बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर

धनगढी – बाजुरा जिल्लामा पहिलो पटक प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टरले सेवा दिन सुरु गरेका छन्।

जिल्ला अस्पताल बाजुरामा बिहीबारदेखि वरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर सुनिल कुमार शाहले सेवा दिन सुरु गरेका जिल्ला अस्पताल बाजुराका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मिलन जोशीले बताए।

स्त्री रोग विशेषज्ञ नहुँदा महिला तथा त्यसमा पनि गर्भवती महिलालाई उपचारमा समस्या भइरहेको बाजुरामा अब स्त्रीरोग विशेषज्ञ डाक्टरले सेवा दिन सुरु गरेपछि उपचारमा सहज हुने भएको छ।

स्वास्थ्य सेवाका हिसाबले पछि रहेको बाजुरा जिल्लामा विशेषज्ञ डाक्टर नहुँदा उपचारमा निकै समस्या हुने गरेको छ। जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आउने महिलाहरुलाई स्त्रीरोग विशेषज्ञ नहुँदा धेरै रोग लुकाउनु पर्ने अवस्था थियो।

जिल्ला अस्पताल बाजुरामा मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी पाएलगत्तै स्त्री रोग विशेषज्ञका लागि पहल सुरु गरेका डाक्टर मिलन जोशीले अब विशेषज्ञ डाक्टरले सेवा दिन सुरु गरेपछि उपचारमा सहज हुने बताए।

उनले भने, ‘बिहीबारबाट स्त्रीरोग विशेषज्ञ डाक्टरले सेवा दिन सुरु गर्नुभएको छ, अब महिलाका धेरै समस्या समाधानका लागि जिल्लाका धेरै ठाउँमा स्वास्थ्य शिविरसमेत संचालन गर्नेछौँ।’

अन्य सेवा तथा उपचार नियमित भइरहेको भए पनि स्त्रीरोग विशेषज्ञ नहुँदा गर्भवती महिलाको उपचारमा समस्या हुने गरेको डाक्टर मिलनको भनाइ छ।

‘दुर्गम जिल्ला भएकाले धेरै डाक्टरहरु बाजुरा आउन मान्दैनन्,’ डाक्टर मिलनले भने, ‘कोही आइहाले पनि बस्न मान्दैनन्, अहिले बल्ल एक जना स्त्रीरोग विशेषज्ञ डाक्टर बाजुरा ल्याउन सफल भएका छौँ।’

भदौ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्