कैलालीका सुकराम ७ वर्षदेखि साङ्लोमा, उपचार गराउन आर्थिक अभाव

धनगढी – कैलालीका एक युवक कमजोर आर्थिक अवस्थाका कारण उपचार नपाएर सात वर्षदेखि साङ्लोमा बाँधिएर गोठमा बस्दै आएका छन्।

धनगढी उपमहानगरपालिका–११, घोडसुवाका ३० वर्षीय सुकराम चौधरी सात वर्षदेखि साङ्लोमा बाँधिएर गोठमा बस्दै आएका हुन्।

हिलाम्मे र दुर्गन्धित गोठमा उनलाई हातमा फलामे साङ्लोले बाँधेर राख्ने गरिएको छ। प्रायः निर्वस्त्र अवस्थामा रहने उनी बाँधिएकै अवस्थामा खाना खान्छन्। बाँधिएकै अवस्थामा गोठमै दिसापिसाब गर्ने गर्छन्।

उनलाई परिवारले सात वर्षदेखि साङ्लोमा बाँधेर गोठमा राख्न थालेका हुन्। उनी मानसिक रोगी हुन्। उनकी आमा कुनकी चौधरीका अनुसार आफूहरु दैनिक ज्यालामजदूरीका लागि घरबाहिर जानुपर्ने भएकाले छोरा (सुकराम)लाई साङ्लोले बाँधेर राख्नुपर्ने बाध्यता छ।

उनले भनिन्, ‘मेरा दुई छोरा छन्। जेठो छोरो सुकरामलाई मानसिक रोग लागेको छ। आठ वर्षको उमेरमा घरनजिकको जामुनको रुखबाट खसेपछि मानसिक रोगी भएको हो। पैसा नहुँदा छोराको उपचार गर्न सकिनँ। छोराको रोग बढ्दै गयो। हामी दिनभरी ज्याला मजदूरी गर्न जान्छौँ, घरमा छोरालाई एक्लै छोड्दा गाउँभरी भौतारिन्छ। त्यही भएर हात बाँधेर गोठमा राखेर काममा जान्छु।’

कुनकीको परिवार दैनिक ज्यालामजदूरी र अरुको जग्गा अधियामा कमाएर गुजारा गर्दै आएको छ। उनका अनुसार सुकरामको उपचारका लागि अहिलेसम्म ६ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। उनले भनिन्, ‘छोराको उपचारका लागि लिएको ऋणको अहिले ब्याजसमेत तिर्न सकेको छैन।’

उनले राम्रो अस्पतालमा लैजान पाए छोरोको रोग सञ्चो हुन्थ्यो कि भन्ने आशा रहेको बताइन्।

एक दिन घरनजिकै जामुन टिप्न रुख चढेका सुकराम रुखबाट खसेका थिए। चोटपटक लागेका उनलाई गाउँको एक मेडिकलमा उपचारका लागि लगियो। मेडिकलवालाले सामान्य औषधि दिए। तर, उनको अवस्थामा सुधार भएन। सुकरामको व्यवहारमा परिवर्तन आउन थाल्यो।

शुरुमा उनलाई उपचारका लागि धनगढी र महेन्द्रनगर अस्पताल लगियो। तर, उनको रोगको पत्ता लागेन। भारतको बरेली लगेर त्यहाँको डाक्टरले मानसिक रोग भएको बताएपछि औषधि सेवनबाट छोराको अवस्थामा विस्तारै सुधार आएको उनकी आमाले बताइन्।

उनले भनिन्,’बरेलीको डाक्टरले हरेक १५ दिनमा उपचारका लागि ल्याउनु भनेको थियो तर पैसा नभएकोले लैजान सकेनौँ। सुकरामको अवस्था बिग्रिँदै गएपछि २०७२ सालदेखि गोठमा बाँधेर राख्ने गरेको उनले बताइन्।

भदौ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्