने,‘१५ गतेभित्र सबै कुरा टुंग्याउने छौँ। अहिले नै हार्ड एण्ड फास्ट हुनुहुँदैन। कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्ने परिस्थिति आउनु भएन।’ माओवादीले ६० सिट मागेको प्रश्नमा अध्यक्ष दाहालले भने,‘ बाहिर चर्चा भएजस्तो गठबन्धनमा जटिल छैन। हामी सबै मिलाएर सहमतिमा अघि बढ्छौँ। १५ गतेभित्र सबै कुरा टुंग्याउनेछौँ।’

भदौ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्