मोटरसाइकल आयातमा प्रतिबन्ध जारी रहेपछि वीरगञ्ज नाका भएर विद्युतीय मोटरसाइकलको आयात २ सय ८५ प्रशितले बढ्याे

वीरगञ्ज- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात् साउन महिनामा देशको मुख्य नाका वीरगञ्ज भन्सार नाका भएर विद्युतीय मोटरसाइकलको आयातमा उल्लेखनीय वृद्धि भएको छ।
भन्सार कार्यालयले जारी गरेको तथ्यांकअनुसार साउन महिनामा यो नाका भएर आयात हुने विद्युतीय मोटरसाइकलको आयात २ सय ८५ प्रतिशतले बढेको हाे।
यो महिनामा वीरगञ्ज नाका भएर कुल दुई करोड ८४ लाख ५९ हजार बराबरको २ सय ८१ वटा विद्युतीय मोटरसाइकल आयात भएको हाे। यो गत आव २०७८/७९ को साउन महिनाको भन्दा २ सय ८५ प्रतिशतले बढी हो।
सो महिनामा यो नाका भएर ५६ लाख ६३ हजार बराबरको ७३ वटा मात्रै विद्युतीय मोटरसाइकल आयात भएको थियो।
सरकारले आगामी भदौ १४ गतेसम्मको लागि १५० सिसीभन्दा बढी क्षमता भएको मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउनुका कारणले पनि बितेको महिनामा विद्युतीय मोटरसाइकलको आयात बढेको जनाइएको छ।
देशमा विदेशी मुद्रा घट्दै गएपछि सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा गएको वैशाख १३ गतेदेखि २५० सिसीभन्दा माथिका मोटरसाइकल आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गर्दै आगामी भदौ १४ गतेसम्म १५० सिसीभन्दा माथिका सबै मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाएको हाे।
प्रतिबन्धपछि मोटरसाइकल आयात ६७ प्रतिशतले घट्यो
सरकारले १५० सिसीभन्दा माथिका मोटरसाइकल आयातमा आगामी भदौ १४ गतेसम्म प्रतिबन्ध लगाएपछि वीरगञ्ज भन्सार नाका भएर साउन महिनामा मोटरसाइकलको आयातमा ६७ प्रतिशतले कमी आएको छ।
चालु आवकाे साउन महिनामा यस नाका भएर १७ करोड ६४ लाख १० हजार बराबरको जम्मा एक हजार ८४८ वटा मोटरसाइकल आयात गरिएको छ। जबकि प्रतिबन्ध नलागेको गत आवको साउन महिनामा वीरगञ्ज नाका भएर ४३ करोड १ लाख ४८ हजार बराबरको पाँच हजार ५५४ वटा मोटरसाइकल आयात भएको थियो।
वीरगञ्ज नाका भएर भारत तथा अन्य मुलुकहरूबाट मोटरसाइकल आयात हुँदै आएकोमा प्रतिबन्ध लागेपछि त्यसको असर वीरगञ्ज भन्सार कार्यालयको राजश्वमा पनि परेकाे छ। जसकारण ६० प्रतिशत कम राजश्व संकलन भएकाे छ।
चालु आवको साउन महिनामा मोटरसाइकलको आयातबाट भन्सारले २१ करोड ३९ लाख ५४ हजार राजश्व संकलन गरेको छ भने गत आवकाे यही महिनामा मोटरसाइकलको आयातबाट वीरगञ्ज भन्सारले ५२ करोड ९७ लाख ४६ हजार राजश्व संकलन गरेको थियो।
यस नाकाबाट मोटरसाइकल लगायतका सवारी साधनको आयातमा प्रतिबन्धपछि साउन महिनामा भन्सार कार्यालयले राजश्व लक्ष्य समेत भेट्टाउन सकेको छैन।
सवारी साधनको आयातमा कमी आएपछि भन्सार कार्यालयले भन्सार विभागबाट पाएको राजश्व लक्ष्य भेटाउन नसकेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए।
साउन महिनामा भन्सार कार्यालयले लक्ष्यको ८८.५ प्रतिशत मात्रै राजश्व संकलन गर्न सकेको छ।