सुदूरपश्चिमका तीन समाजवादी नेता एमालेमा फर्कँदै

धनगढी- पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा गएका सुदूरपश्चिमका ३ नेता एमालेमै फर्कने तयारीमा रहेका छन्।

सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङ, पूर्वसुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही र कञ्चनपुरको बेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्दले एमाले फर्कने तयारी गरेको बुझिएको छ।

सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका तारा लामा तामाङले एमालेमा फर्किने तयारी थालेको बताए।

उनले भने, ‘अब एमालेमै फर्कने हो, माओवादीमा विलय गराउने पार्टीमा एमालेबाट विद्रोह गरेर गएको भनिएका सबै साथीहरू एमालेमै फर्किनु हुन्छ, हामी पनि त्यही निर्णयमा पुगेका छौँ।’

एकीकृत समाजवादीका पूर्वप्रदेश अध्यक्ष विक्रम शाहीले पुनर्गठनको नाममा माधवलाई साथ दिएर आत्मग्लानी भएको सामाजिक सञ्जालमार्फत जनाएका छन्।

उनले बिहीबार फेसबुकमा लेखेका छन्, ‘२०५४ सालमा बामदेवले फुटबाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरू हौसिँदै उनका पछि लागे। गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो, त्यसको पछि लाग्नेमा म पनि थिएँ। पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीहरूलाई नै फाइदा पुर्‍यायाे। त्यसबापत पछुतो र आत्मग्लानी भएको छ। विगत ५-६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्थामा थिए भने आजका मितिदेखि म कुनै दलसँग आवद्ध नरहेको घोषणा गर्दछु।’

यसैगरी, कञ्चनपुरको बेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित पूर्वमेयर अशोक चन्दले पनि एमालेमै फर्कने तयारी गरिरहेको स्राेतले बताएको छ।

चन्दलाई गत वैशाख महिनामा मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका थिए।

भदौ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्