धनगढीमा ‘विद्यालय आँखा स्वास्थ्य कार्यक्रम’ सञ्चालन हुँदै

धनगढी – कैलालीको धनगढीमा आँखा शिविर र विद्यालय आँखा स्वास्थ्य कार्यक्रम गरिने भएको छ।
धनगढी उपमहानगरपालिका र नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालबीच हरेक महिनामा एक पटक विद्यालयमा सो कार्यक्रम गर्ने सम्झौता भएको हो।
धनगढी उपमहानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्मा तथा गेटा आँखा अस्पतालबाट चिफ मेडिकल डाइरेक्टर डा. सुरेश राज पन्त र बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले सम्झौता पत्रमा बुधबार हस्ताक्षर गरेका थिए।
प्रत्येक महिनामा एक वर्षसम्मका लागि उपमहानगरपालिकाले निर्धारण गरेका १० स्थानमा कार्यक्रम सञ्चालन गर्ने सो सम्झौतामा उल्लेख छ।
विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत एक सय विद्यालयका विद्यार्थीहरु लाभान्वित हुने अनुमान गरिएको छ।
आँखा अस्पतालले आँखा शिविरका लागि आवश्यक प्राविधिक टोलीबाट सेवा उपलब्ध गराउनुपर्ने, औषधि, सामान, उपकरण, शल्यक्रिया, पोष्ट अपरेटिभ, फलोअप सेवा र शल्यक्रियापश्चात हुनसक्ने जटिलताको सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने सो सम्झौता पत्रमा उल्लेख छ।
उपमहानगरपालिकाले आवश्यक स्वयंसेविकाहरु परिचालन गर्ने, शिविर सञ्चालन स्थानमा आवश्यक भवन तथा फर्निचर उपलब्ध गराउने, व्यापक प्रचार गर्ने, शिविरमा लाग्ने खर्च व्यहोर्ने सर्तमा उल्लेख छ।
आँखा शिविरमा औषधि उपचारका लागि एक लाख, कर्मचारीहरुका लागि दैनिक भत्ता ९५ हजार, सवारीसाधन इन्धनमा दश हजार गरी २ लाख ५० हजार लागत अनुमान गरिएको छ।