स्वास्थ्य संस्थाको कार्यसम्पादन मूल्यांकनमा ठेहे स्वास्थ्य चौकी उत्कृष्ट

सिमकोट – सिमकोट गाउँपालिकाभित्रका बाह्र वटा स्वास्थ्य चौकीमध्ये वडा नम्बर २ को ठेहे स्वास्थ्य चौकी ०७८/७९ मा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट ठहरिएको छ। कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा बढी अंक ल्याएर हेठे स्वास्थ्य चौकी उत्कृष्ट ठहरिएको हो।

स्वास्थ्य शाखाका संयोजक नर भण्डारीले गाउँपालिकाका आठ वटै वडामा स्थापना भई सेवा प्रभाव गर्दै आएको १२ वटा स्वास्थ्य संस्थामध्ये ठेहे स्वास्थ्य चौकी पहिलो भएको जानकारी दिए।

विभिन्न सात वटा महत्वपूर्ण सूचक पार गर्दै २३४ अंक ल्याएर उक्त स्वास्थ्य चौकी पहिलो भएको हो। त्यसैगरी, २२७ अंक ल्याएर वडा नम्बर ७ को डाँडाफया स्वास्थ्य चौकी द्वितीय र २०९ अंक ल्याएर स्याडा स्वास्थ्य चौकी तृतीय भएका छन्।

स्वास्थ्य संस्थाको कार्यसम्पादन मूल्यांकन गर्ने सूचकमा सेवा प्रवाह, सूचना आदान प्रदान, कार्यालय व्यवस्थापन, प्रविधिको ज्ञानलगायत छन्।

यी सूचकलाई स्कोरिङ गर्दा गत आर्थिक वर्षमा ठेहे पहिलो भएको हो। उत्कृष्ट ठहरिएका ठेहे स्वास्थ्य चौकीमा इञ्चार्ज दानबहादुुर बोहरालाई नगद पाँच हजार, कदर पत्रसहित सम्मान गरिएको थियो। यसका लागि शाखाको आयोजनामा दुुई दिनसम्म वार्षिक प्रगति समीक्षासमेत गरिएको थियो।

सिमकोट गाउँपालिका चार वटा स्वास्थ्य चौकी, पाँच वटा सामुदायिक स्वास्थ्य सेवा र तीन वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र छन्।

यी स्वास्थ्य संस्थामा दुुईदेखि ६ जनासम्म स्वास्थ्यकर्मी परिचालन हुँदै आउनुुभएको छ। यसरी स्वास्थ्य संस्थाहरुको कार्यसम्पादन गर्ने कार्य शाखाले गत वर्षबाट सुरु गर्दै आएको छ। गत वर्ष डाँडाफया स्वास्थ्य चौकी उत्कृष्ट भएको थियो।

 

भदौ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्