ट्रम्पको घरमा छापा सम्बन्धी अख्तियारनामा न्यायमन्त्रालयले सार्वजनिक गर्नुपर्ने

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा संघीय अनुसन्धान ब्यूरो (एफबिआई)ले गरेको छापा सम्बन्धी एफडेविड(अख्तियारनामा) न्याय मन्त्रालयले सार्वजनिक गर्नुपर्ने भएको छ।
संघीय अदालतका न्यायाधीशले स्थानीय समय अनुसार शुक्रबार अपराहन्नसम्म मार-लागोस्थित ट्रम्पको घरमा भएको छापा सम्बन्धी ‘सर्च वारेन्ट’ अख्तियारनामाको संशोधित सार्वजनिक गर्न निर्देशन दिएको हो।
अख्तियारनामामा अनुसन्धानकर्ताहरुले अपराध भएको हुनसक्ने सम्भावित कारणहरु स्पष्ट पारिएको हुन्छ। न्याय मन्त्रालयले जारी गरेको वारेन्टका आधारमा एफबिआईले मार-ए-लागोस्थित घरमा छापा मारेर केही गोप्य कागजातहरु बरामद गरेको थियो।
न्याय मन्त्रालयले बिहीबार मजिस्ट्रेट न्यायाधीश ब्रुस रिइनहार्ट समक्ष आफ्नो प्रस्तावित संशोधित अख्तियारनामा पेश गरेको थियो।
ट्रम्पले आफ्नो कार्यकाल समाप्त भएसँगै राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बाहिरिने क्रममा गोप्य जानकारीसहितका कागजात लिएर गएका थिए। ती कागजात फिर्ता गर्नका लागि गरिएका प्रयास असफल भएपछि न्यायमन्त्रालयको आदेशमा एफबिआईले छापा मारेको थियो।
अमेरिकी कानुन अनुसार राष्ट्रपतिले आफ्नो कार्याकाल समाप्त भएसँगै सम्पूर्ण कागजात अभिलेख विभागलाई बुझाउनु पर्छ। तर ट्रम्पले त्यसो गरेका थिएनन्।