युक्रेनको रेलवे स्टेसनमा रुसी आक्रमण, कम्तीमा २२ जनाको मृत्यु

युक्रेनको रेलवे स्टेसनमा रुसले प्रहार गरेको रकेटका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ।

युक्रेनका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेको खबर अनुसार रुसले आक्रमण सुरु गरेको छैटौँ महिना पुग्दाको दिन ठूलो संख्यामा ज्यान जाने गरी आक्रमण भएको हो।

युक्रेनको पूर्वी सहर चाप्लिनमा रहेको रेलवे स्टेसनमा रुसले रकेट आक्रमण गरेको हो। आक्रमणमा मृत्यु भएकामध्ये पाँचजना रेलभित्रै जलेको उल्लेख छ। ११ वर्षका बालक पनि मारिएका छन्।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद बैठक चलिरहेका बेला आक्रमणबारे जानकारी दिएका हुन्। उनका अनुसार करिब ५० जना सो आक्रमणमा घाइते भएका छन्।

हालसम्म रुसले रेलवे आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन। रुसले आफूहरूले सर्वसाधारणलाई निशाना नबनाएको दाबी गर्दै आएको छ।

गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेको थियो।

 

भदौ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्