१२ प्रतिशतले आयात घटेपछि नेपालको व्यापार घाटा १० प्रतिशतले घट्यो

वीरगञ्जको र्सिसिया सुख्खा बन्दरगाह।

वीरगञ्ज- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले विदेशबाट गर्दै आएको वैदेशिक व्यापार घाटा घटेको छ। भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार चालु आवको साउन महिनामा नेपालको व्यापार घाटा १० दशमलव ३८ प्रतिशतले घटेको हो।

विभागको तथ्यांकअनुसार विदेशबाट नेपालमा आयात हुने वस्तुको आयात घट्दा व्यापार घाटा घटेको हो।

साउन महिनामा नेपाललाई एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार बराबरको व्यापार घाटा भएको छ। गत आव २०७८/७९ को साउन महिनामा भने नेपाललाई एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख २ हजार बराबरको वैदेशिक व्यापार घाटा भएको थियो।

चालु आवको यस महिनामा गत आवको सोही महिनाको अवधिमा नेपालमा विदेशबाट १२ दशमलव ९० प्रतिशत कमको वस्तु आयात भएको हो। यस महिनामा विदेशबाट नेपालमा एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजारको वस्तु आयात भएको छ।

गत आवकाे यसै महिनामा भने विदेशबाट नेपालमा एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको वस्तु आयात गरिएको भन्सार विभागको तथ्यांकमा
जनाइएको छ।

नेपालबाट विदेशमा निर्यात हुँदै आएको वस्तुहरूको निर्यातसमेत साउन महिनामा २८ दशमलव ६८ प्रशितले घटेको छ।

यो महिनामा नेपालबाट विदेशमा १४ अर्ब ८० करोड ९७ लाखको वस्तु निर्यात भएको छ। गत आवको यही महिनामा भने २० अर्ब ७६ करोड ५१ लाख १७ हजार बराबरको वस्तु निर्यात गरिएको थियो।

वीरगञ्ज भन्सार भएर व्यापार घाटा ७ प्रतिशतले बढ्यो

चालु आव २०७९/८० को पहिलो महिनामा वीरगञ्ज भन्सार नाका भएर नेपालले विदेशबाट गर्दै आएको वैदेशिक व्यापार घाटा भने बढेको छ। वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा यस नाका भएर हुने व्यापार घाटा सात प्रतिशतले बढेको छ।

कार्यालयको तथ्यांकअनुसार विदेशबाट नेपालमा आयात हुने वस्तुहरूको आयात कम प्रतिशतमा घट्नु र निर्यात बढी प्रतिशतमा बढेकाले व्यापार घाटा बढेको हो।

साउन महिनामा नेपाललाई वीरगञ्ज भन्सार नाका भएर ४३ अर्ब ४३ करोड ५६ लाख ३ हजार बराबरको वैदेशिक व्यापार घाटा भएको छ। गत आव २०७८/७९ को यही महिनामा यस नाका भएर नेपाललाई ४० अर्ब ६० करोड ३५ लाख ७९ हजार बराबरको व्यापार घाटा भएको थियो।

साउनमा वीरगञ्ज नाका भएर विदेशबाट ४७ अर्ब ८८ करोड ८५ लाख १३ हजारको वस्तु आयात भएको छ। गत आव २०७८/७९ मा भने यस नाका भएर ५० अर्ब २० करोड ५ लाख ४१ हजार बराबरको वस्तु विदेशबाट आयात भएको थियो।

यो गत आवकाे यसै महिना भएको आयातभन्दा पाँच प्रतिशतले कम हो। वीरगञ्ज नाका भएर विदेशमा हुने निर्यात पनि यो महिनामा ५४ प्रतिशतले घटेको छ। यस महिनामा नेपालबाट विदेशमा कुल चार अर्ब ४५ करोड २९ लाख १० हजार बराबरको वस्तु निर्यात भएकोमा गत आवको यही अवधिमा भने ९ अर्ब ५९ करोड ६९ लाख ६२ हजार बराबरको वस्तु निर्यात गरिएको थियो।

भदौ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्